सुरुवाती मनसुनको बाढीले ७ को मृत्यु, २७ बेपत्ता


३ असार २०७८, बिहीबार
sindhupalchok

काठमाडौं, ३ असार । मनसुन सुरु हुना साथ आएको बाढीपहिरोमा परी देशभर सात जनाको ज्यान गएको छ भने २७ जना बेपत्ता छन् । दर्जनौं घर बाढीले बगाउँदा हजारौँ बासिन्दा विस्थापित भएका छन् ।

बाढीले सिन्धुपाल्चोकमा दुई र बाजुरा, पाल्पा, सप्तरी, कास्की, डोटीमा एक–एक जनाको मृत्यु भएको छ । मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोेकमा २० जना बेपत्ता छन् । मेलम्ची र हेलम्बु क्षेत्रका करिब एक हजार बासिन्दा बाढीले विस्थापित भएका छन् ।

यता उद्धारको तयारी पनि सँगसँगै अघि बढेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकारी एवं सुरक्षाकर्मी विपत्को जोखिमबाट जनतालाई बचाउने ‘देवदूत’ बनेका छन् । विपत् क्षेत्रमा पठाउन नेपाल प्रहरीसँग करिब आठ हजार, सशस्त्र प्रहरीसँग एक हजार पाँच सय र नेपाली सेनासँग एक हजार दुई सयजना विशेषज्ञ छन् । आफ्नो ज्यानको बाजी थापेर उनीहरू उद्धारमा खटेका छन् ।

मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन भारी वर्षा हुने जनाएकाले नदी आसपासका क्षेत्रमा पानीको बहाव बढ्ने, पहिरो र डुबानसमेत हुने खतरा कायमै छ । भौगर्भिक दृष्टिले कतिपय स्थानहरू पहिरोको उच्च जोखिममा रहेकाले त्यस्ता स्थानमा बढी सतर्कता अपनाउनुपर्ने र सुरक्षित स्थलतर्फ स्थानान्तरण गर्नुपर्ने अवस्था छ । यिनै प्राकृतिक जोखिमसँग लड्न आवश्यक उपकरणसहित हाई अलर्टमा छन्, सुरक्षाकर्मी । विशेषज्ञसहित सुरक्षाकर्मीको टोली जोखिमपूर्ण क्षेत्रमा पुगेर रातदिन काम गरेका छन् । हरेक प्राकृतिक विपत्तिमा उनीहरू पीडितकहाँ पुगेका हुन्छन् ।

सम्भावित विपत्बाट पीडितलाई उद्धार गर्न तीन वटै सुरक्षा अंगलाई हाइअलर्ट रहन निर्देशन गरेको छ । निर्देशनअनुसार ७७ वटै जिल्लामा तीनवटै सुरक्षा अंगका सुरक्षाकर्मी तयारी अवस्थामा रहेका छन् । सरकारले स्थानीय तह, सम्बन्धित जिल्ला अधिकारी, सामाजिक संघसंस्थालाई तयारी अवस्थामा रहन निर्देशन गरेको छ । गृह मन्त्रालयको समन्वयमा सुरक्षाकर्मी परिचालन भएका छन् । सामाजिक संस्था परिचालन तथा उद्धारका बाँकी काम भने गृहअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा भइरहेको छ ।

गृहका सूचना अधिकारी खुमाकान्त आचार्यले विपत् न्यूनीकरण र उद्धारमा खटिन मातहतका सबै सुरक्षा अंगलाई अलर्टमा रहन निर्देशन भएको बताए । उनले भने, ‘बाढी–पहिरोबाट हुने सम्भावित क्षति रोक्न सरकार सक्रिय छ । उद्धारका लागि हाइअलर्टमा रहन मातहतका सबै सुरक्षा निकायलाई निर्देशन गइसकेको छ । सम्बन्धित सिडिओ कार्यालयलाई पनि अलर्टमा रहन र सामाजिक संघसंस्था, स्थानीय तहलाई परिचालन गर्न भनिएको छ ।’

