सिन्धुपाल्चोक बाढी : बेपत्ताको खोजीमा खटिए ३५० सुरक्षाकर्मी


३ असार २०७८, बिहीबार
Melamchi flood 8

सिन्धुपाल्चोक, ३ असार । सिन्धुपाल्चोकको बाढी पहिरोमा परी बेपत्ताको खोजीका लागि ३५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।
अझै तीन विदेशीसहित १७ जना बाढी पहिरोमा परी बेपत्ता रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।

खोजी तथा उद्धारका लागि १३७ जना नेपाली सेना, ७८ जना नेपाल प्रहरी र १३५ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । उनीहरु बाढी पहिरोले ठूलो क्षति गरेको हेलम्बु र मेलम्ची क्षेत्रमा खटिएका छन् ।

नेपाली सेनाको २६ नं बाहिनीपतिको कमाण्डमा सेना खटिएको छ । कालीजंग गणको खोज तथा उद्धार टोली चनौटेमा ३८ जना, गोरख बक्स गण चौताराबाट तिम्बुमा २९ जना, कालीजंग गणको ३४ जनाको टोली मेलम्चीमा र नेपाल आर्मी हेली चनौटे र हेलम्बुमा ७ जनाको टोली खटिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपीको कमाण्डमा ७८ जना प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट २० जना, इप्रका मेलम्चीबाट १५ जना, इलाका प्रहरी कार्यालय हेलम्बुबाट ८ जना, प्रहरी चौकी तालामाराङबाट ५ जना र विपद व्यवस्थापन गुल्म हेटौंडाबाट २५ जनाको टोली खटिएको छ ।

मेलम्ची र हेलम्बुमा सशस्त्र प्रहरीका ५ वटा टोली परिचालन गरिएको छ । १६ नम्बर गण बन्देउबाट एसपीको कमाण्डमा ६१ जना मेलम्चीमा खटिएको छ भने, खानेपानी सुरक्षा वेस मेलम्चीबाट २९ जना र अर्को १५ जनाको टोली मेलम्चीमा परिचालन गरिएको छ । सशस्त्र प्रहरी सईको कमाण्डमा १५-१५ जनाको दुई वटा टोली हेलम्बुमा खटिएको प्रशासनले जनाएको छ ।

बिहीबार दिउँसो ४ बजे सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले दिएको जानकारी अनुसार तीन जनाको मात्रै शव फेला परेको छ । उनीहरु दुई जना चिनियाँ र एक जना भारतीय नागरिक हुन्। चिनियाँ नागरिक गोङ टियान छियो र युचि झु र भारतीय नागरिक कमल लोचन महतोको शव फेला परेको हो । महतोको शव सिन्धुलीको सुनकोशी गाउँपाहिलका ७ कानढुङ्ग्रीस्थित सुनकोशी नदी किनारमा फेला परेको हो। झुको शव सिन्धुलीको मुलकोटस्थित नदी किनारमा भेटिएको हो । छियोको भने घटनास्थलमै बुधबार फेला परेको थियो । तर सनाखत हुन सकेको थिएन ।

दुई भारतीय र एक चिनियाँ नागरिक अझै बेपत्ता छन् । बेपत्ता हुनेमा भारतीय नागरिक विजय बासुमन्तरी, जिनडाओ बासुमन्तरी र चिनियाँ नागरिक सन यु चुवान रहेका छन् । उनीहरु सबै मेलम्ची खानेपानी आयोजनामा कार्यरत थिए । आफ्ना ६ जना कर्मचारी बेपत्ता भएको आयोजनाले जानकारी दिएको सहायक प्रमुख जिल्ला अधिकारी खनालले बताए ।

बेपत्ता भएकाहरूमा हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, ६६ वर्षीया टीकामाया खड्का, ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, हेलम्बु–३ की ५० वर्षीया साइली तामाङ, ६ का ५० वर्षीया च्याङा तामाङ, ४२ वर्षीया काली तामाङ रहेका छन् ।
यस्तै चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय सुरेन्द्र नेपाल, रेसमलाल सार्की र हेमराज घिमिरे बेपत्ता छन्। थप चार जना पनि बेपत्ता भएको सूचना बिहीबार आएको छ ।

हेलम्बु गाउँपालिका १ का ४५ वर्षीय सुनिल तामाङ, ३५ वर्षीय पूर्ण तामाङ, ५० वर्षीय कामी तामाङ र उनकी ७० वर्षीया आमा पनि बेपत्ता भएको जानकारी आएको प्रशासनले जनाएको छ ।

यसअघि बेपत्ता भनिएका १९ वर्षीय बिमल खत्री भन्ने देव खत्री, १७ वर्षीय राम थापा, १६ वर्षीय सुवास जिरेल र १६ वर्षीय कमल खत्री सम्पर्कमा आएका छन् । बाढी पहिरोमा परी एक चिनियाँसहित ५ जना घाइते भएका छन् । ८० जनाको उद्धार गरिएको छ । प्रभावित क्षेत्रका बासिन्दा र सुरक्षाकर्मीलाई सुरक्षित स्थलमा सारिएको छ। हेलम्बुका २५० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

इप्रका हेलम्बु मेगा बैंकको भवनमा सरेको छ । मेलम्चीका तालामाराङका २५ परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको छ । प्रहरीचौकी तालामाराङमा कार्यरतलाई तेर्से माविको होस्टलमा सारिएको छ । सशस्त्र प्रहरीको खानेपानी अस्थायी सुरक्षा पोष्ट बाढीले बगाएपछि गोल्मादेवी माविको भवनमा सारिएको छ । विस्थापितहरुलाई राहत वितरणको काम पनि भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७