बर्खामा जथाभावी सडक खने कारबाही

पहिल्यै स्वीकृति लिइसकेको मेलम्चीको पाइप बिछ्याउने र लिकेजको काम भने हुने


३१ जेष्ठ २०७८, सोमबार
road

काठमाडौं, ३१ जेठ । बर्खाका बेला जथाभावी सडक खन्न प्रतिबन्ध लगाइने भएको छ । बर्खामा सडक खन्ने प्रवृत्ति बढेसँगै असार १ बाट उक्त कार्य गर्न रोक लगाइने भएको हो ।

सडक विभागअन्तर्गत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै सडक खन्न रोक लगाएको हो । नियम नमानेको पाइए कारबाही गर्ने सूचनामा उल्लेख छ ।

बर्खायाममा धारा, ढल, बिजुली र टेलिफोन प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मतसम्भार गरी यथास्थितिमा ल्याउन नसकिने जनाइएको छ । यस्तो अवस्थामा सडक थप बिग्रँदै जाने भएकाले असारदेखि भदौ मसान्तसम्म कार्यालयअन्तर्गत सडक डिभिजन मातहत रहेका कुनै पनि सडक खन्न स्वीकृति नदिइने सूचनामा भनिएको छ । कसैले जबर्जस्ती खनेको पाइए सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिनेछ । उपत्यकाका ठाउँठाउँमा नयाँ कालोपत्रे सडकसमेत खनेर खाल्डैखाल्डा बनाइएको छ । ती खाल्डा समयमै मर्मत गर्न नसक्दा पानी जम्ने र हिलोले सडक फोहोर बन्ने गरेको छ ।

बर्खामा सधैं सडक खन्ने काम बन्द गर्ने गरिएको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय प्रमुख कैलाश श्रेष्ठले बताए । ‘खानेपानीलगायत निकायले होल परिवर्तन गर्ने, नयाँ पाइप जोड्न सडक खन्न स्वीकृति माग्ने गरेका छन्,’ उनले भने, ‘अब भने त्यस्तो काममा सूचना निकालेरै रोक लगाइएको हो ।’

अहिले सडक खन्दा तुरुन्तै कालोपत्र तथा मर्मत गर्न सकिँदैन । मर्मत नगरेपछि खाल्डोमा पानी जमेर ठूलो हुँदै जाने र सडक बिग्रने उनको भनाइ छ । ‘मनसुनमा सडक खन्न स्वीकृति दिइन्न । राम्रा सडकसमेत बर्खाको बेला बिग्रिने हुन्छन्,’ श्रेष्ठले भने, ‘त्यसमाथि सडक नै खन्न दिइयो भने समस्या हुन्छ । त्यही भएर आफैंले सडकमा खाल्डा पार्न स्वीकृति दिने कुरै भएन ।’

पहिला नै सहमति भइसकेको मेलम्ची खानेपानीको पाइप बिछ्याउने र पानी लिकेज मर्मत गर्ने काम भने हुनेछ । विद्युतीय तार भूमिगत गर्ने क्रममा सडक बिग्रिए सोही निकायले मर्मत गर्ने हुँदा यो काम पनि जारी रहने श्रेष्ठले जानकारी दिए । ‘सर्वसाधारणले दैनिक ८–१० ठाउँमा सडक खन्न स्वीकृति माग्ने गरेका छन्,’ उनले भने, ‘अब सडक बिगार्न स्वीकृति दिइने छैन ।’

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले पनि नियमित रूपमा अघिपछिझैं सडक खन्न नपाइने गरी रोक लगाइएको बताए । ‘जथाभावी सडक खन्ने प्रवृत्ति रोकिएको छैन, यसलाई रोक्ने प्रयास गरिरहेका छौं,’ उनले भने, ‘सार्वजनिक सूचना नै जारी गरिएकाले अब जथाभावी सडक खन्ने कारबाहीमा पर्नेछन् ।’

खनिएका खाल्डा टाल्न नसके बर्खामा पानी जम्ने, हिलो हुने, सडक फोहोर बन्ने र दुर्घटनाको जोखिम पनि उत्तिकै बढी हुने उनको भनाइ छ । सडक बर्सेनि मर्मत गरिए पनि सबैभन्दा बढी खाल्डाखुल्डी उपत्यकाकै सडकमा देख्ने गरिन्छ । उपत्यका बाहिरका जिल्ला पनि जथाभावी खनेर सडक खाल्डा बन्ने प्रवृत्तिबाट अछुतो छैनन् । अहिले तीनकुने–एयरपोर्ट, शंखमूल, थापागाउँ, नयाँ बानेश्वरबाट हनुमानथान जानेतर्फ, ज्ञानेश्वरलगायत क्षेत्रमा सडक खनिएको छ । यी ठाउँमा खाल्डाखुल्डी धेरै छन् ।

स्वयम्भूको भगवान्पाउमा नयाँ कालोपत्र गरिएको सडक खानेपानीका लागि भन्दै जथाभावी खनिएको नेपालीले बताए । उपत्यकाका सडक मर्मतमा मात्र बर्सेनि ८० करोड रुपैयाँ खर्च हुन्छ । ‘सडक सरसफाइ गर्न खटिनेको तलबदेखि उनीहरूले लगाउने ज्याकेटसम्मको खर्च पनि यही रकमभित्र पर्छ,’ नेपालीले भने । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७