नेपाल प्रहरीले ७७ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयलाई अलर्ट रहन भनेको छ । पीडितको उद्धारमा लाग्न, राहत सामग्री वितरणमा सघाउन निर्देशन छ । तराई क्षेत्रमा हुन सक्ने प्रकोप न्यूनीकरण गर्न र उद्धारका लागि मोटरबोट, रबरबोटलगायत सामग्री जिल्लामा पठाइसकिएको छ । नेपाल प्रहरीले यसका लागि विशेषगरी मातहतको प्रदेश प्रहरी कार्यालयमा जिम्मेवार बन्न निर्देशन गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले आवश्यक उपकरणसहित नेपाल प्रहरीको टोली विपत् क्षेत्रमा खटिएको बताए । ‘स्थानीय तहको सानो इकाइसम्म पुगेको नेपाल सरकारको सुरक्षा संरचना नेपाल प्रहरी हो । त्यसो हुँदा सानोभन्दा सानो विपत्को घटनामा पनि प्रहरी खटिनुपर्ने अवस्था छ । यसका लागि हामीसँग करिब आठ हजारको संख्यामा विपत्मा खटिने डेडिकेटेड टिम छ । प्रत्येक टोलीलाई आवश्यकताअनुसार प्रदेश, जिल्ला र तल्लो युनिटसम्म खटाएका छौँ । सबैलाई अलर्ट रहन हामीले भनेका छौँ,’ प्रवक्ता कुँवरले भने, ‘यसरी खटिएका टोलीमा कम्तीमा प्रदेश तहमा एक सय २५ र जिल्ला तहमा ३० जनाको टोली हुन्छ । सबै डेडिकेटेड टिम हो । उद्धारका लागि विभिन्न उपकरण पनि आवश्यक पर्छ । त्यो पनि उपलब्ध गराएका छौँ ।’

उनले सहकार्य गरेर आफूहरूले विपत् क्षेत्रमा काम गरेको बताए । ‘उद्धारमा नेपाल प्रहरीको मात्रै जनशक्तिले भ्याउँदैन । त्यसो हुँदा थप सहयोगका लागि नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तह र विभिन्न संघसंस्थासँग पनि सहकार्य गर्नुपर्ने हुन्छ । यसका लागि हामीले सबै तयारी गरेका छौँ,’ प्रवक्ता कुँवरले भने ।

गृहका अनुसार सशस्त्र प्रहरीले पनि मातहतका ७७ वटै जिल्लाका गुल्मलाई हाइअलर्टमा रहन निर्देशन दिएको छ । उद्धारका लागि तयार विशेषज्ञ टोलीलाई पनि अलर्टमा रहन भनेको छ । सशस्त्रमा पनि त्यस्ता विशेषज्ञ टोली एक हजार पाँच सयको संख्यामा छन् । बाढीबाट उद्धार गर्न मोटर तथा रबरबोट तराईका जिल्लामा पठाइसकेको छ ।

नेपाली सेनाका अनुसार सम्भावित क्षति रोक्न र प्रकोपमा परेकालाई उद्धार गर्न सबै पृतनामा हेलिकोप्टर स्ट्यान्डबाई राखिएका छन् । मतहतका पृतना, गुल्म, गणमा तालिम प्राप्त सुरक्षाकर्मी पठाइसकिएको छ । उद्धारका लागि मात्रै कुल जनशक्तिको एकतिहाइ सुरक्षाकर्मीलाई अलर्ट रहन भनिएको छ । ती सबै जनशक्ति जुनसुकै वेला जहाँ पनि खटिने सक्ने गरी तयारी अवस्थामा राखिएको सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए ।

‘हामीले बाढी–पहिरोको प्रकोप हुन सक्ने ठाउँ पहिचान गरेका छौँ । त्यस्ता क्षेत्रको म्यापिङ नै छ । सोहीअनुसार जनशक्ति परिचालन गरेका छौँ । सम्भावित प्रकोपबाट उद्धार गर्ने उद्देश्यले ७७ वटै जिल्लामा सुरक्षाकर्मी पठाइसकेका छौँ । हेलिकोप्टर स्ट्यान्डबाई छन् । हाम्रो एकतिहाइ जनशक्ति यस कार्यमा खटिने गरी तयारी गरेका छौँ,’ सैनिक प्रवक्ता पौडेलले भने ।

