सेयर बजारमा अस्वाभाविक उछाल

नराम्रा कम्पनीको सेयर मूल्य उच्च अंकले वृद्धि, हल्लाका भरमा लगानी गर्ने अत्यधिक


१ असार २०७८, मंगलवार
thumb 6

काठमाडौं, १ असार । सेयर बजारमा भएको उच्च वृद्धि प्राकृतिक र स्वाभाविक नभएको नियामक निकाय धितोपत्र बोर्डको अध्ययनले देखाएको छ । सबै पक्षबाट राम्रो अवस्था नभएका धेरै कम्पनीका सेयर मूल्य उच्च अंकले बढेकाले बजारको वृद्धि अस्वाभाविक देखिएको निष्कर्ष अध्ययनले निकालेको हो ।

प्रतिवेदनमा सिधै बजारमा चलखेल भयो भनेर उल्लेख नगरिए पनि अध्ययनको निष्कर्ष त्यही रहेको स्रोतले जनाएको छ ।
गत असारको तुलनामा केही कम्पनीको सूचीकृत मूल्यमा अस्वाभाविक वृद्धि देखिएको र उच्च मूल्य वृद्धिको यथोचित कारण यकिन हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

यही आधारमा बजारमा सबै कम्पनीको मूल्य वृद्धि अस्वाभाविक भएको रूपमा बुझ्न नहुने बोर्ड स्रोतले बताएको छ । बोर्डले उक्त प्रतिवेदन अर्थ मन्त्रालयमा पनि बुझाएको छ । बजार सुधारका लागि केही पक्षमा अर्थ मन्त्रालयको सहयोग र समन्वय पनि आवश्यक देखिएकाले बोर्डले प्रतिवेदन बुझाएको हो ।

अर्थ मन्त्रालयबाट सोमबारसम्ममा कुनै प्रतिक्रिया आइनसकेको बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले भने अध्ययनले केहीबाहेक धेरै कम्पनीको सेयर मूल्यको वृद्धि स्वाभाविक देखाएको बताए ।

लकडाउनका कारण अर्थतन्त्रका अन्य क्षेत्र ठप्प भएको, अनलाइनबाटै कारोबार गर्न सकिने, ब्याजदर घटेको, रेमिट्यान्स बढेकोलगायत कारण सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको उनले दाबी गरे । बढ्दो बजारमा अनुशासनको अभाव भने देखिएको उनले स्वीकार गरे । ‘बजार प्रुडेन्सियल रूपमा चल्नुपर्ने हो । त्यो हुन सकेन, बिस्तारै बजारले अनुशासन गुमाउँदै गरेको देखिन्छ,’ उनले भने, ‘बजार अस्थिर बन्यो ।’

अहिले लगानीकर्ताले वित्तीय अवस्था नराम्रो भएका कम्पनीमा पनि अन्धाधुन्ध लगानी गरेको देखिएको र ती कम्पनीमा लगानीकर्ताको वित्तीय नोक्सानी हुने जोखिम उच्च रहेको ढुंगानाले बताए । ‘सेयर मूल्य सधैंभरि बढ्दैन । राम्रा कम्पनीको मूल्य राम्रो नै हुन्छ । तर नराम्रा कम्पनीको मूल्य कसैले बढाएका रहेछन् भने कुनै दिन घटेर वास्तविक धरातलमा आउँछ,’ उनले भने, ‘यो कुरा लगानीकर्ताले बझ्नुपर्छ ।’

कम्पनीको अवस्था नबुझेरै लगानी गर्नेहरू अहिले जोखिममा रहेको उनले बताए । ‘सबै पक्षबाट अवस्था राम्रो नभएका केही सूचीकृत कम्पनीको सेयर लगानीकर्ताले खरिद गरिरहेका छन् । लगानीकर्ताले किन त्यसो गरिरहेका छन् भनेर पत्ता लगाउनु जरुरी छ,’ अध्यक्ष ढुंगानाले भने । ‘बोर्डको निर्देशनमा नेप्सेले कम्पनीको अवस्था जनाउने सूचक वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ । लगानीकर्ताले त्यो पनि हेरेनन् । लगानीकर्ताको सबैभन्दा ठूलो कमजोरी त्यही भयो,’ उनले भने ।

