कोरोना भाइरसका एक दर्जन भेरियन्ट, नेपालमा एउटाको मात्रै पहिचान गर्न सकिने


५ असार २०७८, शनिबार
koronav 1

काठमाडौं, ५ असार । विश्वभर फैलिएका कोरोना भाइरसका एक दर्जन प्रजाति (भेरियन्ट) मध्ये नेपालमा एउटाको मात्र पहिचान गर्न सकिन्छ । अन्य भेरियन्ट पहिचानका लागि विदेशस्थित प्रयोगशालाकै भर पर्नुपर्ने बाध्यता छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार, नेपालमा अल्फा भेरियन्ट (बी.१.१.७) को मात्र परीक्षण गर्न सकिन्छ । अरू सकिन्न । भेरियन्ट पत्ता लगाउन जीन सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ । यसअघि कोरोना भाइरस संक्रमितको नमुनाको जीन सिक्वेन्सिङका लागि हङकङ र भारतस्थित प्रयोगशालामा पठाइएको थियो । हङकङमा पठाइएका १५ नमुनामध्ये एक जनामा डबल म्युटेन्ट (अल्फा) भाइरस फेला परेको थियो ।

त्यस्तै दोस्रो पटक मुलुकका विभिन्न भागबाट संक्रमितका ३५ नमुना डब्लूएचओको समन्वयमा भारत पठाइएको थियो । इन्स्टिच्युट अफ जेनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा गरिएको जीन सिक्वेन्सिङमा ९७ प्रतिशत (३४) वटामा डेल्टा भेरियन्ट(बी.१.६१७.२) पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बाँकी ३ प्रतिशतमा कप्पा (बी.६१७.१) पाइएको थियो । स्वास्थ्य मन्त्रालयले जेठको पहिलो साता विज्ञप्ति जारी गर्दै मुलुकमा तीन किसिमका भेरियन्ट रहेको पुष्टि गरेको थियो ।

अल्फा नेपालमा पुष्टि भएको पहिलो भेरियन्ट हो । अन्य भेरियन्ट परीक्षणका लागि पूर्वाधार व्यवस्थापनलगायत अन्य काम भइरहेको डा. झाले जानकारी दिइन् । अल्फा सन् २०२० सेप्टेम्बरमा पहिलो पटक देखिएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भेरियन्ट अफ कन्सर्नभित्र परेका रवि भिन्न मुलुकमा फैलिएका भेरियन्टहरूलाई नयाँ नामकरण गरेको छ । तीमध्ये अल्फा, डेल्टा, गामा र कप्पा मुख्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार, पछिल्लो समय नेपालमा फैलिएको कोभिड–१९ भेरियन्टलाई डेल्टा (बी.१.६१७.२) नाम दिइएको छ । हाल नेपालमा भेटिएका भेरियन्ट अफ कन्सर्नमा डेल्टा र अल्फा छन् । तीमध्ये अल्फाको पहिचान गर्न सकिने प्रयोगशालाकी निर्देशक डा. झाले जानकारी दिइन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७