सेनाका अनुसार तराई क्षेत्रमा बाढीको प्रकोप धेरै हुने भएकाले मोटरबोट, रबरबोटलगायका उद्धार उपकरण तयारी अवस्थामा राखिएका छन् । त्यसबाहेक उद्धारका लागि तयार विशेषज्ञ टोेलीलाई पनि आवश्यकताअनुसार सबै क्षेत्रमा परिचालन गरिएको छ । यसका कार्यमा स्थानीय तह, अन्य सुरक्षाकर्मी, सामाजिक संघसंस्था पनि परिचालन हुने सैनिक प्रवक्ता पौडेलले जानकारी दिए ।

उनले भने, ‘मोटरबोट तयार छ । रबरबोटलगायत उपकरण पनि तयारी नै छन् । त्यसबाहेक उद्धारका लागि विशेषज्ञ टोली पनि तयार गरेका छौँ । करिब १२ सयको विशेषज्ञ जनशक्ति छ, उनीहरूलाई आवश्यकताअनुसार परिचालन गरिसकिएको छ ।’

मेलम्ची क्षेत्रमा विनाश : आखिर पहिरो कहाँ गयो ?

१. लाङटाङ हिमालसँगैको राष्ट्रिय निकुञ्ज क्षेत्रबाट तीन वटा खोला सुरु हुन्छन्, मेलम्ची, याङ्ग्री र लार्के । काठमाडौंमा मेलम्चीको मात्र पानी आएको छ । याङ्ग्री र लार्केको पानी पनि ल्याउन काम सुरु भएको छ ।

२. मेलम्ची खोला हेलम्बु, नाकोटे, अम्बाथान तिम्बु, तालामाराङ हुँदै मेलम्ची बजार आइपुग्छ ।

३. त्यस्तै लाङटाङ क्षेत्रबाटै सुरु हुने याङ्ग्री खोला बरुवा हुँदै याङ्ग्री दोभानतर्फ आउँछ ।

४. त्यस्तै लाङटाङबाटै आएको लार्के खोला पनि भोताङ हुँदै याङ्ग्री दोभान आइपुग्छ ।

५. याङ्ग्री खोला र लार्के खोला दोभानमा मिसिएपछि इन्द्रावती नदीको नामले चिनिन्छ ।

देशभर जस्तै सिन्धुपाल्चोक क्षेत्रमा पनि शुक्रबारदेखि सुरु भएको वर्षा सुरु भएको हो । मंगलबार पनि मेलम्चीबजारमा सिमसिम पानी परिहरेको थियो, तर माथि लाङटाङ क्षेत्रतर्फ भने ठूलै पानी परिरहेको थियो ।

मेलम्चीबाट इन्द्रावतीतर्फ करिब २२ किलोमिटर माथि रहेको वस्ती याङ्ग्रीमा बाढी आएपछि स्थानीय वासिन्दाको भागाभाग भयो । लार्के खोलाबाट आएको बाढीले याङ्ग्री वस्ती क्षतिग्रस्त बनायो । ज्यान बचाउन सफल त्यहाँका बासिन्दाले मेलम्चीतर्फ फोन गरेर इन्द्रावतीमा बाढी आएको जानकारी गराए ।

