भेरीमा डुबेर बहिनीको मृत्यु, दिदी बेपत्ता


२५ जेष्ठ २०७८, मंगलवार
Dubera bepatta
सांकेतिक तस्विर

रुकुम पश्चिम, २५ जेठ । भेरी नदीमा डुबेर पश्चिम रुकुमकी एक बालिकाको मंगलवार दिउँसो मृत्यु भएको छ । उनकी दिदी नदीमा बेपत्ता भएकी छन् । त्यस्तै एक जना घाइते भएका छन् । पश्चिम रुकुमको चौरजहारी नगरपालिका–१२ दुरनेटाका अम्मर डाँगीकी ११ वर्षकी छोरी गीताको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जाजरकोट प्रहरीका अनुसार गीताको दिदी दीपा नदीमा बेपत्ता भएकी छन् । सँगै गएका सोही ठाँउका १७ वर्षका रामबहादुर डाँगी घाइते भएका छन् । उनलाई नदीमा बग्दा बग्दै उद्धार गरिएको हो ।

जाजरकोट भेरी नगरपालिका १ रावतगाँउमा रहेका आफन्त भेट्न आएका उनीहरु गर्मी छल्न भन्दै नदीमा पौडी खेल्न थालेको र पौडी खेल्ने क्रममा रामबहादुरलाई नदीले बगाउन थालेपछि उद्धारका लागि गएका दिदी बहिनी समेत बगेका थिए ।

गीता र रामबहादुरलाई तत्काल स्थानीयले उद्धार गरेपनि उपचारको क्रममा गीताको जाजरकोट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । रामबहादुरको अवस्था भने सामान्य बन्दै गएको छ । बेपत्ता दीपाको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७