संघीयता कार्यान्वयनमा काठमाडौंका नेताहरुको मानसिकतामा समस्या छ : पृथ्वीसुब्बा

‘संघीयता बलियो बनाउन लागे प्रदेश सरकारलाई सहयोग गर्छौ’


४ असार २०७८, शुक्रबार
prithivi

पोखरा, ४ असार । गण्डकी प्रदेशमा प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले संघीयता कार्यान्वयनमा काठमाडौंका नेताहरुको मानसिकतामा समस्या रहेको औंल्याएका छन् ।

नेता गुरुङले संघीयतालाई बलियो बनाउन डटेर लाग्दा प्रदेश सरकारलाई सहयोग गर्ने बताएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राखेको विश्वासको मत लिने प्रस्तावमाथि प्रदेशसभामा भएको छलफलमा भाग लिँदै पूर्व मुख्यमन्त्री समेत रहेका गुरुङले संघीयता बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताए ।

संघीयताको चर्को कुरा गर्ने, तर भूमिका नखेल्ने प्रवृत्ति देखिएको भन्दै गुरुङले शासकीय क्षमता र सिस्टम भत्काउन खोजे डटेर प्रतिवाद गर्ने समेत चेतावनी दिए । ‘भोलि केन्द्रमा तपाईंहरुको सरकार बन्न सक्छ, त्यो बेला पनि संघीयतालाई बलियो बनाउन आवाज उठाउन सक्नुपर्छ’ उनले भने, ‘संघीयतालाई बलियो बनाउन यो सरकार डटेर लाग्छ भने एमाले हरहमेसा सहयोग गर्न तयार छ ।’

सम्बोधनको शुरुमै गुरुङले मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा भएका ५९ सदस्यमध्ये सबभन्दा परिपक्क र सालिन नेतृत्व भएको बताएका छन् । राजनीतिक इतिहास भएको परिवारबाट आएका पोखरेललाई विश्वासको मत दिन्नँ भन्न गाह्रो भएको उनले बताएका छन् ।
तर पोखरेलले आफू नेतृत्वको सरकारलाई मत मागेको भन्दै उनले भने, ‘मुख्यमन्त्रीप्रति सद्भाव छ, तर जुन अवसरवादी दलहरुको गठबन्धनको रुपमा सरकार बनेको छ, यसलाई समर्थन गर्न सक्दैनौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७