कांग्रेसमा आठ लाख क्रियाशील सदस्य


१ असार २०७८, मंगलवार
nepali congress mx3xCT37Q5 1

काठमाडौं, १ असार । कांग्रेसले थप ६५ स्थानको क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको छ । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको शनिबार साँझ बसेको बैठकको निर्णयबमोजिम केन्द्रीय कार्यालयले ३३ जिल्लाका थप ६५ स्थानको नामावली सार्वजनिक गरेको हो ।

यसअघि ६० भन्दा बढी जिल्लाबाट प्राप्त एक सय एक स्थानको नामावली कांग्रेसले आफ्नो वेबसाइटमा राखिसकेको छ । कांग्रेसले १४औं महाधिवेशनमा क्रियाशील सदस्यको संख्या दोब्बरले वृद्धि गरी दश लाख पुर्‍याउने लक्ष्यसहित नवीकरण र वितरणको काम थालेको थियो ।

जसअनुसार जिल्ला कार्यसमितिले पुराना क्रियाशीलको नवीकरण र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिहरूले नयाँ सदस्यता वितरण गरी केन्द्रीय कार्यालयको सफ्टवेयरमा देशभरका दुई सय सात स्थानबाट नवीकरण र नयाँ सदस्यताको विवरण अपडेट हुने व्यवस्था गरिएको थियो । तीमध्ये अहिलेसम्म एक सय ६६ स्थानको नामावली प्रक्रिया पुर्‍याएर निर्विवाद रूपमा प्राप्त भएको र छानबिन समितिले ती नामावली सार्वजनिक गरेको सचिव केशव रिजालले जानकारी दिए ।

यसपटक थपिएका चार लाख १९ हजार नौ सय ३९ र नवीकरण गरेका तीन लाख ८० हजार तीन सय ७८ गरी कुल आठ लाख तीन सय १७ जना क्रियाशील सदस्यको विवरण केन्द्रीय कार्यालयमा प्राप्त छ । त्यसमध्ये अहिलेसम्म पाँच लाखभन्दा बढीको नामावली सार्वजनिक भएको हो ।

‘अहिले सार्वजनिक गरिएको नामावली विवादरहित तरिकाले क्रियाशील सदस्यतासम्बन्धी कार्य सम्पन्न गरी जिल्ला र प्रतिनिधिसभाबाट सफ्टवेयरमा इन्ट्री भएका क्रियाशीलको नामावली हो । यसबाहेक अरू ठाउँबाट पनि विवरण प्राप्त छ, तर त्यहाँ प्रक्रियामै विवाद छ,’ कांग्रेसका केन्द्रीय सदस्य एवं छानबिन समितिका सदस्य जीवन परियारले भने, ‘केन्द्रमा सबै प्रक्रिया पुर्‍याएर प्राप्त भएको विवरणमाथि उजुरबाजुर गर्ने, त्रुटि सच्याउने वा छुटपुट थप गर्ने प्रयोजनका लागि यो नामावली सार्वजनिक गरिएको हो ।’

शनिबारै बसेको शीर्ष नेताहरूको बैठकले महाधिवेशनको मिति हेरफेर गर्दै २० असारभित्र क्रियाशीलको छानबिन समेत पूरा गरी केन्द्रीय समितिमा बुझाउन भनेपछि छानबिन समिति दबाबमा परेको छ । समितिले सार्वजनिक गरिएका नामावलीउपर एक साताभित्र उजुरी वा गुनासो भए केन्द्रीय कार्यालयमा पठाउन आग्रह गरेको छ ।

यस्तै, सार्वजनिक गरिएका प्रस्तावित नामावलीमा कुनै त्रुटि भएको भए वा छुट भएको भए नयाँ सदस्यतातर्फ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले र नवीकरणतर्फको जिल्ला कार्यसमितिले स्पष्ट आधार र प्रमाणसहित त्रुटि सच्याउन ६ असारसम्मको समय तोकेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७