‘बृहत् कम्युनिस्ट एकता’ को अवधारणासहित नेपालले थाले वैकल्पिक पार्टीको तयारी


२६ जेष्ठ २०७८, बुधबार
Madhav jhalanath1

काठमाडौं, २६ जेठ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको ६ बुँदे प्रस्ताव जालझेल, अन्योल र भ्रमका आधारमा अरूलाई अलमल्याउने र विभाजित गर्ने दुराशय प्रेरित रहेको निष्कर्षसहित वरिष्ठ नेता माधवकुमार नेपालले ‘बृहत् कम्युनिस्ट एकता’ को अवधारणासहित वैकल्पिक पार्टी निर्माणको अन्तिम तयारी अघि बढाएका छन् ।

जवाफी प्रस्तावमा नेता नेपालले पार्टी विधानअनुरूप पार्टीलाई एकताबद्ध बनाउने ओलीको सोच नै नरहेको देखिएकाले उनको वक्तव्यको भ्रममा नपरी सशक्त रूपमा पार्टीको समग्र एकता, संगठन निर्माण र सञ्चालनको मार्गमा अघि बढ्न देशभरका नेता–कार्यकर्तासँग आह्वान गरेका छन् ।

‘ओलीको वक्तव्यमा प्रयोग गरिएको भाषा र बुँदा केलाउँदा जालझेल, अन्योल र भ्रमका आधारमा अरूलाई अलमल्याउने र विभाजित गर्ने दुराशय देखिन्छ । अतः पार्टी विधानअनुरूप पार्टीलाई एकताबद्ध बनाउने उहाँको सोच नै नरहेको देखिएकाले ओलीको वक्तव्यको भ्रममा नपरी सशक्त रूपमा पार्टीको समग्र एकता, संगठन निर्माण र सञ्चालनको मार्गमा अघि बढ्न आह्वान गर्दछौँ,’ सोमबार राति नेपालले जारी गरेको विज्ञप्तिमा छ । खनाल–नेपाल समूहका एक प्रभावशाली नेताले पनि प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा सुनुवाइकै चरणमा रहेको रिट टुंगिने वेलासम्म वैकिल्पक ढोका खुला हुने बताए ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली पक्षसँगको वार्ताले सार्थक निष्कर्ष निकाल्ने सम्भावना कमजोर बनेको निष्कर्षसहित केन्द्रीय कमिटी र स्थायी कमिटीको पछिल्लो बैठकपछि वरिष्ठ नेता नेपाल एमालेसहित अन्य वाम पार्टी समेतको बृहत् कम्युनिस्ट पार्टी निर्माणको अवधारणासहित नयाँ पार्टी गठनको गृहकार्यमा अगाडि बढेका हुन् । नेता केही समययता लगातार कार्यकर्तालाई देशभर सबै तहमा कमिटी गठन अगाडि बढाउन निर्देशन दिँदै आएका छन् ।

नेपालले बिहीबार र शुक्रबार केन्द्रीय सदस्य तथा शनिबार स्थायी कमिटी सदस्यहरूको बैठक राखेर आगामी रणनीतिबारे सुझाब लिएका थिए । ती बैठकले वार्ता र पार्टी पुनर्गठन अभियान दुवैलाई समानान्तर रूपमा अघि बढाउने, तर समयसीमा तोकेर ओली पक्षसँगको वार्ताको दाउपेचमा लामो समय फस्न नहुने निष्कर्ष निकालेको थियो ।

वरिष्ठ नेता नेपालले अहिले ओलीसँग संघर्षको नीति चलिरहे पनि एकताको सम्भावना कमजोर देखिएकाले धेरै समय धैर्य गर्ने पक्षमा नरहेको प्रस्ट्याए । ‘अहिले हामी संघर्ष, रूपान्तरण र एकता वा संघर्षबाट रूपान्तरण नभए निषेधको नीतिसहित अघि बढ्ने मान्यतामा छौँ, संघर्ष चलिरहेकै बीचमा केपी ओली रूपान्तरित भएको अवस्थामा एकता हुने हो, तर उनी सच्चिएर रूपान्तरित होलान् भन्ने लागेको छैन,’ नेपालले नयाँ पत्रिकासँग भने, ‘तर, अब यसरी धेरै दिन चल्ने स्थिति छैन, अन्तिम बिन्दुतिरै पुग्न लागेको छ, उहाँ रूपान्तरित नभए संघर्षकै नीतिसहित अगाडि बढ्न बाध्य हुनेछौँ ।’

