नेता नारायणकाजी नेतृत्वको चिकित्सक टोली गोरखापछि कोभिड परीक्षण गर्दै सर्लाहीमा


३० जेष्ठ २०७८, आईतवार
korona test

सर्लाही, ३० जेठ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ नेतृत्वको टोली गोरखापछि कोभिड परीक्षण शिविर सञ्चालनका लागि सर्लाही पुगेको छ ।

आफ्नो गृह जिल्ला गोरखाका विभिन्न ठाउँमा कोभिड परीक्षण शिविर सञ्चालन गरेपछि नेता श्रेष्ठ शुक्रबार सर्लाही पुगेका हुन् । श्रेष्ठको निजी सचिवालय अन्तर्गतको कोभिड भोलेन्टियर सर्भिस टोलीमा एक दर्जन स्वास्थ्यकर्मी र प्राविधिक सहभागी छन् । टोलीले माओवादी केन्द्रको स्थानीय समिति, स्थानीय प्रशासन र स्थानीय तहसँगको समन्वयमा शिविर सञ्चालन गरिरहेको छ ।

शनिबार सर्लाहीका तीन ठाउँमा सर्वसाधारणको कोभिडसम्बन्धी एन्टिजेन टेस्ट गरेको छ । सर्लाहीको बागमती, बरहथवा र हरिवनमा एन्टिजेन टेस्ट शिविर सञ्चालन गरिएको हो ।

आइतबार सर्लाहीकै हरिपुरमा पनि एन्टिजेन टेस्ट र कोभिड परामर्श शिविर सञ्चालन गरिने टोलीमा सहभागी सुरेशकाजी श्रेष्ठले जानकारी दिए । ‘शिविरमा आएका बिरामीलाई हामीले कोभिड टेस्ट गर्नुका साथै निःशुल्क औषधि, सेनिटाइजर र मास्क वितरण गर्नुका साथै कोभिडबाट जोगिन परामर्शसमेत दिने गरेका छौँ,’ श्रेष्ठले भने ।

शनिबार बागमतीमा सञ्चालन गरिएको शिविरमा ५८ जनाको एन्टिजेलन परीक्षण गर्दा १४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । हरिवन १० को सुकुम्बासी बस्तीका ४६ जनाको परीक्षण गर्दा ४ जनामा कोभिड देखिएको माओवादी केन्द्र सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिए । बरहथवामा भने ४२ जनाको परीक्षण गर्दा कसैमा पनि कोभिड देखिएन ।

नेता नारायणकाजी श्रेष्ठले नागरिकलाई कोभिडबाट जोगाउन जनचेतना जागृत गर्ने, उनीहरुको एण्टीजेन परीक्षण गरेर ग्रामिण तहमा कोभिड संक्रमणको वास्तविक अवस्था पत्ता लगाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको जानकारी दिएका छन् ।

पहिलो चरणको यो अभियान सर्लाहीपछि महोत्तरी र चितवनमा पनि सञ्चालन गरिने नारायणकाजीको सचिवालयले जनाएको छ । नेता श्रेष्ठले शनिबार जिल्ला स्वास्थ्य कार्यालय सर्लाही र जिल्ला अस्पताल, मलंगवाका चिकित्सक र स्वास्थ्यकर्मीसँग पनि जिल्लामा भइरहेको कोभिडको उपचार तथा परीक्षण सम्बन्धी जानकारी लिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७