दोहोरो शुल्क सहित दुबई दूताबासले दिन्छ सास्ती (तस्बिर र भिडियोसहित)
काठमाण्डौं, १५ फागुन । सोमबार मध्यराति नयाँपेजको टोली लाजिम्पाटस्थित दुवई दूताबास पुग्दा करीब १२ सय युवाहरु जाडोले काम्दै लाइनमा थिए । मध्यरातमा केही भित्तोमा अडिएर झुलिरहेका थिए, कोही चिसो सडकमा जाडोले काम्दै बसिरहेका थिए । उनीहरुले भोगिरहेको सास्ती एक दिनको मात्रै थिएन । विगत ५ दिनयता सयौं युवाहरुले यसरी सास्ती भोगिरहेका छन् ।
५ दिनयता लाइनमा बसेका लाइन अघि नै नसरेपछि सास्तीमा छन् । उनीहरु श्रम स्वीकृति लिनका लागि लाइनमा बसेका हुन् । यूएई (दुबई) मा रोजगारीका लागि जान उनीहरु श्रम स्वीकृति लिन लाइनमा बसेका हुन् । चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका लागि दैनिक ३ हजार बढी युवाहरु यसरी नै लाइनमा बस्नु पर्ने बाध्यता छ । नेपाल प्रहरीबाट ‘पुलिस रिपोर्ट’ बनाएपछि दूताबासबाट प्रमाणिकरण गर्नुपर्ने हुन्छ । दूताबासले दिउँसो १२ बजेसम्म मात्र स्विकृति दिने गरेको जनाएको छ । केही दिनयता दिउँसो २ बजेसम्म समय बढाएर दुई सयबाट पाँच सय जनालाई स्विकृति दिन थालिएको कर्मचारी बताउँछन् ।
संयुक्त अरब इमिरेट्स (युएई) सरकारले आफ्नो देशमा आउने नयाँ कामदारका लागि नयाँ नियम लागु गरेको छ। युएई सरकारले २०१८ फेब्रुअरी ४ देखि लागु हुनेगरी चालचलनको प्रमाणपत्र अनिवार्य पेश गनु पर्ने नियम लागु गरेको हो। रोजगारीका लागि आउने अन्य देशका नागरिकका निम्ति असल आचरणको प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने नियम बनाएको हो।
नेपालीहरूले प्रहरी प्रधान कार्यालय नक्सालबाट उक्त प्रमाणपत्र बनाउन छन्। प्रमाणपत्र लिइसकेपश्चात कन्सुलर सेवा विभाग त्रिपुरेश्वर र काठमाडौं स्थित युएइको राजदूतावासबाट प्रमाणिकरण गरी युएइको सम्वन्धित निकायमा बुझाउन पर्ने हुन्छ । । परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरीसकेपछि पनि ४३ सय तिरेर फेरी दुबई दुताबासमा प्रमाणीकरण गराउनुपर्ने बाध्यता छ । यसले कामदारहरु दोहोरो मारमा परेका छन् ।
उपत्यका बाहिरबाट आएका अधिकांश युवाहरु प्रमाणपत्र प्रमाणीकरण गर्नु महाभारतको लडाई जित्नु सरह हुने बताउँछन् । ‘होटलमा कोठा लिएर बसेको छु, तर बसाई भने यहाँ भइरहेको छ, फोकटमा होटलको पैसा तिरिरहेका छौं’ चितवनका तुलसीप्रसाद भट्टले भने ।
उनीहरुको भिसा आएको १५ दिन भन्दा धेरै भइसकेको छ । दैलेखका जगत भट्टराई ४ दिनदेखि लाइनमा बस्दै आएको बताउँछन् । ‘भिसा आएको १३ दिन भइसक्यो, लाइन लागेको चार दिन भइसक्यो, पुलिसको लाठ्ठी खाँदै बसिरहेका छौं’, उनले भने, ‘दिनमा दुई– तीन सयलाई मात्र दुतावासले स्विकृति दिन्छ, हामी ३५ सय भन्दा बढी छौं, भिसाको समय तीन महिना हुन्छ यसरी हामी कहिले पाउँछौ ?’
दूताबासमा घुस, विचौलिया सक्रिय
स्रोतका अनुसार यसरी ढिलो काम हुनुको मुख्य कारण हो, घुस । दूताबासका तल्लोस्तरका कर्मचारी र म्यानपावरका विचौलियाबीच मिलेमतो छ । दिउँसो १२ बजेसम्म मात्रै स्वीकृति दिएर ढिलो गर्ने अन्तिममा विचौलियाले पैसा लिएर सबैको एकैसाथ काम गरी दिने योजनाका साथ यसो गरिएको जानकार बताउँछन् । दुबई दूताबासका कर्मचारी र म्यानपावरका विचौलियाहरुलाई कार्बाही नगरे यस्तो सास्ती भोगिरहनुपर्ने पीडितहरु बताउँछन् ।