सरकारमा सहभागी नौं मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने जसपाको निर्णय

लुम्बिनी प्रदेशका चार सांसदलाई स्पष्टीकरण सोधिने


३ असार २०७८, बिहीबार
Upendra Yadav

काठमाडौं, ३ असार । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी नौं जना मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी नौं जनालाई निष्कासन गर्ने निर्णय गरेको हो ।

यसअघि यो समूहले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासन गरेको थियो । यसबाहेक सरकारमा सहभागी बाँकी नेतालाई पनि निष्कासनको निर्णय गरेको हो । बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ ।

मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिंदै आएका चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनीहरुलाई यसअघि पदमुक्त गरिए पनि सर्वोच्च अदालतले पुनर्बहाली गरेको छ । पार्टीभित्रको विवादबारे पुनः निर्वाचन आयोगमा जाने निर्णय पनि जसपाले गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अनुसार वैधानिकता दाबी गर्दै पुनः निवेदन दिने निर्णय बैठकले गरेको हो ।

यसअघि १७ जेठमा ठाकुरसहित नेताहरुलाई गरिएको कारबाहीलाई आयोगले वैधानिकता दिएको छैन । बैठकले बाढी पहिरोमा परेकाहरुको उद्धारमा खटिन कार्यकर्तालाई निर्देशन दिएको छ भने उद्धार र राहत प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७