तीन दिनदेखि पहिरोले ठप्प सिद्धार्थ राजमार्ग अझै खुलेन


३ असार २०७८, बिहीबार
pahiro palpa butwal road

पाल्पा, ३ असार । लगातारको भारी बर्षासँगै खसेको पहिरोले तीन दिनदेखि अवरुद्ध पाल्पाको सिद्धार्थ राजमार्ग अझै खुल्न सकेको छैन । पाल्पाकै आर्यभन्ज्याङ–रामपुर सडकमा खसेको पहिरो नहटाउँदा पूर्वबाट सदरमुकाम आवातजावत तीन दिनदेखि अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको गौडेपुल नजिकै अविरल वर्षासँगै खसेको पहिरोले झण्डै ५० मिटर सडक बगाएपछि यातायात सेवा अवरुद्ध भएको छ । तीन दिनदेखि मालवाहक ट्रक, दाङ, बाँके बर्दियाका मजदुर घर लिएर हिँडेका सवारी साधन बीचबाटोमा भोकभोकै बस्नु परेको छ । डाइभर्सनको काम सकिनै लाग्दा पुनः पहिरो खसेको र वर्षा नरोकिएकाले राजमार्ग खुलाउन नसकिएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिए ।

पाल्पाकै रामपुर जाने ६५ किलोमिटर सडकको दर्जन बढी स्थानमा पहिरो खसेको छ भने कालीगण्डकी करिडोरको भोंवरमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अविरल वर्षासँगै कालीगण्डकी नदीमा बहाव बढेपछि धार्मिक तथा पर्यटकीय क्षेत्र रूरू क्षेत्र रिडी पनि जलमग्न भएको छ ।

रूरू क्षेत्रबाट ६ घरपरिवार विस्थापित भएका छन् । यस्तै पर्यटकीय क्षेत्र रानीमहल क्षेत्र पनि डुबानमा परेको छ । यहाँका चार रिसोर्ट र होटेल विस्थापित भएका छन् । यस्तै पाल्पाको अन्नभण्डार माडी फाँट डुबानमा परेको छ । २ हजार रोपनीभन्दा बढी खेतमा बाढी पसेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७