बाढीपीडित मेलम्चीवासीको स्कुलमा बास

सडकसम्बन्ध विच्छेद भएकोले मेलम्चीपारीका बाढीपीडितको अवस्था अज्ञात


३ असार २०७८, बिहीबार
badi pidit sindhu.jpg .2021 06 17

सिन्धुपाल्चोक, ३ असार । बाढीले सबैभन्दा बढी सिन्धुपाल्चोकमा क्षति पुर्‍याएको छ । मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोेकमा २० जना बेपत्ता छन् । मेलम्ची र हेलम्बु क्षेत्रका करिब एक हजार बासिन्दा बाढीले विस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत डिएसपी प्रकाश सापकोटाका अनुसार एक जनालाई नदीले बगाउँदै गरेको देखे पनि प्रहरीले समात्न सकेन । फेला परेका शव पनि सनाखत हुन सकेका छैनन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार हेलम्बु गाउँपालिका– २ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, ६५ वर्षीय टीकामाया खड्का र ४५ वर्षीय ज्ञानेन्द्र कक्षपति, वडा नम्बर ६ का च्याङगा तामाङ, काली तामाङ, वडा नम्बर ३ की साइँली तामाङ, चौतारा साँगाचोकगढी नगरपालिकाका सुरेन्द्र नेपाल, त्रिपुरा सुन्दरी– १ का विमल खत्री, राम थापा, सुवास जिरेल, कमल खत्री, होमराज घिमिरे र रेसमलाल सार्की बेपत्ता छन् ।

त्यस्तै, भारतीय नागरिकहरू कमललोचन महतो, विजय वासुमन्तरी र जिनडाओ वासुमन्तरी तथा चिनियाँ नागरिकहरू सन यु चुवान, यु चि झु र गोङ टियान छियो पनि बेपत्ता छन् । उनीहरू मेलम्ची खानेपानी आयोजनामा काम गर्ने ठेकेदार कम्पनी सिनो हाइड्रोका कर्मचारी हुन् ।

मेलम्ची बजारबाट विस्थापित भएका पाँच सयमध्ये तीन सय स्थानीयलाई सेनाले आफ्नै क्याम्पमा राखेर खान–बस्नको व्यवस्था मिलाएको छ । दुई सय जनालाई मेलम्चीस्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयमा राखिएको छ । त्यस्तै, हेलम्बु क्षेत्रबाट विस्थापित करिब पाँच सयलाई स्थानीयको सहयोगमा सेना, सशस्त्र र नेपाल प्रहरीले खान–बस्नको व्यवस्था प्रबन्ध गरेको छ । जिल्ला प्रशासन कार्यालयले भने मेलम्चीमा ६ सय र हेलम्बुका करिब तीन सय बासिन्दा प्रभावित अनुमान गरेको छ ।

बाढीले पुल बगाउनुका साथै सडक कटान गरेकाले मेलम्ची–हेलम्बु सम्बन्धविच्छेद भएको छ । मंगलबार रातिबाटै विद्युत् आपूर्ति पनि अवरुद्ध भएकाले फोन सम्पर्क पनि हुन सकेको छैन । जसका कारण हेलम्बु क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिको यकिन विवरण अझै आउन नसकेको प्रहरीले जनाएको छ ।

बाढीले तहसनहस गर्न थालेपछि मंगलबार साँझदेखि रातिसम्म नदी आसपासका बासिन्दा ज्यान जोगाउँदै उकालोतर्फ भागाभाग गरेका थिए । मुसलधारे पानी परिरहेकाले अन्धकार रातमा सुरक्षित स्थानतिर जान पनि उनीहरूलाई समस्या भएको थियो ।

हेलम्बु गाउँपालिका– २ गणेशेबगरमा पसल सञ्चालन गरेर बसेकी सुप्रभा गिरी राति ११ बजे दुइटा साना नानीलाई काखी च्यापेर उकालो लागिन् । सँगै उनका पति र वृद्ध सासू–ससुरा पनि थिए । ‘खोला धमिलो भए पनि बाढी र पहिरो सँगै आउँछ भन्ने अनुमान हामीले गरेका थिएनौँ,’ उनले भनिन्, ‘तर, जब साँझ छिप्पिँदै गयो, खोला पनि ठूलो गर्जनसहित बग्न थाल्यो । अनि भागाभाग भयो ।’

गिरी साँझ अबेरसम्म पसलमै थिइन् । पहिरो गएको भनिएको मेलम्चीघ्याङका स्थानीयले फोन गरेर उनलाई ‘बाढी ठूलो छ सुरक्षित रहनू’ भनेपछि परिवारसहित उकालोतर्फ लागेको उनले बताइन् । हेलम्बु, चनौटे र ग्याल्थुम क्षेत्रका स्थानीयमा भागदौड चलेको थियो ।

एक्कासी बाढी आएकाले स्थानीयले घरमा भएको अन्नपात र सरसामान समेत निकाल्न पाएनन् । उनीहरूले झरीमा रुझ्दै भोकैभाकै रात बिताए । हेलम्बुका बस्ती बगाएर ल्याएको बाढीले राति २ बजे मेलम्ची र बाहुनेपाटीको पुल पनि बगायो ।

बाढीले मेलम्चीको पुरानो बजार, पुल बजार, आमा ह्योल्मो यातायातको बसपार्क क्षेत्रमा रहेका करिब ५० घर बगाएको छ । स्थानीय बासिन्दा शालिग्राम दुलालका अनुसार माथिल्लो क्षेत्रका बासिन्दाले ‘ठूलो बाढी आएकाले सुरक्षित रहनू’ भन्ने खबर गरेका कारण पनि मानवीय क्षति धेरै हुनबाट जोगिएको छ । ‘समयमै खबर पाएकाले मेलम्चीका बासिन्दा सुरक्षित स्थानतर्फ भाग्न पाए । मंगलबार साँझ करिब ६ बजेतिर फोन आएलगत्तै मान्छेहरूको भागाभाग भयो,’ उनले भने, ‘कति वेला कुनस्तरको बाढी आउने हो भन्ने अनुमान गर्न नसकेका स्थानीय बासिन्दा खाली हात भागे ।’

सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै स्थानीयले पनि मेलम्ची र हेलम्बु क्षेत्रमा उद्धार कार्य गरिरहेका छन् । दुई सय ५० सुरक्षाकर्मी उद्धारका लागि खटिएका छन् । सेनाको हेलिकोप्टरले मेलम्ची र हेलम्बु क्षेत्रबाट सातजनाको उद्धार गरेको छ ।

बुधबार सभामुख अग्निप्रसाद सापकोटा, स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा र बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री युवराज दुलाल पनि बाढी प्रभावित क्षेत्र पुगेका छन् । प्रमुख जिल्ला अधिकारी अरुणकुमार पोखरेल, मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्याल र हेलम्बुका अध्यक्ष निमाग्याल्जेन शेर्पासहितका जनप्रतिनिधि सम्मिलित आपत्कालीन बैठकले उद्धारलाई प्रभावकारी बनाउन सुरक्षाकर्मी परिचालनलाई व्यवस्थित बनाउने निर्णय गरेको छ ।

शुक्रबारसम्म मौसम सुधार नहुने

मनसुन देशैभर सक्रिय भई वर्षा भइरहेको र आगामी शुक्रबारसम्म सुधार हुने संकेत नरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बताए । ‘देशैभर पानी परिरहेको छ, मध्यनेपाल केन्द्रित ठूलो वर्षा अन्यत्र पनि सरेको छ,’ उनले भने ।

मंगलबार गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी तथा बागमतीको पश्चिमी भूभागमा धेरै ठूलो पानी परेको थियो भने बुधबार दिउँसो कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीका केही क्षेत्रमा घनघोर वर्षा भएको महाशाखाले जनाएको छ ।

पौडेलका अनुसार देशभर मौसम बदली रहनेछ र अधिकांश स्थानमा पानी पर्नेछ । जसमध्ये सुदूरपश्चिम, लुम्बिनी र बागमती केही क्षेत्रमा ठूलो पानी पर्ने आंकलन गरिएको छ । राति प्रदेश १ का केही क्षेत्रमा पनि ठूलो पानी पर्ने प्रक्षेपण गरिएको छ । शुक्रबार पनि देशका अधिकांश स्थानमा पानी पर्ने र सुदूरपश्चिम, लुम्बिनी र बागमतीका केही क्षेत्रमा ठूलो वर्षा हुनेछ ।

‘न्यूनचापीय रेखा माथि आएकाले वर्षा भएको हो । मनसुन सिजनमा यो वर्षालाई नर्मल नै मान्नुपर्छ,’ पौडेलले भने । नेपालमा २८ जेठमा मनसुन भित्रिएसँगै वर्षा सुरु भएको थियो । त्यसयता काठमाडौं उपत्यकामा पनि हरेक दिन पानी परिरहेको छ ।

अब तराईमा डुबान र बाढी बढ्ने
सरकारले अब तराईका जिल्लामा डुबान र बाढीका घटना बढ्न सक्ने निष्कर्ष निकालेको छ । पछिल्ला दिनमा सिन्धुपाल्चोक, गोरखा, मनाङ, प्युठान, पाल्पा, स्याङ्जा, लमजुङ, अर्घाखाँची, कास्की, जुम्ला, जाजरकोट, डोटी र बाजुरामा बाढीपहिरोका घटना भएको गृह मन्त्रालयले जनाएको छ । पानी पर्ने क्रम रोकिएको छैन, बरु ठूलो वर्षा देशभर विस्तार भइरहेको छ ।

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बुधबार बालुवाटारमा बसेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले तराईमा बाढी र डुबानका घटना बढ्न सक्ने भएकाले सोही रणनीतिअनुसार प्रमुख जिल्ला अधिकारीलाई बन्दोबस्त मिलाउन निर्देशन दिएको छ । उद्धार र राहतका लागि आवश्यक पर्ने सामग्री जिल्लाजिल्ला पुर्‍याउने निर्णय पनि बैठकले गरेको हो । यो वर्ष बाढीपहिरोबाट १८ लाख जनसंख्या प्रभावित हुने आंकलन गरिएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले तत्काल परोपकारी संस्थासहित संयुक्त समन्वयमा पूर्वतयारी, प्रतिकार्य, उद्धार, खोज र पुनस्र्थापनामा जुट्न निर्देशन दिएका थिए । विपतसँग जुध्न स्रोत–साधनमा कुनै कमी हुन नदिइने भन्दै उनले जिल्ला विपत् व्यवस्थापन समितिलाई थप सक्रिय बनाउन निर्देशन दिएका छन् ।

असारको सुरुवातीमै बाढीपहिरोबाट क्षतिग्रस्त निजी घर पुनर्निर्माणका लागि लगत संकलन गरेर प्रक्रिया अगाडि बढाउने निर्णय पनि भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहप्रवक्ता वेदनिधि खनालले बताए ।

गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा रहेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ११ औं बैठक पनि बुधबार नै बसेको छ । बैठकले सिन्धुपाल्चोक, मनाङ, गुल्मी, कास्कीलगायत जिल्लामा बाढीपहिरोबाट क्षतिग्रस्त बनेका घर पुननिर्माण गर्ने निर्णय गरेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७