गुरुङले फेरि मुख्यमन्त्रीमा दाबी गरेपछि विपक्षी गठबन्धनका सांसदले प्रदेश प्रमुख भेट्दै


२९ जेष्ठ २०७८, शनिबार
950bdfdd6899329d1cbcc85728e8bd4b w1000 h500 cp

पोखरा, २९ जेठ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले फेरि दाबी पेस गरेपछि विपक्षी गठबन्धनका सांसद सशरीर प्रदेश प्रमुखलाई भेट्न जाने तयारीमा छन् ।

संसदबाट विश्वासको मत नपाएको गुरुङले फेरि मुख्यमन्त्रीमा दावी गरेपछि विपक्षी गठबन्धनका सबै ३१ जना सांसद प्रदेश प्रमुखको कार्यालयमा जाने तयारीमा रहेको नेकपा माओवादी केन्द्रका सांसद दीपक कोइरालाले जानकारी दिए । शुक्रबार ३१ जना सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेसका नेता कृष्णचन्द्र पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । तर आज गुरुङले जनमोर्चाका कृष्ण थापा र जसपा महन्थ पक्षको पत्र पेस गर्दै मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

गुरुङले २७ गते संदनमा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् । तर वैकल्पिक सरकार गठनका लागि दिइएको समयमा विपक्षी गठबन्धनले सबै प्रक्रिया पुरा गरे पनि प्रदेश प्रमुखले सरकार गठनको प्रक्रिया अघि बढाइनन् । प्रदेश प्रमुखले प्रक्रिया अघि नबढाएपछि सरकार गठनको समय सकिएपछि गण्डकी प्रदेशको राजनीति थप सकसपूर्ण बनेको छ ।

प्रदेशसभाबाट विश्वासको मत लिन असफल भएका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले फेरि बहुमत दावी गर्दै प्रदेश प्रमुख समक्ष गएका छन् । उनी राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको पत्रसहित गएका हुन् ।

मुख्यमन्त्रीका प्रेस संयोजक बिक्रम न्यौपानेका अनुसार जसपा केन्द्रीय सदस्य शंकर गौतम, तत्कालीन राजपा गण्डकी संयोजक अनिल परियारको पत्र र राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले आफू संसदीय दलको नेता भएकाले आफ्नो पार्टीको समर्थन गुरुङलाई रहेको भन्ने पत्रसाथ मुख्यमन्त्री गुरुङले पनि दावी गरेका हुन् ।

विपक्षी गठबन्धनले सशरीर ३१ सांसद (बहुमत) पुर्‍याएर शुक्रबार मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । तर, प्रदेश प्रमुखले दिएको समयसीमाको केही छिन अघि मात्रै गुरुङले पनि दावी गर्नु प्रदेशसभा बिघटनको बाटोमा लैजाने प्रयास भएको टिप्पणी गरिएको छ ।

केन्द्रमा विपक्षी गठबन्धनले बहुमत सांसदले हस्ताक्षर बुझाउँदा राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गरेकी थिइन् । बरु संसद्मा विश्वास सावित गर्न नसकेका प्रधानमन्त्री केपी ओलीले नै दलको पत्र बुझाएर बहुमत दावी गरेका थिए । यसकै आधारमा राष्ट्रपतिले दुवैको दावी नपुगेको बताएकी थिइन् ।

गुरुङले अन्तिम समयमा बहुमत दावी गर्नुलाई उनको संसद विघटन गर्ने षड्यन्त्रको कदम भएको विपक्षी गठबन्धनले आरोप लगाएको छ । केन्द्रमा पनि दुवै पक्षको बहुमत नपुगेको राष्ट्रपतिले बनाए लगत्तै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेर निर्वाचन घोषणा गरेकी थिइन् । यसविरुद्धको रिट सर्वोच्चको संवैधानिक इजलासमा बहस जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७