मध्यराति सुनचाँदी पसलमा १० लाख बराबरको लुटपाट, गोली प्रहारबाट पाँच जना घाइते


३ असार २०७८, बिहीबार
lutpat

जनकपुरधाम, ३ असार । महोत्तरीमा गए राति डाकाको समूहले एक सुनचाँदी पसलमा लुटपाट गरी १० लाख बराबरको धनमाल लगेका छन् ।
डाका समूहको आक्रमणबाट पाँच जना घाइते भएका छन् । सम्सी गाउँपालिका–१ पर्साका वीरेन्द्र साहको ज्वेलर्समा गए राति करिब १० जनाको संख्यामा आएका डाकाको समूहले लुटपाटसहित आक्रमण गरेको हो ।

डाकाको गोली प्रहारबाट पसल सञ्चालक ५० वर्षीय वीरेन्द्र साह गम्भीर घाइते भएका छन् । उनको कम्मरमा गोली लागेको छ । जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि उनलाई धरान रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

डाकाहरुको घरेलु हतियार प्रहारबाट साहकी श्रीमती ४५ वर्षीय सुशीलादेवी साह, छोरा २५ वर्षीय शम्भु साह, छोरी २० वर्षीया कञ्चनकुमारी साह र १७ वर्षीय छोरा राजिव साह घाइते भएका छन् ।

उनीहरुको उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ । साहले आफ्नै घरमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका थिए । घरको पछाडिबाट पर्खाल नाघेर पसलभित्र प्रवेश गरेका डाकाहरुले कटुवा पेस्तोलसहित फलामको रड प्रयोग गरेर आक्रमण र लुटपाट गरेका पीडित परिवारले जानकारी दिएका छन् ।

डाकाहरुले २ लाख ३२ हजार मूल्य बराबरको १७२ तोली चाँदी, ४ लाख ६५ हजार मूल्य पर्ने पाँच तोला सुन र नगद २ लाख गरी झण्डै १० लाख रुपैयाँ बराबरको धनमाल लुटेर लगेका जिल्ला प्रहरी कार्यादय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७