निर्वाचन आयोगविरुद्ध उपेन्द्र अदालत जाने


१ असार २०७८, मंगलवार
Upendra Yadav

काठमाडौं, १ असार । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगको आइतबारको निर्णयविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने घोषणा गरेको छ । महन्थ ठाकुर पक्षले भने आयोग निर्णयलाई स्वागत गरेको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले आयोगको निर्णयविरुद्ध अदालत जाने तयारी भएको बताए । ‘आयोगको निर्णयविरुद्ध अदालत जाने तयारी हो । यसबारेमा भोलि (मंगलबार) बस्ने बैठकमा छलफल हुन्छ’, उनले भने । यादव पक्षका नेता तथा जसपा कार्यकारणी समिति सदस्य रामसहाय यादवले आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने बताए ।

जसपाका बहुमत कार्यकारिणी समिति सदस्यको हस्ताक्षर जुटाएर बुझाउँदा पनि आयोगले सरकारको प्रभावमा परी निर्णय गरेको यादव पक्षको भनाइ छ । आयोगले आइतबार जसपाको ठाकुर र यादव दुवै पक्षले एकअर्कालाई पार्टीबाट गरेको निष्कासन खारेज गर्ने निर्णय गरेको थियो । आयोगले जसपामा दुई अध्यक्ष रहने गरी साबिककै पदाधिकारीलाई मान्यता दिएको छ ।

ठाकुर पक्षका नेताहरूले निर्वाचन आयोगको निर्णयलाई स्वागत गरेका छन् । आयोगको निर्णय सकारात्मक र स्वागतयोग्य भएको ठाकुर पक्षका नेता विमल श्रीवास्तवले बताए । ‘आयोगको निर्णयले पार्टीलाई एकजुट बनाएको छ । निर्णय स्वागत योग्य छ’, उनले भने ।

ठाकुर निकट नेता डा. सुरेन्द्र झाले जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पार्टीभित्र बहुमत र अल्पमतको खेलमा लागेको भन्दै आयोगको निर्णयबाट त्यस्तो खेलको अन्त्य भएको बताए । ‘अब उपेन्द्रजीले गल्ती महसुस गरी आफूलाई सच्याउनु पछू । त्यसपछि पार्टी एक हुन्छ’, उनले भने ।

यसैबीच यादव पक्षले जसपाबाट सरकारमा सहभागी भएका ९ जना मन्त्रीलाई सोमबार सात दिने स्पष्टीकरण सोधेको छ । यादवले सोमबार सरकारमा सहभागी शरत्सिंह भण्डारी, राजकिशोर यादव, अनिल झा, विमल श्रीवास्तव, उमाशंकर अरगरैया, इकबाल मिया, चन्दा चौधरी, रेणुका गुरुङ र चन्द्रकान्त चौधरीलाई स्पष्टीकरण सोधेका हुन् । स्पष्टीकरण चित्त बुझ्दो नभए पार्टीबाट निकाल्ने उनले जनाएका छन् ।

यादव पक्षले यसअघि नै सरकारमा सहभागी दुई मन्त्री राजेन्द्र महतो र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निकालेको थियो । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७