जनजीवन सहज बनाउन असारदेखि निषेधाज्ञालाई खुकुलो बनाउने तयारी


२५ जेष्ठ २०७८, मंगलवार
luckdawan kathamandu scaled

काठमाडौं, २५ जेठ । असारदेखि ७७ वटै जिल्लाको निषेधाज्ञाको समीक्षा गर्दै जनजीवन सहज बनाउने तयारी थालेको छ । देशभर संक्रमण न्यूनीकरणको समीक्षा भइरहेको र असारदेखि जनजीवन सहज बनाउने गरी तयारी थालेको गृह मन्त्रालयले जनाएको छ ।

महामारीको जानकारी र देशभरबाट रिपोर्ट लिने काम भइरहेको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिए । ‘यसअघि कडा निषेधाज्ञा जारी गरिएको थियो । जेठ ३१ गतेसम्म केही खुकुलो गरी निषेधाज्ञा जारी गरिएको छ । असारदेखिको जनजीवन सहज बनाउने गरी गृहकार्य थालेका छौं । देशभरको संक्रमणको रिपोर्ट आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिने छौं’, दाहालले भने ।

प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्ने हटाउने अधिकार सरकारले दिएको छ । त्यसकै आधारमा गृह मन्त्रालयले आवश्यक निर्देशनको काम अघि बढाएको छ । दोस्रो लहरको कोरोना महामारी रोकथाम र नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाको डेढ महिना भएको छ । यस अवधीमा कोरोना परीक्षणको दायरा पनि बढाइएको छ । जसका कारण पछिल्लो समय नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्यामा वृद्धि भइरहेको छ । मृत्युदर पनि कम हुँदै गएको छ ।

गृहका प्रवक्ता दाहालले संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा खुकुलो पारेर जारी नै राखिने जानकारी दिए । संक्रमणदर हेर्दै आवश्यकता अनुसार निषेधाज्ञा खुकुलो पार्दै लगिने उनको भनाइ छ ।

असारदेखिको निषेधाज्ञामा कार्यक्रम, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल खोल्न रोक लगाइने छ । साथै सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखाना पुस्तकालय, म्युजियम, चिडियाखाना खोलिने छैनन् । साथै खेलकुद पनि हुने छैन ।

प्रवक्ता दाहालका अनुसार कृषिको मौसम आएकाले कृषिलाई प्राथमिकतामा राखिनेछ । ‘‘स्वास्थ्य मापदण्डमा कडाइ गरी बर्खाको समयमा कृषि पेशालाई प्राथमिकतामा राखिने योजना छ । साथै विकास निर्माण र विकास निर्माणका सामग्री ओसारप्रसार गर्न सहजीकरण गरिनेछ’, दाहालले भने, ‘निषेधाज्ञाकै कारणले गर्दा कोरोना संक्रमण नियन्त्रण हुने अवस्थामा पुगेको छ । निषेधाज्ञा खुकुलो भयो भन्दैमा बेवास्ता गर्नुपर्ने स्थिति छैन । त्यसैले पनि निषेधाज्ञा खुलाइ हाल्नुपर्ने अवस्था आइसकेको छैन् ।’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जेठ अन्तिम साताको निषेधाज्ञाको संक्रमणदरको समीक्षा गरी निषेधाज्ञाको मोडालिटी तय गरिने बताए ।

‘पछिल्लो समय जारी गरिएको निषेधाज्ञामा केही खुकुलो मोडालिटी राखेका छौँ । यो समयमा सडकमा सवारी चाप र भिडभाड बढेको छ । यसलाई पनि मध्येनजर गर्दै संक्रमणदर हेरिरहेका छौँ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले अहिले नै निषेधाज्ञा बेवास्ता गर्दै हिँडडुल गरिहाल्नुपर्ने अवस्था आएको छैन्’, पराजुलीले भने, ‘कर तिर्ने समय पनि आएको छ । असारदेखिको निषेधाज्ञामा कसरी व्यवस्थित र प्रभावकारी बनाएर जनजीवन सहज बनाउने भन्नेबारे हामी गृहकार्यमा जुटेका छौँ । कम्तीमा पनि अझै एक महिना जति निषेधाज्ञालाई बेवास्ता नगर्न आग्रह छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७