ओली रूपान्तरित नभएको अवस्थामा पार्टीलाई नवौँ महाधिवेशनको कार्यदिशाका आधारमा क्रान्तिकारी स्प्रिटका साथ पुनर्गठन गर्दै बृहत् कम्युनिस्ट आन्दोलनको एकताको पक्षमा आफ्नो समूह उभिने पनि उनले स्पष्ट पारेका छन् ।

‘हामीसहित वार्ता टोलीकै संयोजकमाथि कारबाही गरेर वार्ताको कुरा गरिँदै छ भने त्यस्तो भ्रममा पार्टीपंक्ति पर्न जरुरी छैन,’ नेपालले भने, ‘त्यसैले हामी पार्टी एकताको पक्षमा छौँ, यसको अर्थ पार्टी भन्ने बित्तिकै एमालेको मात्रै एकताको अर्थका रूपमा पनि बुझिएला, तर हामी कम्युनिस्ट पार्टीको एकताको पक्षमा छौँ, बृहत् कम्युनिस्ट आन्दोलनको एकताको पक्षमा छौँ ।’

सोमबार नेपालले जारी गरेको विज्ञप्तिमा आफूहरू सार्थक वार्ता, सिद्धान्तनिष्ठ एकता र मेलमिलापको पक्षमा रहेको र अन्तिम घडीसम्म सकारात्मक प्रयास जारी रहने उल्लेख गर्दै बाध्यात्मक स्थितिमा मात्र वैकल्पिक मार्गमा जाने स्पष्ट छ ।

‘अहिले पनि हामी नेपालको कम्युनिस्ट आन्दोलनलाई क्षतविक्षत पार्ने सबै प्रकारका षड्यन्त्रहरू पराजित हुनुपर्छ भन्ने दृढ मान्यता राख्दछौँ । यही मान्यता र विश्वासका साथ हामीले अनेकौँ घात–प्रतिघात सहँदै पार्टी एकताका लागि अन्तिमसम्म पार्टीमा नै रहेर आफ्नो प्रयास अघि बढाइरहेका छौँ । हामीले बाध्यात्मक स्थितिमा मात्र वैकल्पिक मार्ग अवलम्बन गर्ने दृष्टिकोण राखेका छौँ,’ नेपालको विज्ञप्तिमा छ ।

अहिलेलाई नेपाल–खनाल समूहले वैकल्पिक पार्टी निर्माण गर्ने कि नगर्ने अन्तिम निर्णयका लागि सर्वोच्च अदालतको फैसलासम्म कुर्ने रणनीति तय गरेको छ । फैसलाअघि पार्टी गठन गर्दा दल त्याग गरेको ठहरिने र सर्वोच्च अदालतमा रिट कायमै रहेका वेला आफ्ना सांसदहरूको पद जाने सम्भावना रहेकाले पनि कम्तीमा फैसलासम्म कुर्नु उपयुक्त हुने नेपाल स्वयंले केन्द्र, प्रदेश र जिल्ला तहको समूहको बैठकमा ब्रिफिङ गर्दै आएका छन् ।

संसद् पुनर्स्थापनाको फैसला भए ओली राजनीतिक एजेन्डाका हिसाबले पनि कमजोर भएर पार्टी एकता मिलाउनका लागि समर्पणकै तहमा ‘ब्याक’ हुन सक्ने र त्यसले एमालेभित्रको अन्तर्संघर्षमा ‘पोजिसन’ बलियो बन्न सक्ने नेपाल–खनाल पक्षको आकलन छ । यदि पुनस्र्थापनापछि पनि ओलीले पार्टी मिलाउन खोजेनन् भने राजनीतिक एजेन्डा बलियो बन्ने भएकाले नयाँ पार्टी बनाएर चुनावी मोर्चा बनाएर पनि सहज हुने उनीहरूको बुझाइ छ । त्यसअनुसार नै अहिले नेपालले वैकल्पिक पार्टी निर्माण गर्दा कांग्रेस र माओवादी केन्द्रसँग सम्मानजनक चुनावी तालमेल हुने गरी प्रारम्भिक छलफल समेत भएको छ ।

रणनीति त्यसरी अगाडि बढेकाले नेपाल–खनाल पक्षको केन्द्रीय कमिटीको पछिल्लो बैठकले ओलीले वार्तालाई चालबाजीका रूपमा मात्रै लिँदै आएको र पार्टीलाई विभाजनको सँघारमा पुर्‍याएकाले उनको फुटपरस्त र गलत प्रवृत्तिका विरुद्ध जुध्दै क्रान्तिकारी पार्टीपंक्तिको रक्षा र विकासका पक्षमा उभिन ओली पक्षका नेता–कार्यकर्तालाई पनि आह्वान गरेको छ ।

