काठमाडौं उपत्यकामा जेठ ३१ पछि पनि निषेधाज्ञा थप्ने तयारी


२८ जेष्ठ २०७८, शुक्रबार
kathamandu 1 scaled

काठमाडौं, २८ जेठ । काठमाडौं उपत्यकामा जेठ ३१ पछि पनि एक साता निषेधाज्ञा थप्ने तयारी भएको छ । उपत्यकामा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच एक साता निषेधाज्ञा थप गरिने गृहकार्य भएको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच निषेधाज्ञा थप गर्नेबारे गृहकार्य भइरहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । ‘उपत्यकाको अहिलेको परिस्थितिलाई हेर्ने हो भने निषेधाज्ञा थप गर्नुपर्ने देखिन्छ । अझै पनि कोरोना संक्रमणदर घट्नुपर्ने जति घटेको छैन । संक्रमणको उच्च जोखिम कायमै रहेको छ’, प्रजिअ पराजुलीले भने ।

उनका अनुसार निषेधाज्ञा केही खुकुलो पार्ने तयारी छ । ‘विकास निर्माणका कामलाई निरन्तरताका साथ प्राथमिकता दिइनेछ । बिहान ९ बजेसम्म खाद्यान्न पसल र तरकारी पसल खुल्दै आएका छन् । अब यसलाई केही फेरबदल गरी १० बजेसम्म खुलाउन दिइनेछ । यस विषयमा हामी निरन्तर गृहकार्यमा छौं’, उनले भने, ‘संक्रमणदरमा सुधार आए पनि मृत्युदरमा सुधार नआएको सरोकारवालाहरुको भनाइ छ । यसकै आधारमा निषेधाज्ञाको मोडालिटी फेरबलद गरिन्छ ।’

असारपछिको निषेधाज्ञामा मोडालिटी परिवर्तन गरी सवारी–साधनमा जोर–बिजोर लागु गरिने बताइँदै आएको छ । ‘स्वास्थ्य मापदण्ड पालना नहुनुले संक्रमणदर नघटेको सरोकारवालाहरुको निष्कर्ष रहेको छ । निषेधाज्ञा लम्ब्याउने कि हटाउने भन्नेबारे सरकारले स्थानीय प्रशासनलाई अधिकार दिएको छ । त्यसैले निषेधाज्ञा थप गर्ने तयारी थालेका छौं’, प्रजिअ पराजुलीले भने । पछिल्लो पटक काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको थियो । त्यो जेठ ३१ गते राति १२ बजेसम्म कायम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७