सडक पहुँच भएको ठाउँमा ३० मिनेटभित्रै उद्धार हुन्छ : सरकार


३ असार २०७८, बिहीबार
griha home

काठमाडौं, ३ असार । सरकारले मनसुन सुरु भएसँगै विपद्बाट हुने घटना न्यूनीकरणका लागि जोखिम क्षेत्रको नक्सा तयार गरी प्रतिकार्य योजना बनाएको छ । प्रतिकार्य योजनामा विपद्बाट प्रभावित हुनेहरूको ३० मिनेटभित्रै उद्धार गर्ने गरी तयारी गरिएको छ ।

गृह मन्त्रालयले बुधबार ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्य योजना २०७८’ पारित गर्दै विपद्बाट हुन सक्ने जोखिम कम गर्नेगरी रणनीति तय गरेको हो । गृहमन्त्री खगराज अधिकारीको नेतृत्वमा रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ११ औं बैठकले विपद्बाट हुन सक्ने क्षति र त्यसलाई रोक्न सरकारी स्तरबाट गरिनुपर्ने कार्यलाई पारित योजनामा राखेको छ ।

जसअनुसार प्रत्येक जिल्लामा सडकको पहुँच भएको ठाउँमा घटना भएको ३० मिनेटभित्र सुरक्षाकर्मीको टोली परिचालन गर्ने निर्णय गरिएको छ । सो कार्यको प्रभावकारी कार्यान्वयनका लागि बैठकले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीनवटै सुरक्षा निकाय सम्मिलित डेडिकेटेड डिजास्टर रेस्पोन्स टिम (डीडीआरटी) समेत गठन गरेको छ ।

यस्तै घटना भएको स्थानबाट प्रभावितलाई अस्थायी बसोबासको प्रबन्ध गरी क्षति पुगेका घरको पुनर्निमाण गरिने योजना प्रतिकार्य योजनामा राखिएको छ । यसैगरी, बाढीको उच्च जोखिम रहेका तराईका जिल्लामा थप मोटरबोट र रबर बोटको व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ । पारित विपद् प्रतिकार्य योजनामा मुख्यगरी पहिरोको वडास्तरीय नक्सा तयार पारी जोखिम न्यूनीकरणका कार्यक्रम समावेश गरिएको छ ।

यस्तै, बाढी र कोभिड तथा पहिरोको र कोभिडको जोखिम पहिचान गरी नक्सा समेत तयार पारिएको छ । मानिसको सुरक्षित अवतरणका लागि खुला स्थानको पहिचान गरी आवश्यक तयारी गरिएको छ । मुलुकका विभिन्न क्षेत्रमा १ सय ५५ वटा खुला स्थान तय गरिएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७