गण्डकी प्रदेश सभा : राजमोका कृष्ण थापा ‘तटस्थ’, दीपक मनाङे बैठकमै अनुपस्थित


२७ जेष्ठ २०७८, बिहीबार
pk

पोखरा, २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ प्रदेशसभाबाट विश्वासको मत पाउन असफल भएका छन् । प्रदेशसभाको आजको बैठकमा विश्वासको मत लिने क्रममा उनले जम्मा २७ मात्र मत पाएका छन् । यो उनको पार्टी नेकपा एमालेका मात्रै सांसदको संख्या हो ।

खनाल, नेपाल पक्षका भनिएका इन्द्रलाल सापकोटाले पनि विश्वासको पक्षमा मतदान गरे । युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) भने प्रदेशसभा बैठकमै उपस्थित नभएकाले मतदान प्रक्रियामा पनि सहभागिता जनाएनन् ।

यसअघि मुख्यमन्त्री गुरुङलाई मतदान गर्ने बताउँदै आएका राष्ट्रिय जनमोर्चाका कृष्ण थापा भने तटस्थ बसे । विश्वासको मतको प्रस्तावको विपक्षमा ३० मत पर्‍यो । कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २ र जनता समाजवादीका २ सांसदले मत दिए । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ मतको आवस्यक पर्छ ।

प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा गत बैशाख २९ मा गुरुङ दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेशसभाको विश्वास पाउ भन्दै प्रस्ताव पेश गरेका भए पनि पाउन भने सकेनन् ।

आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत लिन प्रस्ताव गरेका थिए । थापा मतदान भइरहेका बेला कुर्सीबाट उठेका थिएनन् । थापालाई जनमोर्चाले जिम्मेवारीबाट निष्काशन गरे पनि सर्वोच्च अदालतले थमौती गरेको थियो ।
जनमोर्चाका केन्द्रीय सदस्य समेत रहेका थापालाई पार्टीले केन्द्रीय समिति सदस्यलगायत सबै जिम्मेवारीबाट निष्काशन गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७