‘केन्द्रीय कमिटीबाट पारित दशबुँदे प्रस्तावमा छ, ‘चालबाजीपूर्ण वार्ताको भ्रममा नपर्न सम्बद्ध सबैसँग आग्रह गर्दछौँ । अतः ओलीका फुटपरस्त र गलत प्रवृत्तिका विरुद्ध जुझ्दै क्रान्तिकारी पार्टीपंक्तिको रक्षा र विकासका लागि केपी ओली पक्षमा रहनु भएका इमानदार नेता र कार्यकर्तालगायत नेकपा (एमाले) पंक्तिलाई हार्दिक आह्वान गर्दछौं ।’

ओलीको गतिविधिले पार्टीलाई एकताबद्ध बनाइराख्ने चाहनामा कुठाराघात भएको नेपाल–खनाल समूहको ठहर छ । ‘नेकपा षड्यन्त्रमूलक किसिमले विघटन भइसकेपछि पुनर्जीवित एमालेको एकता र प्रभावकारिता कुनै पनि किसिमले कमजोर नहोस् भनेर हामीले गत फागुन २३ गतेपछि निरन्तर प्रयास गर्‍यौँ । आजपर्यन्त हाम्रो प्रयास जारी छ,’ पारित प्रस्तावमा छ, ‘तर, ओलीले पार्टीलाई एकताबद्ध तुल्याउने हाम्रो सदाशयपूर्ण प्रयासलाई महत्वहीन भएझैँ व्यवहार गर्दै पार्टीलाई विभाजनको सँघारमा पु¥याएका छन् । पार्टी एकताका लागि अन्तिम समयसम्म हामीले गरेको प्रयासलाई अनेक बहानामा सार्थक हुन नदिई पार्टीलाई एकताबद्ध राख्ने हाम्रो चाहनामा कुठाराघात गरिएको छ ।’

नेपाल–खनाल समूहले अब ओलीसँग वार्ताबाट एकता जोगाउने सम्भावना क्षीण बन्दै गएको प्रस्टसँग औँल्याएको छ । परिणामविहीन, अर्थहीन जालझेलको वार्तामा अलमलिने समय नभएको भन्दै बाध्य भएर नयाँ पार्टी बनाउनुपर्ने अवस्था आउन लागेको संकेतसहित गाउँ, वडादेखि टोलसम्म संगठन निर्माणमा जुट्न निर्देशन समेत दिइएको छ ।

‘यस्तो स्थितिमा हामीले नेपालको संविधान, पार्टीको विधान र कम्युनिस्ट आन्दोलन एवं लोकतन्त्रको रक्षाका लागि बाध्य भएर वैकल्पिक बाटो अवलम्बन गर्नुपर्ने हुन्छ । यसका लागि देशव्यापी रूपमा संगठनात्मक स्थितिलाई गुणात्मक रूपमा सशक्त किसिमले वडा र टोलसम्म अगाडि बढाउनुपर्छ,’ पारित प्रस्तावमा छ, ‘केपी ओलीबाट निरन्तर फुट र गुटको अभ्यास भइरहेकाले कुनै ठोस परिणाम नआई पार्टी एकताका नाममा हुने प्रचार र भ्रममा नपरी आ–आफ्नो ठाउँमा सशक्त र एकताबद्ध रूपमा संगठन निर्माणको काममा सक्रिय रहन, उत्साहित भएर सबैको मनोबल उच्च बनाउन सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरूमा हार्दिक आह्वान गर्दछौँ ।’

प्रधानमन्त्री ओलीले विदेशीसामु लम्पसार पर्दै दुई पटकसम्म असंवैधानिक रूपले प्रतिनिधिसभा विघटन गरेका कारण वामपन्थी र लोकतन्त्रवादी शक्तिसँग सहकार्य गर्नुपर्ने अवस्था आएकाले सर्वोच्च अदालतमा दायर रिटबाट हस्ताक्षर फिर्ता नलिइने पनि नेपाल–खनाल समूहले प्रस्ट्याएको छ ।

‘ओलीबाट दक्षिणपन्थी विसर्जनवादी चिन्तन र व्यवहारका साथ बाह्य शक्तिका सामु लम्पसार पर्दै संविधान, लोकतन्त्र र संसद्माथि आक्रमण गरिएकोे, यस सिलसिलामा दुई–दुईपटक असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरिएको, अध्यादेशमार्फत शासन चलाउन खोजिएको र राष्ट्रिय हितमाथि घात गरिएकाले संविधान, लोकतन्त्र, संसद्, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षाका लागि अन्य वामपन्थी र लोकतन्त्र पक्षधर दलहरूसँग सहकार्यका साथ अघि बढ्नुपर्ने स्थिति सिर्जना भएको छ,’ प्रस्तावमा छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७