दुर्गा प्रसाईंको बीएण्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिने सैद्धान्तिक सहमति


२८ जेष्ठ २०७८, शुक्रबार
bnc hospital jhapa 1620545345

काठमाडौं, २८ जेठ । चिकित्सा शिक्षा आयोगले झापा विर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च रेन्टरलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति दिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको आयोगको बैठकले दुर्गा प्रसाईंको बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन सैद्धान्तिक सहमति दिएको हो ।

शिक्षा ऐनको दफा १३ को उपदफा ६ अनुसार प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन लागिएको बैठकमा सहभागी आयोगका एक पदाधिकारीले जानकारी दिएका छन् । उनका अनुसार शिक्षा ऐनले बीएण्डसीलाई सम्बन्धन दिन रोक्दैन ।

‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३ (६) मा ऐन जारी हुनुअघि मनसाय पत्र लिई मापदण्ड पूरा गरेका काठमाडौं उपत्यका बाहिरका शिक्षण संस्थाका हकमा आयोगले निर्णय गरेबमोजिम हुने व्यवस्था छ,’ ती पदाधिकारीले भने, ‘बीएण्डसीलाई सम्बन्धन दिन ऐनले रोकेको छैन ।’

तर, प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन लागिएको भन्दै डा. गोविन्द केसीलगायत चिकित्सकहरूले विरोध जनाउँदै आएका छन् । उनीहरूले आयोगले राजनीतिक प्रभावमा परेर प्रसाईंको अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन लागेको आरोप लगाउँदै आएका छन् । बीएण्डसीलाई मेडिकल कलेजको सम्बन्ध दिन लागिएको विरोधमा सोलिडारिटी फर गोविन्द केसी अभियानले प्रदर्शन गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७