पोखरेल बन्लान् आज गण्डकी प्रदेशको मुख्यमन्त्री ?


२९ जेष्ठ २०७८, शनिबार
Krishna Chandra Nepali 1024x601 1

पोखरा, २९ जेठ । गण्डकी प्रदेशमा आज (शनिबार) नयाँ सरकार गठनको सम्भावना रहेको छ । सरकार गठनका लागि प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज दिउँसो ३ बजेसम्मको समय दिएकी छिन् ।

प्रदेश प्रमुखको आह्वान अनुसार नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सदस्य राजीव गुरुङसहित ३१ जना प्रदेश सभा सदस्यले हिजो नै दाबी प्रस्तुत गरिसकेका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज दिउँसो तीन बजेसम्म बहुमतसहित मुख्यमन्त्रीमा दाबी गर्न समय दिएकोमा विपक्षी गठबन्धनले हिजो नै ३१ जना प्रदेश सभा सदस्य सशरीर उपस्थित भएर दाबी पेस गरेका छन् । नियमअनुसार प्रदेश प्रमुख पौडेलले आज तीन बजेअघि नै नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्ने हुन्छ ।

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अस्ति बिहीवार विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीको लागि बहुमतसहित दाबी गर्न समय दिएकी हुन् । राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले साथ नदिए पनि स्वतन्त्र प्रदेश सभा सदस्य राजीव गुरुङले विपक्षीलाई साथ दिएपछि कांग्रेस नेतृत्वमा सरकार बनाउन बहुमत पुगेको हो ।

कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई समर्थन गरेका छन् । सरकार गठनका लागि दावी प्रस्तुत गरिसकेको विपक्षी गठबन्धन निर्णय भइनसक्दासम्म ढुक्क हुन भने सकेको छैन । केन्द्रमा राष्ट्रपतिले शेरबहादुर देउवाको दाबीलाई खारेज गरेर संसद् विघटन गरे जस्तै होला कि भन्ने चिन्ता विपक्षी दलहरुमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७