कति टिक्ला चीन र रुसबीचको ‘अटुट’ मित्रता ?


२ असार २०७८, बुधबार
e72ba54f91a3a78ffbbfa5342b7aaae1 w1000 h500 cp

काठमाडौं, २ असार । जेनेभामा अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीचको शिखर वार्ताअघि दुवै पक्षले आफूलाई शक्तिशाली मुलुकका रुपमा उभ्याउने कोसिस गरेका छन् ।

बाइडेनले जी ७ मुलुक र नेटोको बैठक गरेर आफूलाई पश्चिमा गठबन्धनको बलियो समर्थन रहेको सन्देश दिए । ती बैठकमा खासगरी चीन र रुसकै विषयले प्रमुखता पाए । अर्कोतिर पुटिनले चीनसँग आफ्नो सम्बन्ध अटुट रहेको बताएका छन् ।

‘मस्को र बेइजिङबीचको सम्बन्ध अभूतपूर्व रुपमा उच्च तहमा छ,’ पुटिनले अमेरिकी टेलिभिजन एनबीसीसँगको अन्तर्वार्तामा भनेका छन् । आफूले चीनलाई खतरा नमान्ने उनको भनाइ थियो ।

‘चीन एक मित्र राष्ट्र हो । अमेरिकाले जस्तो उसले हामीलाई शत्रु घोषणा गरेको छैन,’ उनले भने । त्यसको प्रतिक्रियामा मंगलबार चीनले द्विपक्षीय सम्बन्धको विस्तार असीमित रहेको बताएको छ । ‘चीन र रुस हिमाल जसरी एक छन् । हाम्रो मित्रता अटुट छ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिच्यनले भने । पश्चिमा मुलुकहरुले एक्ल्याउने प्रयास गरिरहँदा चीन र रुस पछिल्ला वर्षहरुमा एकअर्काकाको निकट हुँदै गएका छन् ।

सन् २०१४ मा क्रिमिया टुक्र्याएपछि रुसमाथि पश्चिमले नाकाबन्दी लगायो । त्यसपछिको आर्थिक समस्या समाधानका लागि विश्वको दोस्रो ठूलो अर्थतन्त्रसँग नजिक हुनु रुसका लागि स्वाभाविक थियो । अर्कोतिर अमेरिकासँग हरेक क्षेत्रमा तनाब बढिरहँदा उत्तरी छिमेकीसँग राम्रो सम्बन्ध कायम गर्नु चीनका लागि पनि आवश्यक थियो ।

चीन र रुसको रणनीतिक साझेदारीको केन्द्रमा आर्थिक सम्बन्ध छ । सन् २०१८ मा द्विपक्षीय व्यापार १०० अर्ब डलर नाघेको थियो । जसलाई २०२४ सम्म दोब्बर पार्ने लक्ष्य राखिएको छ । उर्जामा पनि उनीहरुबीच साझेदारी छ । चीनले रुसबाट ४०० अर्ब डलरको प्राकृतिक ग्यास किन्ने र चीनका विभिन्न स्थानमा संयुक्त आणविक भट्टी निर्माण गर्ने सम्झौता छ ।

मस्को बेइजिङको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता पनि हो । २०१४ देखि २०१८ को बीचमा चीनले किनेका हतियारमध्ये ७० प्रतिशत रुसबाटै प्राप्त गरेको थियो । कूटनीतिक क्षेत्रमा पनि बेइजिङ र मस्को एकै स्थानमा उभिँदै आएका छन् । २०१९ को रुस भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले पुटिनलाई ‘सबैभन्दा मिल्ने साथी’ भनेका थिए ।

बाइडेन सत्तामा आएपछि रुस र चीन एकै ठाउँमा उभिनुपर्ने आवश्यकता झनै बढ्दै गएको छ । किनभने विश्व मञ्चमा अमेरिका यी दुई मुलुकलाई एक्ल्याउने दाउमा छ । अमेरिकाले उनीहरुलाई बारम्बार विश्व व्यवस्थाका लागि खतराको रुपमा प्रस्तुत गर्ने गरेको छ । जी ७ र नेटोको शिखर बैठक दुवैमा अमेरिकाले यही प्रयास गरेको थियो । यसको प्रतिक्रियास्वरुप रुस र चीनले पनि एकीकृत अडान व्यक्त गरेका छन् ।

‘चीन र रुसको बीचमा दरार पैदा गर्न प्रयास गर्नेहरुलाई हामीले भन्नैपर्ने हुन्छ– त्यस्तो प्रयास असफल हुन अभिशप्त छ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओले भने ।

एकताको अभूतपूर्व प्रदर्शन भइरहे पनि चीन र रुसबीच फाटो ल्याउनसक्ने अनेकौँ मुद्दाहरु छन् । व्यापार असन्तुलित छ । रुसका लागि चीन सबैभन्दा ठूलो व्यापारिक साझेदार भए पनि चीनका लागि रुस सानो साझेदार हो । रुसले प्रायः कच्चा पदार्थ निर्यात गरेर चीनबाट तयारी वस्तु किन्ने गर्छ ।

उनीहरुबीच भूराजनीतिक चासो पनि छ । चीनले बेल्ट एन्ड रोड इनिसियटिभमार्फत मध्य एसियामा आफ्नो प्रभाव विस्तार गरेको छ । त्यो पहिले रुसको प्रभाव क्षेत्र थियो । १९५० को दशकमा मस्को र बेइजिङबीचको सम्बन्ध तिक्त बनेको थियो । त्यसपछि वैचारिक रुपमा पनि उनीहरु टाढिएका थिए । चीन र रुसको अहिलेको साझेदारी भूराजनीति र आर्थिक स्वार्थको मेलबाट प्रेरित छ । तर, साझा विचारधारा र औपचारिक सैन्य गठबन्धन नहुँदा उनीहरुको यो मित्रता कति लामो समय जान्छ, यसै भन्न सकिन्न । सीएनएन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७