पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, धेरै नदी–खोलामा बाढी आउन सक्ने


१ असार २०७८, मंगलवार
badhi seti river

काठमाडौं, १ असार । नेपालमा मनसुन देशभर सक्रिय बनेको छ । आज (मंगलबार) देशका धेरै स्थानमा पानी पर्ने र पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अहिले (मंगलबार बिहान ६ बजे) भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । यस्तै प्रदेश–२ का थोरै स्थानमा ममेघगर्जन, चट्टयाङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो पनि देशका धेरै स्थानमा मेघगर्जन, चट्टयाङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । प्रदेश–२, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षासमेत हुने सम्भावना छ ।

यस्तै राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बिहीबारसम्मै वर्षाको सम्भावना छ । धेरै स्थानमा हल्कादेखि मध्यमसम्म र विभिन्न प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना छ । महाशाखाले दैनिक तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ भने २४ घण्टाका लागि अपनाउनु पर्ने चेतावनी पनि जारी गर्छ ।

आज बिहान ६ बजे जारी आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शमा भनिएको छ ः देशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश–२, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

धेरै नदी तथा खोलामा बाढी : तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह
हिजोदेखिको लगातारको पानीले देशका विभिन्न नदी र खोलामा बाढी आएको छ । लगातारको पानीले केही नदीहरुमा पानीको बहाव उल्लेख्य बढेको छ । नारायणी नदीमा पानीको बहाव बढ्दा कास्कीको लुम्ले र चितवनको चर्खरेमा जोखिम बढेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै, गण्डकी नदीमा पानीको बहाव बढ्दा म्याग्दीको घोरेपानी तथा नवलपरासीको अरुण नदी र आसपासका क्षेत्रमा जोखिम बढेको छ । यी नदीमा पानीको सतह उच्च भएकाले खतराको सङ्केत दिइएको छ ।

कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी जलाधार लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको चुरे र तराई भइ बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्नसक्ने अनुमान गरिएको छ । पर्सि बिहीवारसम्म यी नदीहरुका तटीय क्षेत्रहरुमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

गएको जेठ २८ गते मनसुन भित्रिएसँगै देशभर लगातारजसो पानी परिरहेको छ । यो हप्ता मनसुन सक्रिय भइ देशभर पानी पर्ने हुँदा बाढी र पहिरोको जोखिम रहेकाले सचेत रहन विभागले आग्रह गरेको छ । आज पनि देशका धेरै ठाउँहरुमा पानी पर्ने सम्भावना रहेको छ । प्रदेश–२, वाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका केही ठाउँहरुमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । यी प्रदेशमा पर्ने नदीमा बाढी पहिरो आउनसक्ने हुँदा सतर्कता अपनाउन विभागको अनुरोध छ ।

Flood Bulletin 15June

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७