डब्लूएचओको ‘कोभ्याक्स’ खोप अभियानले अन्त्य गर्न सक्ला महामारी ?


३० जेष्ठ २०७८, आईतवार
korona khop 2

काठमाडौं, ३० जेठ । विश्वव्यापी रुपमा हालसम्म २ अर्ब खोप वितरण भइसकेको छ । तर जहाँ केही मुलुकहरुले ठूलो मात्रामा आफ्नो जनसंख्यालाई खोप लगाइसकेका छन् त्यहीँ अर्कोतर्फ कतिले चाहिँ भर्खर सुरु मात्र गरिरहेका छन् भने कतै पहिलो डोजका लागि नै पर्खिनुपर्ने अवस्था पनि छ ।

विश्व स्वास्थ्य संगठन, डब्लूएचओले गत वर्ष सुरु गरेको ‘कोभ्याक्स’ खोप अभियान विश्वव्यापी रुपमा बराबरी खोप वितरण सुनिश्चित गर्ने लक्ष्य सहित सञ्चालन भइरहेको छ । यसमा धनी राष्ट्रहरुले कोभ्याक्स अभियान मार्फत विपन्न मुलुकहरुलाई विभिन्न माध्यमले सहयोग गर्न सक्छन् ।

कोभ्याक्सले हाल ९२ वटा कम आयदर भएका देशहरुमा कम्तीमा पनि २० प्रतिशत जनसङ्ख्यालाई पुग्नेगरी खोप वितरण गर्ने लक्ष्य राखेको छ जसमा स्वास्थ्यकर्मी र संवेदनशील समुहलाई मुख्य प्राथमिकतामा दिइनेछ ।

कोभ्याक्सको प्रारम्भिक लक्ष्य भनेको २०२१ को अन्त्यसम्ममा विश्वव्यापी रुपमा २ अर्ब डोज प्रदान गर्ने र ९२ वटा मुलुकमा चाहिँ २०२२ सम्ममा १.८ अर्ब डोज खोप वितरण गरिसक्नु रहेको थियो । कोभ्याक्सलाई डब्लूएचओका साथै अन्य अन्तर्राष्ट्रिय संगठन, युनिसेफ, युएन चिल्डरेन च्यारिटी, गाभी लगायतले सञ्चालन गरिरहेका छन् ।

गत फेब्रुअरीमा कोभ्याक्सबाट खोप प्राप्त गर्ने घाना पहिलो देश बनेको थियो । अहिलेसम्म कोभ्याक्सलाई प्राप्त भएको ८ करोड ११ लाख खोपका डोज १२० राष्ट्रमा वितरण गरिसकिएको छ । अधिकांशक खोपहरु गरिब र विपन्न मुलुकमा वितरण गरिएको छ तर केही चाहिँ धनी राष्ट्र जस्तै क्यानाडालाई पनि पठाइएको थियो ।

यसअघि युनिसेफले जी–सेभेन मुलुकहरुमा खोप दान गर्न अपील गरेको थियो । त्यस्तै विश्वचर्चित सेलिब्रेटी, डेभिड बेक्ह्याम सहित एन्डी मुरे, गायिका केटी पेरी लगायतले पनि खुला पत्र लेख्दै कोभ्याक्समा आपूर्ति अभाव भएकाले मद्दत गर्न अनुरोध गरेका थिए ।

कोभ्याक्स हाल विभिन्न देशका सरकार र खोप निर्माता कम्पनीहरुसँग सहकार्य गरिरहेको छ । यसलाई समर्थन गर्नेहरुमा अमेरिका, बेलायत, क्यानडा, जापान, अष्ट्रेलिया, न्युजिल्यान्ड, युएइ, फ्रान्स, जर्मनी, इटली, स्पेन, स्वीडेन र पोर्चुगल रहेका छन् । यी सबै देशहरुले आफूसँग बाँकी भएका अतिरिक्त खोप र रकम समेत कोभ्याक्सलाई दान दिने प्रतिज्ञा गरेका छन् । अमेरिकाले यसअघि ६ करोड डोज खोप प्रदान गर्ने बताएको थियो तर अब फेरि ५० करोड डोज फाइजर खोप थप दान गर्ने घोषणा गर्ने अपेक्षा गरिएको छ ।