मंगलबार साँझ करिब पाँच बजेको थियो । लार्के–याङ्ग्री हुँदै इन्द्रावतीमा बाढी आउँदै छ भन्ने जानकारी पाएपछि मेलम्ची किनारका वासिन्दाहरू माथितर्फ सरे । नभन्दै ६ बजे बाढी आइपुग्यो । ठूलो बाढी देखेर स्थानीयहरू माथिमाथि सर्दैै गए । स्थानीयहरू उकालो लागिरहेका थिए । तर करिब सात बजेतिर मेलम्ची खोलामा पनि बाढी आयो । इन्द्रावतीमा मात्र बाढीको अपेक्षा गरेका सर्वसाधरण मेलम्चीमा पनि बाढी आएपछि झन् त्रसित भए । तर, इन्द्रावतीको डरले माथि सरिसकेकाले मेलम्ची बजारमा मानवीय क्षति हुन पाएन ।

इन्द्रावतीको पानी बजार पसेन । तर मेलम्चीको बाढीले भने बजारमा विध्वंश मच्चायो । बजारका ६० घर डुबे । बजारका मात्रै करिब तीन सय बासिन्दा विस्थापित भएका छन्  । राति भाग्न नपाएका दुई जना मजदुरलाई होटलबाट र एक जना सर्वसाधरणलाई निर्माणाधिन मनमोहन स्मृति भवनबाट सेनाको हेलिकोप्टरले उद्धार गरेको छ ।

करिब दुई दशकअघि मेलम्ची पल्लो भित्तातर्फ गएकोले वल्लो भित्ता बगर भएको थियो । त्यहाँ मेलम्ची नगरपालिकाले खेलकुदका लागि ‘कभर्ड हल’ बनाएको थियो । बाढीले पहिले कभर्ड हललाई पुरै बगाएर लग्यो र त्यहीँबाट बजारतर्फ पस्यो । कभर्ड हलको संरचना केहीबेर पक्की पुलको पोलमा अडियो । त्यसैले पानी झन् झन् माथि बढ्यो, बजार माथिसम्म डुब्यो । राति करिब दुई बजे मेलम्चीको पक्कि पुल पनि बग्यो ।

मेलम्ची बजारनजिकै क्रसरले रात दिन गिटी र बालुवा निकाल्दै आएका छन् । जग नै खनिएका पुलले बाढी थाम्न सकेन । बाढीको यो ताण्डव हेरेर मेलम्चीवासी सारा रात जागा थिए ।

बुधबार बिहानदेखि इन्द्रावतीको बाढी केही घटेको छ । तर, मेलम्चीको बाढी जस्ताको त्यस्तै छ । खासमा नदिमा पानीभन्दा धेरै लेदो र ढुंगा छ । २४ घन्टाभन्दा बढी समयदेखि लगातार लेदो र ढुंगा आउने गरी माथि के भत्किएको हो भन्ने अनुमान गर्न सकिएको छैन । मेलम्ची बजारभन्दा माथि अम्बाथानस्थित खानेपानीको ड्याम पुरै भत्किएको छ । खानेपानी आयोजनाको कुनै पनि संरचना अहिले देख्न सकिदैँन ।

माथि के भएको भनेर बुझ्न हेलिकोप्टरबाट हेलम्बु र पाँच पोखरी–थाङ्पाल गाउँ पालिकाका अध्यक्षहरूसहित सेनाको टोली गएको थियो । टोलीले नाकोतेमा पहिरो देखेको थियो । तर त्योभन्दा माथिबाट पनि लेदोसहितको बाढी आइरहेको टोलीले बताएको छ ।

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार मेलम्चीभन्दा ३५ किलोमिटर माथि काचेतसम्म पुग्दा पनि माथिबाट लेदोसहितको बाढी आइरहेको थियो । त्योभन्दा माथि जान नसिकएको टोलीले बताएको छ । त्यस्तै इन्द्रावतीतर्फ भोताङमा पनि पहिरो गएको स्थानीयहरूको भनाइ छ । यसरी लाङटाङ क्षेत्रमै पहिरो अथवा हिमपहिरो गएकोले मेलम्ची र इन्द्रावती दुवैतर्फ बाढी आएको अनुमान उद्धार टोलीले गरेको छ । थप अवलोकन बिहीबार हुँदैछ ।

