कर्णालीमा एमाले संसदीय दलको बैठक : नेपाल पक्षका तीन मन्त्री अनुपस्थित

शाही नेतृत्वको सरकार ढाल्ने प्रयासमा ओली पक्ष


१ असार २०७८, मंगलवार
UML karnali

सुर्खेत, १ असार । नेकपा एमालेको कर्णाली प्रदेशसभा संसदीय दलको बैठकमा हृवीप उल्लंघनको आरोपमा कारबाहीमा परेका नेता प्रकाश ज्वाला पनि सहभागी भएका छन् ।

पार्टीको निर्देशन अवज्ञा गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार जना सांसदमध्ये ज्वाला मंगलबारको संसदीय दलमा सहभागी भएका हुन् । अरु तीन जना सांसद अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही भने बैठकमा सहभागी भएनन् ।

पार्टी निर्देशन विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि नेकपा एमाले संसदीय दलको सिफारिसमा चार सांसदलाई नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिले पार्टीबाट निष्कासन गरेपछि उनीहरु सांसद पदबाट पनि पदमुक्त भएका थिए । तर सर्वोच्च अदालतले ती सांसदहरुलाई एमालेको दशौं महाधिवेशन आयोजक समितिले निष्कासन गर्न नसक्ने आदेश दिएपछि उनीहरु सांसद पदमा पुनर्बहाली भएका थिए ।

पुनर्बहाली भए पनि हाल मन्त्रिपरिषदमा रहेका थापा, बुढा र शाही भने एमाले संसदीय दलको बैठकमा सहभागी नभएका हुन् । केही दिनअघि प्रदेशसभामा बोल्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले पुनर्बहाली भएका सांसदले एमालेको निर्देशन मान्नुपर्ने बताएका थिए ।
नीति तथा कार्यक्रमलाई असफल बनाएर महेन्द्रबहादुर शाहीको सरकार ढाल्ने प्रयासमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको तयारी छ । सोही आधारमा रणनीति तय गर्न बैठक बसिरहेको हो ।

उता नेपाल पक्षका सांसदहरुले तत्काल शाहीको विपक्षमा नजाने अडानमै छन् । प्रदेश सभामा आज २ बजेदेखि नीति तथा कार्यक्रम र त्यसलगत्तै बजेट ल्याउने कार्यक्रम छ ।

‘हामी आफैले ल्याएको नीति तथा कार्यक्रम फेल गर्ने भन्ने हुँदैन, हामी पास गरेर बजेट पनि पास गर्छौ’, मन्त्री अम्मरबहादुर थापाले भने, ‘कार्यक्रम सकेपछि के गर्ने अनि पार्टीमा छलफल गरौँला ।’ उनका अनुसार सरकारमा रहेका तीनै जनाले नीति तथा कार्यक्रम पास गर्ने पक्षमा मत दिने प्रष्ट पारे। हामी सरकारमा छौँ, सबैले पक्षमा मत दिन्छौं’, थापाले थपे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७