सशक्त बन्दै एमाले एकता, देउवा संशकित


१ असार २०७८, मंगलवार
deuwa

काठमाडौं, १ असार । नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद चर्किंदै फुटको संघारमा पुगेको भए पनि संस्थापन पक्ष र असन्तुष्ट पक्ष दुवै संयमित हुन पुग्दा पार्टी एकजुट हुने संकेत देखिएको छ । पछिल्ला दिनमा दुवै पक्षका शीर्ष तथा दोस्रो तहका नेताबीच भइरहेको सघन छलफल र वार्ताले एमाले एकतालाई सशक्त बनाउँदै लगिरहेको नेताहरूले बताएका छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र असन्तुष्ट माधवकुमार नेपाल गरी दुवै पक्ष पार्टीको २ जेठ २०७५ को अवस्थाको संरचनासहित स्थायी कमिटी बैठक बसाउन सहमत देखिएका छन् । स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमार्फत पार्टीमा देखिएको विवाद समाधान गर्दै एकता कायम गर्नुपर्नेमा दुवै पक्षका अधिकांश नेता सहमत भएकाले पार्टी अब एकजुट हुने दाबी युवा नेताहरूले गरेका छन् ।

दुवै पक्ष र अर्का नेता वामदेव गौतमलगायतको सहमतिमा छिट्टै स्थायी कमिटीको बैठक बोलाएर सहमतिको खाका कोर्ने तयारी गरिएको एमाले उच्च स्रोतले जानकारी दिएको छ । एमाले स्रोतका अनुसार २ जेठकै संरचनाअनुसार स्थायी कमिटीको बैठक बोलाउने र विवादित अन्य विषयमा बैठकबाटै समाधान खोज्ने सहमतिनजिक ओली, नेपाल र गौतम पुगेका छन् ।

तीनै समूह २ जेठमा फर्किन सहमत भएपछि बैठक मिति तोकेर बोलाउने विषयमा आन्तरिक गृहकार्य भइरहेको हो । पछिल्ला दिनमा दुवै पक्षका नेताहरू आपसी आरोप प्रत्यारोप र वादविवादमा उत्रिएका छैनन् । साथै प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा समेत दुवै पक्षका एमाले नेता एकजुट भई केन्द्रमा पार्टी मिलाउन दबाब समेत दिएका छन् ।

प्रदेशको एकताले केन्द्रमा शीर्ष नेतृत्वलाई पार्टी एकजुट राख्न दबाब परेको छ । ‘सर्वोच्च अदालतको निर्णयले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि अध्यक्ष ओली २ जेठमा फर्किन तयार भएका थिए । त्यसो त अध्यक्ष ओलीले त्यसअघि नै आफूहरू २ जेठमा फर्कन तयार रहेको सन्देशसहित ६ बुँदे एकता प्रस्ताव अघि सारेका थिए ।

नेपाल समूहको मुख्य माग नै २ जेठमा फर्किने थियो अब सर्वोच्चले समेत बाटो खोलिदिएकाले विवाद गर्नुको अर्थ छैन्,’ एमालेका एक नेताले भने । ‘वामदेवजीले २ जेठकै स्थायी कमिटी बैठक बसेर समस्या समाधानका लागि अपिल समेत गरेकाले तीन वटै समूह सहमति नजिक पुगेका छन्,’ ती नेताले भने । महाधिवेशन आयोजक कमिटीका निर्णय खारेजसँगै पछिल्लो समय एमाले नेतृत्वको सरकार रहेको प्रदेशमा ओली र नेपाल समूह एकजुट हुनुले समेत शीर्ष नेतालाई मिल्न बाध्य बनाएको हो ।

देउवा संशकित
एमाले वरिष्ठ नेता माधव नेपाल भेट्न कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार नेपाल निवास कोटेश्वर पुगेका छन् । सोमबार साँझ उनीहरू नेपाल निवास पुगेर पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका हुन् ।
एमालेमा ओली र नेपाल मिल्ने संकेत पाएका देउवा प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार हुन् । नेपाल समूहका सांसदको समेत प्रस्तावमा प्रधानमन्त्रीका उम्मेदवार बनेका देउवा एमाले एकता भएपछि आफ्नो योजना विफल हुने देखेपछि नेपाललाई भेटन कोटेश्वर पुगेको स्रोतको दाबी छ ।

देउवाले नेता नेपाल समूहले पछिल्लो समय अख्तियार गरेको रणनीतिले गठबन्धन कमजोर हुन सक्ने भन्दै शंका व्यक्त गरेको बताइएको छ । देउवाले नेपालसँग उनको पछिल्लो पोजिसनबारे जिज्ञासा राखेको स्रोतको दाबी छ । एमाले एकजुट भएको खण्डमा आफू प्रधानमन्त्री बन्ने सम्भावना सकिने भन्दै देउवा सशंकित देखिएको स्रोतले जानकारी दियो । तर, नेपाल र देउवाबीच केके कुराकानी भयो खुलाइएको छैन । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७