आइसोलेसनमा बसेका संक्रमितमा मानसिक समस्या


२८ जेष्ठ २०७८, शुक्रबार
korona 4

काठमाडौं, २८ जेठ । ‘अहिले कोरोना सङ्क्रमणबाट पूरै ठीक भए तर मानसिक तनावबाट मुक्त हुन सकेको छैन । राति निद्रा लाग्दैन । नकारात्मक सोचाइ बढी आउँछ । कसैसँग बोल्न मन लाग्दैन । रुन मन लाग्छ । एक्लै बस्दा कसैले मार्न आएको जस्तो लाग्छ’, कोरोना सङ्क्रमणबाट भर्खरै मुक्त भएकी भक्तपुरकी ५५ वर्षीया एक महिलाको यो भनाइ हो ।

सङ्क्रमित भएर एकान्तबासमा रहँदा नकारात्मक सोच आउने गरेको, मृत्युका समाचारले मनमा डर पैदा गर्ने गरेको र तनाव उत्पन्न हुने गरेको अनुभव उनको छ ।

सङ्क्रमणबाट मुक्त भएका धेरैको अनुभव पनि दुरुस्त छ । कोरोना सङ्क्रमणले शारीरिकसँगै मानसिक स्वास्थ्यलाई समेत असर गर्ने विज्ञहरू बताउँछन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ डा. रवि शाक्यले भने, ‘कोरोना सङ्क्रमित भई संस्थागत तथा होम आइसोलेसनमा रहेका अधिकांश व्यक्तिमा यो समस्या देखिने गरेको छ ।’

उनले एकान्तबासमा रहँदा शारीरिक स्वास्थ्यको ख्याल गरे पनि मानसिक स्वास्थ्यका बारेमा ध्यान नदिँदा यस्तो समस्या आउने गरेको बताउँदै कोरोना सङ्क्रमण मानिसको डरसँग जोडिएको रोग बन्न पुगेको र सङ्क्रमित वा अस्पताल भर्ना हुँदैमा केही हुन्छ कि भन्ने डरले मानसिक समस्या निम्त्याइरहेको बताए ।

उनले एकान्तबास बसेका र सघन कक्षमा उपचारपछि निको भएका व्यक्तिमा मानसिक समस्या देखिएको जानकारी दिए। यसलाई चिकित्सकीय भाषामा पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) भनिने गरिन्छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७