मेलम्ची किनाराका सबै बस्ति क्षतिग्रस्त भएका छन् । नदि किरानामा भएको एउटा ट्राउट फर्म बगाउँदा कामदार तथा पाहुना गरी सात जना एकै ठाउँबाट बगेका थिए । समग्रमा २० जनालाई बगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तर खोजि र उद्धार सफल हुन सकेको छैन ।

मेलम्ची वारीपारी र जोड्ने पाँच वटा पुल बगेकोले हेलम्बु र पोखरी–थाङ्पाल गाउँपालिकासँगबो सडकसम्पर्क बिच्छेद भएको छ । त्यहाँ खाद्यान्न, लत्ताकपडा लगायतका राहतका सामग्री पनि पुर्‍याउन सकिएको छैन । त्यसमाथि बाढी लगातार आएकोले सर्वसाधरण त्रसित छन् । अहिले करिब तीन सय मान्छे मेलम्ची बजारमाथि उद्धार शिविरमा छन् । त्यहाँभन्दा माथिका बाढी पीडितको अवस्थाबारे कुनै पनि निकायबाट सम्पर्क स्थापित भएको छैन ।

बाढीपीडित मेलम्चीवासीको स्कुलमा वास : सडकसम्बन्ध विच्छेद भएकोले मेलम्चीपारीका बाढीपीडितको अवस्था अज्ञात
बाढीले सबैभन्दा बढी सिन्धुपाल्चोकमा क्षति पुर्‍याएको छ । मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोेकमा २० जना बेपत्ता छन् । मेलम्ची र हेलम्बु क्षेत्रका करिब एक हजार बासिन्दा बाढीले विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत डिएसपी प्रकाश सापकोटाका अनुसार एकजनालाई नदीले बगाउँदै गरेको देखे पनि प्रहरीले समात्न सकेन । फेला परेका शव पनि सनाखत हुन सकेका छैनन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार हेलम्बु गाउँपालिका– २ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, ६५ वर्षीय टीकामाया खड्का र ४५ वर्षीय ज्ञानेन्द्र कक्षपति, वडा नम्बर ६ का च्याङगा तामाङ, काली तामाङ, वडा नम्बर ३ की साइँली तामाङ, चौतारा साँगाचोकगढी नगरपालिकाका सुरेन्द्र नेपाल, त्रिपुरा सुन्दरी– १ का विमल खत्री, राम थापा, सुवास जिरेल, कमल खत्री, होमराज घिमिरे र रेसमलाल सार्की बेपत्ता छन् ।

त्यस्तै, भारतीय नागरिकहरू कमललोचन महतो, विजय वासुमन्तरी र जिनडाओ वासुमन्तरी तथा चिनियाँ नागरिकहरू सन यु चुवान, यु चि झु र गोङ टियान छियो पनि बेपत्ता छन् । उनीहरू मेलम्ची खानेपानी आयोजनामा काम गर्ने ठेकेदार कम्पनी सिनो हाइड्रोका कर्मचारी हुन् ।

मेलम्ची बजारबाट विस्थापित भएका पाँच सयमध्ये तीन सय स्थानीयलाई सेनाले आफ्नै क्याम्पमा राखेर खान–बस्नको व्यवस्था मिलाएको छ । दुई सय जनालाई मेलम्चीस्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयमा राखिएको छ । त्यस्तै, हेलम्बु क्षेत्रबाट विस्थापित करिब पाँच सयलाई स्थानीयको सहयोगमा सेना, सशस्त्र र नेपाल प्रहरीले खान–बस्नको व्यवस्था प्रबन्ध गरेको छ । जिल्ला प्रशासन कार्यालयले भने मेलम्चीमा ६ सय र हेलम्बुका करिब तीन सय बासिन्दा प्रभावित अनुमान गरेको छ ।

बाढीले पुल बगाउनुका साथै सडक कटान गरेकाले मेलम्ची–हेलम्बु सम्बन्धविच्छेद भएको छ । मंगलबार रातिबाटै विद्युत् आपूर्ति पनि अवरुद्ध भएकाले फोन सम्पर्क पनि हुन सकेको छैन । जसका कारण हेलम्बु क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिको यकिन विवरण अझै आउन नसकेको प्रहरीले जनाएको छ ।

