मौसममा सामान्य सुधार, आज सुदूरपश्चिम, वागमती र प्रदेश–१ मा भारी वर्षाको सम्भावना


४ असार २०७८, शुक्रबार
kathamandu

काठमाडौं, ४ असार । आज (शुक्रबार) मौसममा सामान्य सुधार देखिएको छ । मनसुनी प्रणाली नेपाल भित्रिएसँगै देशभर पानी पर्न थालेकोमा आज मौसममा केही सुधार देखिएको मौसमविद् निराजन सापकोटाले जानकारी दिएका छन् ।

देशभर आंशिकदेखि सामान्य बदली रही आज विहान वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जनाइएको छ । काठमाडौं उपत्यकामा अहिले समान्यतया मौसम सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वागमती प्रदेश र प्रदेश–१ का एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना विभागले जनाएको छ ।

विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

प्रदेश–१, वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भन्दै विभागले सतर्क रहन भनेको छ । यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७