मनसुनको शुरुवातमै बाढी–पहिरो : १७ जिल्लामा क्षति, सातको मृत्यु, २५ बेपत्ता

बाढी पहिरोले १२९ घर बगायो


३ असार २०७८, बिहीबार
badhi 1

काठमाडौं, ३ असार । मनसुनको शुरुवातमै देशका विभिन्न स्थानमा बाढी पहिरोका अकल्पनीय घटना हुन थालेका छन् । सिन्धुपाल्चोक, मनाङ, जाजरकोटलगायत १७ जिल्ला गत जेठ २८ पछि आएको बाढी पहिरोले प्रभावित हुन पुगेको छ ।

विज्ञका अनुसार यसपाली अप्रत्यासित रुपमा लेदो र गेगर सहितको बाढी आएको थियो । यसले बढी क्षति पुर्याउन मद्दत गर्यो । मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश क्षेत्रमा बर्षा हुने र केही ठाउँमा अति भारी हुने अनुमान सार्वजनिक गरेको थियो । पूर्व सूचनाका बीच पनि शुरुआती चरणमै मनसुनजन्य घटनाबाट हुने असर न्युनिकरण हुन सकेन । सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा नसोचेको बाढी आउँदा बजार नै तहसनहस हुन पुगेको छ ।

गत जेठ २८ गते मनसुन प्रवेश गरी ३० गते देशैभरी फैलिएसँगै आएको भारी वर्षाका कारण मुलुकका विभिन्न जिल्लामा सात जनाको मृत्यु भएको छ । अन्य २५ जना हराइरहेका छन् । गत वर्ष भेल पहिरोका कारण ठूलो जनधनको क्षति बेहोरेको सिन्धुपाल्चोकले यसपाली पनि मनसुनको शुरुवाती समयमै त्यसैगरी प्रभावित हुन पुगेको छ ।

प्राप्त विवरण अनुसार सिन्धुपाल्चोकमा आजसम्म तीन जनाको मृत्यु भएको छ भने बाजुरा, पाल्पा, डोटी र कास्कीमा एक–एक जनको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । सिन्धुपाल्चोकमा मृत्यु भएकामा दुई जना चिनिया नागरिक छन् । एक जनाको शव सिन्धुलीमा भेटिएको जनाइएको छ ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले अहिलेसम्म सिन्धुपाल्चोक १४ जना सम्पर्क विहीन रहेको जानकारी दिए । हराएका १८ मध्ये चार जना सम्पर्कमा आइसकेका छन् । जाजरकोटमा विकट क्षेत्रमा ७ जना हराइरहेका छन् । बाजुरा, प्यूठान, अर्घाखाँची र काभ्रेमा एक–एक जना वेपत्ता छन् ।

सिन्धुपाल्चोकमा यसपाली पनि अप्रत्यासित रुपमा बाढी आएको हो । हेलम्बु गाउँपालिका वडा नं १ नाकुत्तेभन्दा ५०० मिटर माथिबाट पहिरो खसेर मेलम्ची नदी थुनिएको र त्यही फुटेपछि ठूलो दुर्घटना हुन पुगेको सिन्धुपाल्चोक प्रशासनले जनाएको छ । त्यसले हेलम्बु र मेलम्चीको नदी आसपास क्षेत्रमा ठूलो असर पुर्याएको छ । सिन्धुपाल्चोकलगायत प्रभावित जिल्लामा उद्धार र राहत वितरण जारी रहेको जनाइएको छ । अहिलेसम्म सिन्धुपाल्चोकका जोखिम क्षेत्रबाट ७४ जनाको उद्धार गरेर सुरक्षित ठाउँमा राखिएको जनाइएको छ ।

मेलम्ची नगरपालिकामा ६०० जना, हेलम्बु गाउँपालिकामा ३०० बढी प्रभावित भएको जानकारी आएको सहायक प्रमुख जिल्ला अधिकारी खनालले बताए । उनका अनुसार अन्य विवरण संकलन जारी रहेको जनाइएको छ । भौतिक क्षेत्रको विषयमा आजदेखि विवरण सङ्कलन थालिएको छ ।

जाजरकोटमा भएको घटना भने गत जेठ ३१ गते भएको थियो । जिल्ला सदरमुकामबाट निक्कै टाढा तथा चार हजार ८०० मिटरको उचाईमा घटना हुन पुगेकाले विवरण ढिला आएको हो । जिल्लामा सात जना हराइरहेका छन् । घटनास्थलमा प्रहरी टोली पठाइएको तर विस्तृत विवरण आइसकेको छैन ।

कुसे गाउँपालिका ८ जलजला पाटनमा अविरल बर्षा र हावाहुरीले गर्दा सात जना हराइरहेका जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए । उनका अनुसार पाटनमा गाईवस्तु लिन गएका ११ जनामध्ये अन्य चार जना भने सम्पर्कमा आएका छन् । विभिन्न जिल्लामा गरेर १२ जना घाइते भएको र उनीहरुको उपचार जारी रहेको छ । सरकारले उनीहरुको उपचार निःशुल्क गर्ने घोषणा गरिसकेको छ ।

बाढी पहिरोले १२९ घर बगायो

मनसुनपछि मुलुकका विभिन्न क्षेत्रमा वर्षापछि आएको बाढी पहिरोका कारण अहिलेसम्म १२९ घर पूर्ण क्षति भएको राष्ट्रिय आपत्कालिन कार्य सञ्चालन केन्द्रका प्रमुख दिलकुमारी तामाङले जानकारी दिए । उनका अनुसार बाजुरामा दुई, गोरखामा चार, मनाङमा ५९, सिन्धुपाल्चोकमा १६, लमजुङमा १८, अर्घाखाँचीमा १२, र कास्कीमा १८ घर पूर्ण क्षति भएको छ । अझै क्षतिको विवरण थपिने क्रममा रहेको छ । यस्तै विभिन्न जिल्लामा ११४ घर आंशिक क्षति भएको जनाइएको छ ।

उद्धार र राहत वितरण जारी

मनाङको चामे र ताल गाउँ क्षेत्रका ५०० बढी प्रभावितहरुलाई यहाँको सिरनताल लगायत अस्थायी आश्रयस्थलमा लगेर राखिएको छ । यस्तै सिन्धुपाल्चोकको जोखिम क्षेत्रबाट ८० जनालाई उद्धार गरिएको छ । त्यहाँ उद्धारमा नेपाली सेनाको हेलिकप्टर समेत प्रयोग गरिएको थियो । घाइते भएका ६ जनालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट ललितपुरस्थित बिएण्डसी अस्पतालमा ल्याइएको छ ।

सो क्षेत्रमा २५० त्रिपाल, १०० टेन्ट, ५० स्लिपिङ ब्यागलगायत सामान काठमाडौँबाट पठाइएको छ भने जिल्लास्थित विपद् व्यवस्थापन समितिबाट अन्य व्यवस्थापन कार्य जारी रहेको छ । दाङस्थित राप्ती नदीको टापुमा भैसी चराउन गएका बेला फसेका चार जनालाई सकुशल उद्धार गरिएको छ । यस्तै कास्कीको मादी गाउँपालिका १ स्थित विस्थापित १८ परिवारलाई दूधपोखरी माविमा ल्याएर राखिएको आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७