बाढीले तहसनहस गर्न थालेपछि मंगलबार साँझदेखि रातिसम्म नदी आसपासका बासिन्दा ज्यान जोगाउँदै उकालोतर्फ भागाभाग गरेका थिए । मुसलधारे पानी परिरहेकाले अन्धकार रातमा सुरक्षित स्थानतिर जान पनि उनीहरूलाई समस्या भएको थियो ।

हेलम्बु गाउँपालिका– २ गणेशेबगरमा पसल सञ्चालन गरेर बसेकी सुप्रभा गिरी राति ११ बजे दुइटा साना नानीलाई काखी च्यापेर उकालो लागिन् । सँगै उनका पति र वृद्ध सासू–ससुरा पनि थिए । ‘खोला धमिलो भए पनि बाढी र पहिरो सँगै आउँछ भन्ने अनुमान हामीले गरेका थिएनौँ,’ उनले भनिन्, ‘तर, जब साँझ छिप्पिँदै गयो, खोला पनि ठूलो गर्जनसहित बग्न थाल्यो । अनि भागाभाग भयो ।’

गिरी साँझ अबेरसम्म पसलमै थिइज् । पहिरो गएको भनिएको मेलम्चीघ्याङका स्थानीयले फोन गरेर उनलाई ‘बाढी ठूलो छ सुरक्षित रहनू’ भनेपछि परिवारसहित उकालोतर्फ लागेको उनले बताइन् । हेलम्बु, चनौटे र ग्याल्थुम क्षेत्रका स्थानीयमा भागदौड चलेको थियो ।

एक्कासी बाढी आएकाले स्थानीयले घरमा भएको अन्नपात र सरसामान समेत निकाल्न पाएनन् । उनीहरूले झरीमा रुझ्दै भोकैभाकै रात बिताए । हेलम्बुका बस्ती बगाएर ल्याएको बाढीले राति २ बजे मेलम्ची र बाहुनेपाटीको पुल पनि बगायो ।

बाढीले मेलम्चीको पुरानो बजार, पुल बजार, आमा ह्योल्मो यातायातको बसपार्क क्षेत्रमा रहेका करिब ५० घर बगाएको छ । स्थानीय बासिन्दा शालिग्राम दुलालका अनुसार माथिल्लो क्षेत्रका बासिन्दाले ‘ठूलो बाढी आएकाले सुरक्षित रहनू’ भन्ने खबर गरेका कारण पनि मानवीय क्षति धेरै हुनबाट जोगिएको छ । ‘समयमै खबर पाएकाले मेलम्चीका बासिन्दा सुरक्षित स्थानतर्फ भाग्न पाए । मंगलबार साँझ करिब ६ बजेतिर फोन आएलगत्तै मान्छेहरूको भागाभाग भयो,’ उनले भने, ‘कति वेला कुनस्तरको बाढी आउने हो भन्ने अनुमान गर्न नसकेका स्थानीय बासिन्दा खाली हात भागे ।’

सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै स्थानीयले पनि मेलम्ची र हेलम्बु क्षेत्रमा उद्धार कार्य गरिरहेका छन् । दुई सय ५० सुरक्षाकर्मी उद्धारका लागि खटिएका छन् । सेनाको हेलिकोप्टरले मेलम्ची र हेलम्बु क्षेत्रबाट सात जनाको उद्धार गरेको छ ।

बुधबार सभामुख अग्निप्रसाद सापकोटा, स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा र बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल पनि बाढी प्रभावित क्षेत्र पुगेका छन् । प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेल, मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्याल र हेलम्बुका अध्यक्ष निमाग्याल्जेन शेर्पासहितका जनप्रतिनिधि सम्मिलित आपत्कालीन बैठकले उद्धारलाई प्रभावकारी बनाउन सुरक्षाकर्मी परिचालनलाई व्यवस्थित बनाउने निर्णय गरेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७