विपक्षी बाटो : साढे तीन वर्षमै सत्तासीन

चार प्रदेशमा सत्तारुढ दल भइसकेको कांग्रेस संघीय सरकारको पनि नेतृत्व लिने मार्गचित्र कोर्दै


३० जेष्ठ २०७८, आईतवार
gandaki sapath krshna chandra nepal pokharel rKJrikQeDy

काठमाडौं, ३० जेठ । कांग्रेस सभापति शेरबहादुर देउवाले गत चैतको पहिलो साता विराटनगरमा आयोजित एक सभामा भनेका थिए, ‘हाम्रो पार्टी प्रतिपक्षमा छ । जनताले पाँच वर्षका लागि हामीलाई प्रतिपक्षमा बस्न मतादेश दिएका हुन् । त्यसैले हामी अहिले सरकारमा जाँदैनौं । बरु प्रतिपक्षीको सशक्त भूमिका निर्वाह गर्छौ ।’

कांग्रेस सरकारमा जानुभन्दा चुनावमै जान ठीक हुन्छ भन्ने देउवाको विश्लेषण थियो । त्यसवेला प्रधानमन्त्री केपी ओलीसँग साँठगाँठ गरेको आरोप खेपेका देउवा केन्द्रमा मात्रै होइन, प्रदेशमा पनि सरकारविरुद्ध अविश्वासको प्रस्ताव लैजान तयार थिएनन् । तर, त्यसको तीन महिना नपुग्दै कांग्रेस एकपछि अर्का सरकारमा सामेल मात्रै भएको छैन, शनिबारबाट गण्डकी प्रदेशको नेतृत्वमा पुगेको छ ।

गत निर्वाचनमा केन्द्र र सातवटै प्रदेशमा हार बेहोर्दै कमजोर सिटसहित विपक्षीको भूमिकामा सीमित कांग्रेस साढे तीन वर्षमै सत्तासीन हुन पुगेको हो । विपक्षी गठबन्धनको नेतृत्व गर्दै शनिबार गण्डकी प्रदेशमा मुख्यमन्त्री नै पाएपछि कांग्रेसले त्यसलाई महत्वपूर्ण राजनीतिक उपलब्धिका रूपमा लिएको छ ।

गण्डकीमा प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने समय बित्दै गर्दा बुढानीलकण्ठस्थित देउवानिवासमा कांग्रेसका शीर्ष नेताहरू महाधिवेशनको मितिबारे छलफल गर्न जम्मा भए । तर, छलफल महाधिवेशनमा होइन, प्रदेश सभाका बहुमत सदस्यसहित दाबी पेस गरेका कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन जालझेल भइरहेकामा केन्द्रित भयो ।

त्यहीबीचमा प्रवक्ता विश्वप्रकाश शर्माले वक्तव्य जारी गरेरै विश्वासको मत गुमाइसकेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पुनः दाबी गरेको पोखरामा पनि शीतलनिवासमा झैं षड्यन्त्र नदोहोरियोस् भन्ने अभिव्यक्ति दिए । उता बहुमत सांसद धर्नामा बसे, यता प्रदेश प्रमुखको गम्भीर असंवैधानिक कदम भन्दै नेताहरूले विरोध गरे । अन्ततः कांग्रेस नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको खबरपछि देउवानिवासमा खुसियाली छाएको थियो । बैठक सकिनै लाग्दा सरकारविरुद्ध कडा प्रतिरोध गर्नुपर्ने भनिरहेका नेताहरू मत्थर बने, र बधाई दिँदै बाहिरिए ।

गण्डकी प्रदेशको नेतृत्व पाएसँगै कांग्रेस अब चारवटा प्रदेशमा सत्तापक्षमा छ । केन्द्रमा संविधानको धारा ७६ (५) अनुसार बहुमतसहित प्रधानमन्त्री नियुक्त गर्न सभापति देउवालाई अगाडि सारेको कांग्रेस बागमती प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ मा पनि सरकार फेरबदलका लागि जोडघटाउ गरिरहेको छ । देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दर्ता रिटमाथि ९ असारबाट बहस हुँदैछ ।

विपक्षमा बस्ने जनमत पाएको कांग्रेस सरकारमा जान किन हतारियो त ? कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत भने कांग्रेसले चाहेर यस्तो परिस्थिति सिर्जना नभएको बताउँछन् । उनले गत आमनिर्वाचनको जनमत भत्किसकेकाले अब सत्ता र प्रतिपक्ष भन्ने नै नरहेको दाबी गरे ।

‘जनताले जसलाई सत्ता चलाऊ भनेर जनमत दिए, त्यो दलले सत्ता चलाउन सकेन । र उनीहरू नै जनमतको कदर भएन भनेर हामीसँग गठबन्धन गर्न आए । अब हाम्रो गठबन्धनको मुख्य जिम्मेवारी भनेको संविधान, लोकतान्त्रिक मूल्य–मान्यता र व्यवस्थाको रक्षा गर्नु हो,’ उनले भने, ‘गत आमनिर्वाचनको जनमत भत्किसक्यो । अब त खाली संविधान, लोकतन्त्र र हाम्रो व्यवस्था कसरी जोगाउने भन्ने कुरा मात्रै हो ।’

कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी छैन, तर समर्थन गरेको छ । कर्णालीमा भने कांग्रेसका दीनबन्धु श्रेष्ठ जलस्रोत तथा ऊर्जा विकास र यज्ञबहादुर बिसी सामाजिक विकासमन्त्री छन् । प्रदेश २ मा कांग्रेसबाट रामसरोज यादव भौतिक पूर्वाधार, वीरेन्द्र सिंह युवा तथा खेलकुद र ओमप्रकाश शर्मा ऊर्जामन्त्री बनेका छन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७