विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह


५ असार २०७८, शनिबार
bidhya2019 04 24

काठमाडौं, ५ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी, पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्व तयारीको काममा सरकारले विशेष ध्यान पु¥याउनु पर्ने बताएकी छन् ।

मनसुनको शुरुआतसँगै भएको वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट पुग्न गएको क्षति तथा नेपाल सरकारद्वारा भइरहेका विपद् प्रतिकार्यबारे शुक्रबार साँझ गृह मन्त्रालय‚ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायका प्रमुखबाट जानकारी लिँदै राष्ट्रपति भण्डारीले उक्त कुरा बताएकी हुन् ।

विकासका लागि भौतिक संरचना निर्माण गर्दा भूकम्प, बाढी, पहिरो, चट्याङ र डढेलो जस्ता प्राकृतिक जोखिमलाई ध्यान दिनुपर्नेमा उनले जोड दिइन् । यस सन्दर्भमा गृह मन्त्रालयलाई सम्बन्धित अन्य मन्त्रालय र निकायसँग समन्वय गरी कार्य गर्न उनले सुझाव दिइन् । विपद्को समयमा नागरिकको जीउधन सुरक्षा गर्न तथा कठिनाइमा परेका नागरिकका लागि राहत एवं उद्धारका कार्यक्रमलाई प्रभावकारी बनाउनु सरकारको पहिलो कर्तव्य रहेको पनि राष्ट्रपतिले उल्लेख गरिन् ।

गृहमन्त्री खगराज अधिकारी, गृह सचिव महेश्वर न्यौपाने तथा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले राष्ट्रपति भण्डारी समक्ष शुक्रबार साँझ मनसुनजन्य विपद्का कारण भएको भौतिक तथा मानवीय क्षति; प्रभावितहरूको खोजी तथा उद्धार एवं सरकारद्वारा सञ्चालन गरिएका राहत एवं पुनस्र्थापनाका कामहरूको बारेमा जानकारी गराएकी थिइन् ।

उक्त कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल तथा प्रहरी महानिरीक्षक शैलेश थापा समेत सहभागी थिए। प्रभावितको खोजी तथा उद्धारमा संलग्न सुरक्षाकर्मीको राष्ट्रपतिले सराहना गरिन् ।

उक्त अवसरमा प्राकृतिक विपद् जोखिम न्यूनीकरणका लागि गृह मन्त्रालयद्वारा विपद् बीमा लागू गर्ने निर्णय लिइएको, नेपाली सेनाको नेतृत्वमा द्रूत हवाई उद्धार भैरहेको, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहितका निकायको समन्वयमा राहत र उद्धारका कार्य सबै प्रदेशमा सञ्चालन गरिएको जानकारी गराइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७