मनाङमा तीन दिनदेखि बाढी-पहिराेमा फसेका ३५ जनाको हेलिकप्टरबाट उद्धार

नासो र फु गाउँको लेकमा फसेका करिब सय जनाको उद्धार प्रयास हुँदै


३ असार २०७८, बिहीबार
resque sena

मनाङ, ३ असार । मनाङमा बाढी पहिरोका कारण तीन दिनदेखि फसेका ३५ जनाको आज (बिहीबार) उद्धार गरिएको छ । बाढी पीडितको उद्धार गर्न राहतसहित नेपाली सेनाको हेलिकप्टर मनाङ पुगेको हो । मनाङबाट प्रतिनिधिसभामा निर्वाचित पोल्देन छोपाङ गुरुङसहित उद्धार टोली मनाङ पुगेको हो ।

हेलिकप्टरले मनाङको नासों गाउँपालिका–१, सिरानतालमा फसेका २४ जनालाई तालडाँडामा लगेको छ । सानों गाउँपालिका–५, थोंचेका ११ जनालाई उद्धार गरी चामेमा लगिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिएका छन् । यस्तै नासों गाउँपालिका ६, ताम्राङमा रहेका १६ जनाको उद्धारको प्रयास भइरहेको छ ।

विघटित प्रतिनिधिसभा सांसद पोल्देन छोपाङ गुरुङले चामेमा पानीको अभाव भएपछि निजी हेलिकप्टरमार्फत खानेपानी लगिएको बताए । उनका अनुसार ३ दिनदेखि बाढीका कारण फसेकाहरुको उद्धार गरिरहेको बताए । ‘बाढीका कारण भौगोलिक रुपमै समस्यामा परेकालाई उद्धार गरेका छौं । सुरक्षित ठाउँमा बसेकालाई ठाउँठाउँमा राहत पुर्‍याएका छौं,’ उनले भने । उनका अनुसार उद्धार प्रयास जारी छ ।

मनाङको नार्पाभूमि गाउँपालिकाको फू गाउँको लेकमा ७५ जना फसिरहेका छन् । पोल्देन छोपाङले ल्याएको हेलिकप्टरमार्फत् उनीहरु बस्ने ठाउँ पत्ता लगाइएको र उनीहरुको अवस्था बुझेर हेलिकप्टर फर्केको छ । फू गाउँको नामु लेक समुद्री सतहदेखि करीब ५ हजार मिटर उचाइमा हिमालमुनि उनीहरु रहेको र उद्धार गर्नुपर्ने अवस्था रहेको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले बताए । यस्तै प्रभु हेलिकप्टरले मनाङबाट आफ्ना कर्मचारीलाई उद्धार गरेको छ । राहत लिएर पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङ पनि मनाङ पुगेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७