विपत्तिमा परेकाको उद्धार र राहतमा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन


२ असार २०७८, बुधबार
Prachanda 2 scaled

काठमाडौं, २ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगातारको बर्षासँगै देशका विभिन्न भागहरुमा बाढी र पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै महाविपतीमा परेकालाई राहत र उद्धारमा लाग्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बुधबार विज्ञप्ति जारी गर्दै प्रचण्डले राहत र उद्धार कार्यमा जुटिरहेका सुरक्षाकर्मी, समाजसेवी र अन्य स्वयंसेवीलाई धन्यवाद दिए । उनले हरेक वर्ष वर्षायाममा तराई मधेस डुब्ने र पहाडी भू–भागमा पहिरो जाने समस्याको दीर्घकालिन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन सरकारसँग विशेष आग्रह गरेका छन् ।

बाढी र पहिरोमा परी निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरे । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बाढी र पहिरोमा परी हराइरहेकाहरुको यथाशीघ्र खोजी गर्न सरकारसँग आग्रह गरे ।

मौसमविद्हरुको पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरुको अनुभव समेतको वेवास्ता गर्ने सरकारी रबैयाका कारण धनजनको यति ठूलो क्षति भएको उनको ठहर छ ।

बाढी–पहिरोले सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न भागहरुमा धनजनको ठूलो क्षति भएको छ भने कोशी, नारायणी, सेती, कमला, तिनाउ, कर्णाली, महाकाली लगायतका नदीहरुमा पानीको बहाव उच्च भई बस्तीहरु डुब्ने खतरा पैदा भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७