केन्द्रीय बैठकमा प्रश्न– भदौमा महाधिवेशन हुन्छ ? देउवाको जवाफ–अब महाधिवेशन हुन्छ, हुन्छ, हुन्छ


४ असार २०७८, शुक्रबार

काठमाडौं, ४ असार । कांग्रेस सभापति शेरबहादुर देउवाले भदौको महाधिवेशनलाई लिएर उत्पन्न आशंका केन्द्रीय कार्यसमिति बैठकमार्फत मेटाउने कोशिस गरेका छन् । सभापति देउवाले पार्टीको १४औं महाधिवेशन भदौमै गर्नुको विकल्प नभएको स्पष्ट गरेका छन् ।
महाधिवेशनबारे छलफल गर्न बोलाइएको बैठकमा देउवाले भने, ‘अब महाधिवेशनको गर्नुको विकल्प छैन । यसका विकल्पबारे कुरै नगर्नुस् । अब महाधिवेशन हुन्छ, हुन्छ, हुन्छ । बरु कसरी गर्ने ? त्यो भन्नुस् ।’

केन्द्रीय सदस्यहरूले महाधिवेशनका चुनौतीबारे बोल्न खोज्दा अवरोध गर्दै देउवाले भने, ‘महाधिवेशन हुन सक्छ कि सक्दैन भन्ने प्रश्न अब हामीमाझ रहेन । भदौमै कसरी महाधिवेशन गर्ने ? बरु यसमा आफ्ना मत राख्नुस् ।’

देउवाले महाधिवेशनको विकल्पबारे नबोल्न रुलिङ गरेपछि केन्द्रीय सदस्यहरू खुलेर बोलेनन् । तर, भदौमै महाधिवेशन गर्न त्यति सहज नभएको धारणा राखे । कृष्णप्रसाद सिटौलाले महाधिवेशनमा अस्वस्थ प्रतिस्पर्धा र आरोप–प्रत्यारोपमा उत्रिन नहुने धारणा राखे । ‘भदौमै महाधिवेशन गर्नुको विकल्पै छैन, तर चुनौती छन् । महाधिवेशन हाम्रो आन्तरिक प्रतिस्पर्धा मात्रै हो,’ सिटौलाको भनाइ थियो, ‘त्यसैले यसलाई अस्वस्थ र पेचिलो बनाउनु हुँदैन, एकता खोज्नुपर्छ । महाधिवेशनको असर चुनावमा देखिनु हुँदैन ।’

शंकर भण्डारीले महाधिवेशनमा पार्टीका नीति, विचार र सिद्धान्तको पुनर्विचार हुनुपर्ने बताए । ‘महाधिवेशन भनेको नेतृत्व चयन गर्ने मात्रै होइन, पार्टीको नीति, विचार र सैद्धान्तिक पहिचान पनि स्पष्ट गर्नुपर्ने हुन्छ,’ भण्डारीको भनाइ थियो । उनले महासमिति बैठकले दिएको म्यान्डेड महाधिवेशनले टुंगोमा पुर्‍याउनुपर्ने बताए । ‘संघीयतामाथि प्रश्न उठेको छ, यसको पुनर्विचार हुनुपर्छ । अर्को हिन्दू राष्ट्रको विषयलाई हामीले छाड्न मिल्ने अवस्था छैन,’ भण्डारीले भने ।

शिवप्रसाद हुमागाईंले वर्षा, कोरोना र विपत्बीच महाधिवेशन गर्न निकै चुनौतीपूर्ण रहेको बताए । ‘क्रियाशीलको अन्तिम नामावली प्रकाशन नहुँदासम्म अधिवेशनबारे यकिन गर्न सकिन्न,’ उनले भने, ‘फेरि नेतृत्व चयनकै लागि मात्रै महाधिवेशन गर्ने कुरा सोच्नु हुँदैन ।’ गगन थापाले महाधिवेशन संवैधानिक बाध्यता मात्रै नभएको बताए । ‘महाधिवेशन पार्टीको संवैधानिक बाध्यता मात्रै होइन, यो राजनीतिक रूपमा नेतृत्वको एउटा कर्तव्य पनि हो । त्यसैले पहिले क्रियाशील सदस्यको विवाद कसरी टुंग्याउने भन्नेमा ध्यान दिऔँ । त्यसपछि महाधिवेशन कुन मोडेलमा गर्ने छलफल गरौँला,’ थापाले भनेका थिए ।

डा. टिएन योगीले महामारी र विपत्बीच महाधिवेशन गर्न असम्भव जस्तै रहेको बताए । उनले लकडाउनको आठ महिनालाई सर्वोच्च अदालतले शून्य समय भनेकाले योे समयको उपयोग गर्नुपर्ने बताए । ‘न्यायालयको फुलकोर्टले नै कोभिडको आठ महिनालाई शून्य समय भनेको छ । यसलाई लागू गर्न मिल्छ कि मिल्दैन ?’ उनको प्रश्न थियो ।

महामारी र विपत्बीच भदौमा महाधिवेशन गर्न नसकिने विषयमा अधिकांश केन्द्रीय सदस्य थिए । तर, यस्तो वेला पार्टीको चुनाव नगरौँ भन्ने प्रस्ताव गर्दा अलोकप्रिय भइने डरले धेरैले त्यो प्रस्ताव खुलाएनन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७