नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी


५ असार २०७८, शनिबार
karnali river

म्याग्दी, ५ असार । म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि प्रयोग भएको कम्पोजिट प्रविधिको पर्खाल प्रभावकारी बनेको छ ।
बेनी बजारलाई कालीगण्डकी र म्याग्दी नदीको कटानबाट बचाउन रुपाताल संरक्षण एकिकृत विकास परियोजनाले चालु आर्थिक वर्षदेखि कम्पोजिट प्रविधिको पर्खाल निर्माण गर्न थालेको थियो । यसअघि नदी किनारमा ढलान, ग्यावीयन र मेसिनरी पर्खाल निर्माण गरिदै आएको थियो ।

बेनी नगरपालिका–८ का वडा अध्यक्ष रामकृष्ण बराइलीले जगमा आरसिसी र माथि मेसिनरी अथवा ग्यावीयन पर्खाल लगाउने कम्पोजिट पर्खाल सफल देखिएको बताए । ‘यस्तो पर्खाल लगाएको ठाउँमा बाढीले क्षति पु¥याएको छैन’, उनले भने, ‘आगामी वर्षको योजनामा पनि यो खालको पर्खाललाई निरन्तरता दिने सोच छ ।’ यस वर्ष मङ्गलाघाट र कालीपुल क्षेत्रमा एक सय मिटर भन्दा बढी उक्त पर्खाल निर्माण भएको थियो । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा आरसिसी, मेसिनरी र ग्यावीयन पर्खाल बनाएर नदी नियन्त्रण गर्ने प्रस्ताव गरिएको थियो ।

खोलाको सतहदेखि दुई मिटर तलसम्म जग खनेर चार मिटर चौडाइको आरसिसी गरेको पर्खाल बनाइएको परियोजनाका इञ्जिनियर कृष्ण बिश्वकर्माले बताए । मङ्गलाघाटतर्फ आरसिसी पर्खाल माथि साढे तीन मिटर अग्लो मेसिनरी र कालीपुल क्षेत्रमा साढे तीन मिटरकै अग्लो ग्यावीयन पर्खाल लगाइएको छ ।

कालीगण्डकीमा मङ्गलबार राति आएको बाढीले बेनीको सङ्गमचोक पछाडि र कालीपुल बसपार्क क्षेत्रमा यसअघि निर्माण भएको करिब ३० मिटर ग्यावीयन पर्खाल लडाएर कटान गर्न थालेको छ । विसं २०७५ भदौमा कालीगण्डकीमा आएको बाढीले मङ्गलबार भत्किएको भन्दा माथि निर्माण भएको पक्कि पर्खाल पल्टाएको थियो ।

कम्पोजिट पर्खाल निर्माण भएको ठाउँमा बाढीले क्षति पुर्‍याएको छैन् । अस्थाइ प्रकृतिको ग्यावीयन र पक्कि आरसिसी पर्खाल दुबैले बाढी थेग्न नसकेपछि विकल्पमा उक्त पर्खाललाई प्राथमिकता दिएको परियोजनाका इञ्जिनियर बिश्वकर्माले बताए ।

यसअघि निर्माण भएको पक्कि आरसिसी पर्खाल बाढीले लडाएपछि त्यसको विकल्प खोजीएको थियो । परियोजनाले यस वर्ष म्याग्दी बेनी तर्फ तीन करोड र पर्वत बेनीतर्फ दुई करोड बराबरको नदी नियन्त्रणको काम गरेको छ ।

जलजला गाउँपालिका–३ मा पर्ने गुफाटोल क्षेत्रमा ४५ मिटर लामो र ६ मिटर अग्लो पक्की पर्खाल निर्माण भएको छ । वारिबेनी र बगरफाँट स्थित कालीगण्डकी किनारमा थप ग्यावीयन पर्खाल निर्माण भएको छ ।

म्याग्दी बेनी तर्फ पनि यसअघि निर्माण भएको पर्खाल संरक्षणका लागि थप पर्खाल लगाइएको छ । उर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जोखिमयुक्त जिल्ला सदरमुकाम बचावट कार्यक्रम अन्तर्गत परियोजनाले बेनीमा तीन वर्षयता नदी नियन्त्रण आयोजना सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७