मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाउने निश्चित जस्तै, प्रदेशसभाका पाँचमध्ये चार दल विपक्षमा

मुख्यमन्त्रीले भने, ‘काठमाडौंको ‘भाकल’ पुरा गर्न प्रदेशको बली चढाइयो’


२७ जेष्ठ २०७८, बिहीबार
prithivi

पोखरा, २७ जेठ । गण्डकी प्रदेशका मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङले आज (बिहीबार) को प्रदेश सभामा विश्वासको मत नपाउने निश्चित भएको छ । गण्डकी प्रदेशसभामा रहेका पाँच दलमध्ये चार दल मुख्यमन्त्रीको विपक्षमा उभिएका छन् । गण्डकी प्रदेश सभामा विश्वासको मत प्रस्ताव उपर छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीले विपक्षमा मतदान गर्ने बताएका छन् ।

विश्वासको मत पाउन ३१ सांसदको मत आवश्यक हुन्छ । ६० सदस्यीय प्रदेशसभामा एमालेका २७ सांसद् छन् । गुरुङको पक्षमा २७ सांसद् भएको एमाले मात्र उभिएको छ । गुरुङ नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका राजीव गुरुङ (दीपक मनाङ्गै हिजो साँझदेखि नै सम्पर्कविहीन छन् । उनको मोवाइल पनि अफ छ । उनी प्रदेशसभामा पनि उपस्थित छैनन् ।

नयाँ सरकार बनाउन नेपाली कांग्रेसलाई कुनै पनि हालतमा समर्थन गर्न सकिँदैन भनेका जनमोर्चाका कृष्ण थापाले तटस्थ बस्ने घोषणा गरिसकेका छन् ।

यस्तो अवस्थामा गुरुङको विपक्षमा नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, जसपाका २ र राजमोका २ गरी ३० जना देखिएका छन् । यही गणित कायम रहेमा गुरुङले विश्वासको मत नपाउने निश्चित छ । राष्ट्रिय सभागृहमा रहेको संसद् भवनमा केहीबेरमा मतदान प्रक्रिया शुरु हुँदैछ ।

मुख्यमन्त्रीले भने, ‘काठमाडौंको ‘भाकल’ पुरा गर्न प्रदेशको बली चढाइयो’
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा पनि केन्द्रको राजनीतिक धङधङी रहेको बताएका छन् । प्रदेश सभामा जवाफ दिँदै उनले पार्टीहरु बलियो हुन थालेपछि सक्रिय हुने एउटा अदृष्य शक्ति रहेको बताएका छन् ।

‘विपी कोइराला नेतृत्वको सरकार पनि कमजोर बनाइयो । २०४६ सालमा पनि किसुनजी, गणेशमान र गिरिजा बाबुबीच कन्स्पीरेसी शुरु गराइयो । २०४७ मा पनि त्यही भयो । नेकपाभित्र पनि विवाद शुरु गराइयो’, उनले भने । मुख्यमन्त्रीलाई प्रश्न गर्दा प्रधानमन्त्रीलाई सोधे जस्तो गर्नु केन्द्रको धङधङी भएको उनको भनाई छ ।

देशमा सबै आशा लाग्दा पार्टीमा विग्रह रहेको भन्दै उनले एमाले भित्र पहिलो तहका नेताहरु नै एकताको विपक्षमा देखिएको बताएका छन् ।
पार्टीहरु किन कमजोर बने, संघीयतालाई बजवुत बनाउन के गर्ने भन्नेबारे नेताहरुबीच छलफल नभएको भन्दै उनले चिन्ता गरे । पार्टीलाई खुइलाउँदा खुइलाउँदा जनताले विश्वास गर्न नसक्ने अवस्था रहेको उनले बताए । ‘गुटले गरेको कुरा भगवानले दिएको आशिर्वाद मान्छौं । आलोचना गर्दैनौं, उनले भने, ‘पार्टीको अनुशासन भन्दा गुटको अनुशासन मान्छौं । राजनीतिलाई समीक्षा गर्नुपर्ने बेला आएको छ ।’

प्रतिनिधिसभाको विग्रहलाई प्रदेशमा ल्याएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । उनले प्रदेशलाई सिर्जनात्मक बनाउन आग्रह गरे । उनले प्रदेश सभा मौनाचरीको बजान जस्तो हुन लागेको भन्दै चिन्ता व्यक्त गरे । काठमाडौंमा गरेको भाकल पुरा गर्न प्रदेशलाई बली बनाइने गरेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७