‘खुवालुङ’ ढुङ्गा मात्र होइन, संरक्षण गरिन्छ : मुख्यमन्त्री शेरधन राई

‘तीन वर्षमा ठूलो उपलब्धी भएको छ, नराम्रा कुरा मात्र हेर्न हुँदैन’


३० जेष्ठ २०७८, आईतवार
sherdhan rai pradeshsava1623581019

विराटनगर, ३० जेठ । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले ‘खुवालुङ’ लाई लिएर राजनीति गर्न आवश्यक नभएको बताएका छन् ।
सप्तकोशी नदीको खुवालुङ ढुङ्गाको विषय उछालेर धेरै राजनीति भएको भन्दै उनले धार्मिक, सांस्कृतिक रुपमा महत्वको विषय भएकाले त्यसलाई संरक्षण गरिने बताएका छन् । उनले प्रदेशको नाम प्रदेशसभाको चालु अधिवेशनबाट टुंगो लगाउन पनि आह्वान गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै आइतबार प्रदेशसभा बैठकमा राईले भने, ‘खुवालुङ ढुङ्गा मात्रै हुँदो हो त त्यो फुटाउनुपर्ने ठाउँमा छ । तर, धार्मिक, सांस्कृतिक रुपमा महत्वको विषय भएकाले त्यसलाई संरक्षण गर्नुपर्ने देखिन्छ । खुवालुङलाई संरक्षण गर्नुपर्छ ।’

जल यातायात सञ्चालन गर्न नदीको बहावलाई ‘च्यानलाइज’ गर्ने काम शुरु भएको र खुवालुङको विषयमा आफूले संघीय सरकारसँग पनि कुराकानी गरेको उनले जानकारी गराएका छन् । उनले भने, ‘निजी तहमा कसैले मसँग औजार छ फुटाऊँ भनेको होला । तर, प्रदेश र स्थानीय सरकारको तहमा यसलाई फुटाउने कुनै कुराकानी वा तयारी भएको छैन ।’

उनले कोभिड–१९ को महामारीले कसैलाई नछोडेको भन्दै दल, भूगोल वा वर्ग विशेष कोही पनि अछुतो रहन नसकेको बताए । भने, ‘राम्रा मनसायले आएका सुझावलाई ग्रहण गरिनेछ । तर, बाँकी विरोधका लागि विरोधका कुरा अथवा सार्वजनिक खपतका लागि राखिने कुरा वा आत्मसन्तुष्टिका लागि विचार वा टिप्पणीप्रति मेरो भन्नु केही छैन ।’

राईले प्रदेश सरकार समृद्धितर्फको बाटोमा रहेको र तीन वर्षमा ठूला–ठूला उपलब्धि हासिल भएको जिकिर गरेका छन् । ‘त्यसलाई देख्न सक्नुपर्‍यो, भन्न सक्नुपर्‍यो । नराम्रा कुरा मात्रै हेर्नु हुँदैन थियो’, राईले भने, ‘यस पटक महामारीका कारण अलिकति ढिला गरेर नीति कार्यक्रम पेस गर्नुपर्ने बाध्यता रहन गयो । तर, प्रदेश सरकार विकासको लागि चिन्तित छ ।’ खोपलाई प्राथमिकतामा राखेर सरकारले नागरिकलाई खोप दिलाउन संघीय सरकारसँग पनि समन्वय गरिरहेको उनले बताए ।

राईले सोलुखुम्बुबाट पोङ्देसम्म केबलकार अध्ययन, अर्को खण्ड चतरा हुँदै सुरुङ, जलमार्ग र केबलकारसहितको अध्ययन हुँदै गरेको सुनाएका छन् । ‘सम्झौताको तयारी भएको छ । धरानदेखि मुलघाटसम्मको सुरुङमार्ग हाम्रो औकातबाट नहुने भए पनि त्यसपश्चात् प्रारम्भिक अध्ययन गर्न संघीय सरकारसँग छलफल भएको छ’ राईले भने, ‘५० वर्षसम्म हुन नसकेको विकास प्रदेश सरकार आएपछि सुरुवात भएको छ । झोलुंगे पुल बनेको छ । नारा नराख्ने, सपना नदेख्ने र महत्वाकांक्षा नबोक्ने हो भने समृद्धि पाउन सकिन्न ।’

प्रदेशको नामांकन यही अधिवेशनबाट टुंगो लगाएर मात्र बैठक अन्त्य गरिने बताए । नीति तथा कार्यक्रममाथिको छलफलमा ३२ जनाले भाग लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७