बिहेका लागि कर गरेपछि प्रेमिकाको बिभत्स हत्या, दुबै थिए विवाहित


४ असार २०७८, शुक्रबार
hatya

मोरङ, ४ असार । बिहेका लागि कर गर्न थालेपछि मोरङमा एक युवाले प्रेमिकाको बिभत्स रुपमा हत्या गरेका छन् । हत्याको डेढ महिनापछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो ।

रतुवामाई नगरपालिका–६ कपरसुकाका ३१ वर्षीय सुफल हस्दाले प्रेमिका कानेपोखरी गाउँपालिका–१ होक्लाबारी घर भएकी ३० वर्षीया सरिता सोरेनको हत्या गरेका हुन् । सुफल र सरिता दुबै बिवाहित रहेको प्रहरीले जनाएको छ । तीन वर्षअघि नै पतिको निधन भएपछि एकल जीवन बिताउँदै आएकी सरिता एक सन्तानकी आमा हुन् भने सुफलका घरमा दुई वटी पत्नी रहेका प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार गएको वैशाख १९ गते एकान्तमा भेटघाट हुँदा सरिताले बिहेका लागि कर गरेपछि सुफलले कुटपिट गर्दै घाँटी थिचेर उनको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । हत्यापछि फरार रहँदै आएका सुफललाई प्रहरीले बुधबार सुदूरपश्चिमको कञ्चनपुरबाट पक्राउ गरेर मोरङ ल्याएको छ ।

सरिता आफन्तको बिहेमा जान भन्दै वैशाख १७ गते घरबाट हिँडेकी थिइन् । त्यसको दुई दिनपछि उनको शव रतुवामाई–६ स्थित मकैबारीमा फेला परेको थियो । अनुहार, घाँटी र शरीरका विभिन्न भागमा चोटपटक लागेको अवस्थामा महिलाको बीभत्स शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । अनुसन्धानका क्रममा त्यो शव सरिताको भएको खुलेको थियो । सरिता कानेपोखरी–२ मा रहेको एउटा गाई फार्ममा काम गर्थिन् । उनीहरुबीच विगत ६ महिना अघिदेखि यौन सम्बन्ध रहँदै आएको अनुसन्धानबाट खुलेको छ ।

एसपी खड्काका अनुसार घटनापछि फरार भएका सुफल लुकिछिपी भारततिर जाने योजनासहित कञ्चनपुर पुगेका थिए । निकै ठूलो मिहिनेतपछि उनलाई पक्राउ गर्न प्रहरी सफल भएको एसपी खड्काले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट विगत छ महिनाअघिदेखि सुफल र सरिताबीच प्रेम सम्बन्ध रहँदै आएको थियो । प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न सरिताले कर गर्न थालेपछि दुई जनाबीच वादविवाद सुरु भएको पाइएको छ ।

सरिताका श्रीमानको तीन वर्षअघि नै मृत्यु भइसकेको छ । प्रहरीका अनुसार सरिताका श्रीमान र सुफल दुबै ट्रयाक्टर चालक र चिनजानका साथी थिए । साथीको मृत्यु भएपछि पुरानै चिनजानका आधारमा सुफल सरितासँग नजिकिएका थिए । आफूलाई बिहेका लागि दबाब दिएकाले सरिताको हत्या गरेको बयान सुफलले प्रहरीलाई दिएका छन् । सरितासँग अवैध सम्बन्ध राख्दै आएका सुफलले भने त्यसअघि नै दुई वटा बिहे गरिसकेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनका घरमा दुई श्रीमती र तीन सन्तान छन् । घरमा पत्नी र छोराछोरी रहेकाले आफूले सरितासँग बिहे गर्न नमानेको बयान सुफलले प्रहरीलाई दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७