त्यस्तै जापानले भने एक अर्ब डलर रकम सहयोग गर्ने बताएको छ । युरोपेली युनिअनले ५० करोड पाउन्ड सहित अतिरिक्त ५० करोड ऋण दिने प्रतिबद्धता जनाएको छ । जर्मनी, फ्रान्स, स्वीडेन र इटलीले कम्तीमा पनि १० करोड डोज खोप दिलाउने वचन दिएका छन् । बेलायतले ५० करोड पाउन्ड रकम सहित खोप पनि दान गर्ने बताएको छ ।

डब्लूएचओका निर्देशक टेड्रोसले यसअघि धनी राष्ट्रहरुले सबै उत्पादिन खोप आफूलाई मात्र राखेर विश्वव्यापी खोप आपूर्तिमा अभाव सिर्जना गरेको भनि आलोचना गरेका थिए । विश्वको १३ प्रतिशत जनसंख्याको मात्र प्रतिनिधित्व गर्ने भएतापनि जी–सेभेन मुलुकहरुले विश्वभर उत्पादित एक तिहाइ भन्दा बढी खोप खरिद गरेका छन् ।

यसरी कोभ्याक्समा प्रयोग हुने खोप भनेको डब्लूएचओबाट मान्यता प्राप्त खोपहरु मात्र हुन् जसमा एस्ट्राजेनेका, फाइजर, जोन्सन, मोडेर्ना, चीनका साइनोफ्राम र साइनोभ्याक रहेका छन् । तर अहिलेसम्म यसले एस्ट्राजेनेका र फाइजर खोप मात्र वितरण गराएको छ । मोडेर्नाले झन्डै ५० करोड डोज खोप सबैभन्दा कम मूल्यमा आपूर्ति गर्ने सहमति जनाए पनि यो २०२२ अघि उपलब्ध नहुने बताइएको छ ।

चुनौतिपूर्ण आपूर्तिका वावजुद कोभ्याक्सले खोप वितरणको काम अघि बढाउने प्रयास गरिरहेको छ तर यो अभियान एकदमै सुस्त गतिमा चलिरहेका बारे धेरै पटक आलोचित भइसकेको छ । धेरै देशहरुको स्वास्थ्य संरचना कमजोर भएकाले पनि कोभ्याक्सले आफ्नो लक्ष्य पूरा गर्न नसकेको र खोप लगाउन हिचकिचाउने प्रवृत्तिले पनि अफ्ठ्यारो परिस्थिति निम्त्याएको बताइएको छ ।

यसैगरी भारतको भयावह कोरोना कहरले पनि कोभ्याक्सको खोप आपूर्ति नराम्ररी प्रभाव गराएको हो । हाल भारतले देश भित्र निर्मित खोपहरुको निर्यात ठप्प गरेको छ र निश्चित समयका लागि सबै आपूर्ति स्थानीय जनसंख्याको सुरक्षामा केन्द्रित राख्ने बताएको हो ।

कोभ्याक्सबारे डब्लूएचओको वेबसाइटमा लेखिएको छ, ‘तीव्र गतिमा अघि बढिरहेको महामारी समक्ष, जबसम्म दुनियाँका सबै सुरक्षित हुँदैनन् तबसम्म कोही पनि यसबाट पूर्ण सुरक्षित रहन सक्नेछैन ।’

तर कोभ्याक्सले आफ्नो लक्ष्य अनुरुप ९२ देशको २० प्रतिशत जनसंख्यालाई खोप लगाउन सफल भएपनि महामारी अन्त्य गर्नका लागि सो इम्युनिटी कुनै हिसाबमा पर्याप्त नहुने स्वास्थ्यविद्हरुले बताइरहेका छन् । डब्लूएचओका अनुसार मानिसहरुलाई लामो समय सुरक्षित राखिरहन थप बुस्टर डोजको पनि आवश्यकता पर्न सक्नेछ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७