भित्रिंदै मनसुन, कहाँ–कहाँ छ आज पानी पर्ने सम्भावना ?

क्षतिबाट बच्ने तयारी गर्न आग्रह


२६ जेष्ठ २०७८, बुधबार
kathamandu

काठमाडौं, २६ जेठ । वर्षा याम शुरु गराउने मौसम प्रणाली नेपालमा भित्रिने क्रममा रहेको मौसमविद्ले बताएका छन् ।
नेपालको पूर्वी क्षेत्रको आकाशमा मनसुनी बादल प्रवेश गरिसकेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिएका छन् । मनसुन जहिले नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गर्ने उनले बताए ।

उनका अनुसार मनसुन भित्रिनै लागेकाले अहिले देशका धेरै स्थानमा बादल लागेको छ । काठमाडौं उपत्यकामा पनि चिसो महसुस भएको छ ।
अब एक–दुई दिनभित्रमै मनसुन नेपाल प्रवेश गर्ने सम्भावना देखिएको मौसमविद् पौडेलले जानकारी दिए । उनका अनुसार मनसुन बंगालको खाडीमा आइपुगेको छ । दक्षिण हिन्द महासागरअन्तर्गत पूर्वी अफ्रिकाको म्यातागासकार टापु नजिक समुद्रमा बन्ने उच्च चापीय क्षेत्रबाट मनसुन विकास भएर बंगालको खाडी हुँदै नेपाल प्रवेश गर्छ ।

क्षतिबाट बच्ने तयारी गर्न आग्रह
यसपल्ट अधिक वर्षा हुने भनेर आफूहरूले २ महिनाअघि नै सूचना सार्वजनिक गरिसकेको बताउँदै मौसमविद् पौडेलले बाढी आउने, पहिरो जाने तथा डुबान हुने क्षेत्रमा सम्बन्धित निकाय तथा नागरिकले क्षतिबाट बच्ने तयारी गर्न आवश्यक भएको बताए ।
‘अझै पनि तयारी गर्ने समय छ, सुरक्षित स्थानमा सर्नुपर्ने हो कि,’ उनले भने, ‘यस्ता विषयमा पहिले ध्यान दिन सक्यौं भने क्षतिबाट बच्न सकिन्छ ।’
आज कहाँ–कहाँ छ पानी पर्ने सम्भावना
अहिले (बुधबार बिहान) केही स्थानमा वर्षा भइरहेको छ । पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभावले वर्षा भएको मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

उनका अनुसार अहिले तराईका केही स्थानमा विशेषगरी प्रदेश–२, अनि चितवनयता, धादिङका केही निश्चित स्थान साथै पोखरातिर पनि हल्का वर्षा भइरहेको छ । तर अहिले कम हुँदै गएको छ । यस्तै आज दिउँसो प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्टयाङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

यस्तै राति प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्टयाङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बुधबार ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । मौसमविद् पौडेलका अनुसार आज साँझपख काठमाडौं उपत्यकामा पनि वर्षा हुने सम्भावना छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७