ओली मन्त्रिपरिषद विस्तार गर्दैगर्दा देउवा निवासमा विपक्षी गठबन्धनको यस्तो बैठक


२७ जेष्ठ २०७८, बिहीबार

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आठ नयाँ मन्त्री थप्दै गर्दा विपक्षी दलका शीर्ष नेताहरु भने भावी रणनीति निर्माणमा जुटेका छन् । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र आगामी रणनीतिका विषयमा छलफल गर्न विपक्षी गठबन्धनका नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा छलफलमा जुटेका छन् ।

देउवा निवासमा विपक्षी गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता छलफलमा जुटेका हुन् ।

पछिल्लो राजनीतिक अबस्थाबारे छलफल भइरहेको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । गण्डकी प्रदेशमा सरकारले विश्वासको मत नपाएको तथा सर्वोच्च अदालतले सरकारले जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न आदेश दिएकै दिन विपक्षी गठबन्धनका नेताहरू छलफलमा जुटेका हुन् ।

समसामयिक राजनीतिक परिस्थिति र गठबन्धनको आगामी कदमबारे छलफल हुने बताइएको छ । विपक्षी गठबन्धनको रणनीतिअनुसार प्रदेश–२ मा पनि सत्ता समीकरण हेरफेर भएको छ । असार ९ गतेदेखि देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदनलाई प्राथमिकतामा राखेर फास्ट ट्रयाकमा सुनुवाइ हुने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७