अहिले बजारमा राम्रा पक्ष धेरै भए पनि कस्ता कम्पनीमा लगानी गर्ने, कस्तामा नगर्ने भन्नेमा लगानीकर्तालाई सुसूचित गराउन नसक्नु नै प्रमुख चुनौती रहेको बोर्डका उपकार्यकारी निर्देशक नवराज अधिकारीले बताए । ‘बोर्डले गरेको बजारसम्बन्धी अध्ययन प्रतिवेदनले पनि यसलाई चुनौतीका रूपमा सुझाएको छ,’ उनले भने ।

अध्ययनअनुसार खास कारण र यथार्थ किसिमका आधार नभएका केही कम्पनीका सेयर मूल्य वृद्धि अत्यधिक बढेको देखिएको छ । ती कम्पनीमा चलखेल नै हो भनेर उल्लेख नगरिए पनि केही कम्पनीका सन्दर्भमा अस्वाभाविक मूल्य वृद्धि भएको अनुमान गर्न सकिन्छ भन्ने निष्कर्ष अध्ययन प्रतिवेदनको रहेको अधिकारीले बताए ।

धितोपत्र बोर्डलाई सबै पक्षबाट बलियो नबनाएसम्म बजारलाई सही ट्र्याकमा ल्याउन अप्ठ्यारो हुने निष्कर्ष पनि प्रतिवेदनमा छ । सोही कारण धितोपत्र बोर्डको क्षमता अभिवृद्धि गरी संरचनात्मक र कानुनी रूपमा सक्षम बनाउन समन्वयकारी भूमिका खेल्न सरकार (अर्थ मन्त्रालय) लाई आग्रह गरिएको पनि उपकार्यकारी निर्देशक अधिकारीले बताए ।

बोर्डले बजारलाई नियन्त्रणमा राख्न नसकेको भन्ने आरोप उनले अस्वीकार गरे । तर बोर्डलाई स्वायत्त र कानुनी रूपमा बलियो बनाउन सरकारलाई आग्रह गर्नुले नियामक निकायको कमजोरी पुष्टि हुने जानकारहरू बताउँछन् ।

‘नेप्सेमा सरकारी स्वामित्व रहेकाले पनि सेबोनले चाहेअनुसार कामकारबाही अघि बढाउन नसकेको अध्ययनको निष्कर्ष छ,’ स्रोतले भन्यो । अध्ययन प्रतिवेदनको सुझावका आधारमा बोर्डले कुन–कुन कम्पनीको सेयर मूल्यमा अस्वाभाविक चलखेल भएको छ वा छैन भनेर अध्ययन गरिरहेको पनि उपकार्यकारी निर्देशक अधिकारीले बताए । ‘अध्ययन अन्तिम चरणमा छ,’ उनले थपे, ‘छिट्टै प्रतिवेदन तयार हुन्छ ।’

कोभिडका कारणले सिर्जना भएको अस्वाभाविक अवस्था र प्रविधिको पहुँचले अपेक्षाभन्दा धेरै गुणा बढी लगानीकर्ता बजारमा प्रवेश गरेकाले माग बढेको र त्यसले समग्र बजार बढाएको स्टक ब्रोकर्स एसोसिएसनका पूर्व अध्यक्ष नरेन्द्रराज सिजापतिले बताए ।

बजार धेरै बढिसकेकाले जोखिम पनि उच्च भएको उनले स्वीकार गरे । ‘अहिले पनि बजारमा केही सीमित ठूला उद्योगपति र पहुँचवालाको प्रभुत्व छ । उनीहरूकै कारण बजार बढिरहेको छ,’ उनले भने, ‘उनीहरूले उचित अवसर खोजिरहेका हुन्छन्, कुनै दिन ती व्यक्ति वा संस्था बजारबाट बाहिरिँदा हल्लाको भरमा बजारमा पसेका धेरै लगानीकर्ताले ठूलो नोक्सान बेहोर्नु पर्नेछ ।’

छोटो समयमा धेरै कमाउने आसमा आधारभूत कुरा नबुझिकनै बजार प्रवेश गरेका लगानीकर्ताको लगानी जोखिममा रहेको उनले बताए । ‘यही अवस्थामा बजार अघि बढिरह्यो भने आगामी ३ देखि ५ वर्षमा ७७ वटै जिल्ला प्रशासन कार्यालयमा सेयर लगानीकर्ता पीडित संघ दर्ता हुने सम्भावना छ,’ उनले भने । नियामक निकायले प्रभावकारी रूपमा नियमन र सुपरिवेक्षण गर्न नसक्दा बजार अनियन्त्रित बन्दै गएको उनले बताए ।

सिजापतिका अनुसार अत्यधिक मानिस हल्ला र लहडमा लागेका छन् । उनीहरू लामो समयसम्म पीडित भएर बस्नुपर्ने अवस्था आउने सम्भावना छ । ‘अहिले हाम्रो बजारमा अत्यधिक जोखिम छ । यहाँ प्रविधि मात्र होइन, व्यवस्थापकीय जोखिम पनि त्यत्तिकै छ,’ उनले थपे, ‘सूचनाको जोखिम त झन् उच्च छ । सूचना प्रमाणीकरण गर्ने संयन्त्र छैन ।’

आन्दोलनको समयमा सडकमा भीडको प्रकृति जस्तो हुन्छ अहिले सेयर बजारको अवस्था पनि त्यस्तै अनियन्त्रित भएको उनले दाबी गरे । ‘सामाजिक सञ्जालमा खुलेआम यो कम्पनीको सेयर किनबेच भनेर प्रचार गरिएको हुन्छ । सर्वसाधारण लगानीकर्ता उनीहरूकै पछि लाग्छन् । यस्ता सूचनाको भरमा लगानी गर्नेहरू डुब्छन्,’ उनले भने, ‘तर नियामक निकाय चुप छन् ।’

आधारभूत र प्राविधिक दुवै रूपमा हेर्दा बजार धेरै जोखिमपूर्ण बन्दै गएको अर्का एक जानकारले बताए । उनले भने, ‘बैंकिङबाहेक सबै उपसमूहमा सूचीकृत कम्पनीहरूको सेयर मूल्य ओभरभ्यालुड (हुनुपर्नेभन्दा बढी) भएको छ । यसमा कुनै शंका छैन ।’ लामो समय समस्याग्रस्त भएर भर्खर सञ्चालनमा आएको र वित्तीय अवस्था कमजोर रहेको एक फाइनान्स कम्पनीको सेयर मूल्य नबिल बैंकको भन्दा धेरै छ । बजारमा यस्ता उदाहरण धेरै हुँदा पनि नियामक निकायले कुनै कदम चाल्न नसक्नु दुर्भाग्य भएको उनले बताए ।

‘बजारमा केही ब्रोकरले लगानीकर्तालाई अनलिमिटेड रूपमा कारोबार अनुमति दिइरहेका छन्,’ उनले भने, ‘लगानीकर्ताले त्यो हेर्नुपर्छ कि पर्दैन ।’ कानुनमा रहेको कमजोरी पत्ता लगाएर केही व्यक्तिले चलखेल गरिरहेका छन् । तर लगानीकर्ता मौन रहेकाले बजारमा विकृति बढेको उनले आरोप लगाए ।

गत असारदेखि चैतसम्म बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा ९१ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो कर्जा करिब ९४ प्रतिशतले बढेको हो । २०७६ असारदेखि चैतसम्ममा बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा ४७ अर्ब ४३ करोड रुपैयाँ प्रवाह गरेका थिए ।

पछिल्ला महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जामध्ये सेयर धितोमा कर्जा (मार्जिन प्रकृतिको) धेरैले बढेको छ । बजारमा जोखिम बढेकाले बैंक तथा वित्तीय संस्थाको कर्जा पनि जोखिममा पर्ने निश्चित छ । तर बैंक तथा वित्तीय संस्थाले आफूहरूको निर्देशनअनुसार नै कर्जा प्रवाह गरेकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको अर्थमन्त्रीका आर्थिक सल्लाहकार एवं राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए ।

‘बैंक तथा वित्तीय संस्थाको लगानी निर्देशित सीमाभित्रै छ,’ उनले भने, ‘बजारको अवस्था र बैंक तथा वित्तीय संस्थाको लगानीबारे राष्ट्र बैंकले सूक्ष्म रूपमा हेरिरहेको छ ।’ सेयर बजार मापक नेप्से परिसूचक बढेसँगै सम्भावित जोखिम न्यूनीकरणका लागि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले केही नीतिगत व्यवस्था परिमार्जन गरेको उनले बताए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७