नयाँ शीतयुद्ध : सत्यता र सम्भावना


डा. प्रेम आले
प्रकाशित मिति : June 19, 2021

विगत केही वर्षदेखि चिनियाँ बुद्धिजीवी तथा राजनैतिक विश्लेषकहरूले अमेरिकालाई एउटा आरोप लगाई राखेको पाइन्छ । त्यो आरोप हो–चीनलाई एक्लाउन अमेरिका शीत युद्धकालीन मानसिकताले काम गर्दै छ । अमेरिकाले एसिया प्यासिफिक क्षेत्रमा सैनिक शक्तिलाई मजबुत बनाउँदै आएको र त्यस क्षेत्रका आफ्ना मित्र राष्ट्रहरूलाई पनि सैनिक सहयोग दिँदै आएको कुरालाई उनीहरूले प्रमाणको रूपमा प्रस्तुत गर्दछन् । सन् २०१७ मा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि त चीनप्रतिको अमेरिकी नीति अझ बढी दुस्मनीपूर्ण रह्यो ।

 चीनले पूर्वी चिनियाँ सागर, दक्षिणी चिनियाँ सागर र ताइवान आसपासमा आफ्नो प्रभुत्व कायम राख्ने हरदम प्रयास गर्दै आएको छ । यसलाई रोक्न अमेरिकाले इन्ड़ो–प्यासिफिक कमाण्डअन्तर्गत झण्डै पौने चार लाख सैनिक त्यस क्षेत्रमा तैनाथ गरेको छ । सन् २०१८ मे अघि त्यस कमान्डलाई अमेरिकी प्यासिफिक कमान्ड भनिन्थ्यो । हिन्द र प्यासिफिक महासागर क्षेत्रको बढ्दो सामरिक महत् वका कारण त्यो कमान्डको नाम परिवर्तन गरिएको थियो । के आरोप लगाइए जस्तो यो अमेरिकी शीत युद्धकालीन मानसिकता हो ? यो बुझ्नका लागि केही तथ्यहरूको विश्लेषण गर्नु जरुरी हुन्छ ।      

दक्षिणी चिनियाँ सागरमा अवस्थित स–साना विवादित टापुहरू जस्तो कि पाराशिल्स, स्पार्टलीमा चीनले हवाई मैदान र जहाज राख्ने ह्याङ्गर बनाएर केही वर्षअघि मात्र फाइटर जहाजहरू उतारेका थियो । ‘स्वतन्त्र तथा खुला रूपले सामुन्द्रिक जहाजहरूलाई मालसामान ढुवानी गर्नबाट रोक्न’ चीनको यो दुस्साहसपूर्ण कदमविरुद्ध अमेरिकाले प्रतिरोध गर्ने बताएपछि चीन पछि हटेको थियो । यस्तो घटना त्यस क्षेत्रमा प्रायजसो भई रहन्छ । सन् १९५०–६० ताकाको सोभियत रुस र अमेरिकाको शीतयुद्ध र अहिलेको यो कथित चीन–अमेरिकाको ‘शीतयुद्ध’ मा के अन्तर छ ? पहिले सोभियत रुस–अमेरिकी शीतयुद्धलाई बुझौँ । 

शीतयुद्ध 
दोस्रो विश्व युद्धपश्चात् तत्कालीन सोभियत रुस र अमेरिका शक्तिशाली राष्ट्रको रूपमा उदय भएको थियो । जनधनको क्षति विश्वका सबै देशले व्यहोरेका थिए । ब्रिटेन तथा फ्रान्स जस्ता विजयी राष्ट्रको समेत अर्थतन्त्र धराशायी भएको थियो । विश्व दुई ध्रुवमा विभक्त भए । एक ध्रुवमा साम्यवादी देशहरू सामेल भए र त्यसको नेतृत्व सोभियत रुसले ग¥यो । अर्को ध्रुवमा पश्चिमी पुँजीवादी देशहरू उभिए, जसलाई अमेरिकाले नेतृत्व प्रदान गर्‍यो । स–साना राष्ट्रहरू आफ्नो अस्तित्वका लागि कुनै एक ध्रुवमा सामेल हुन बाध्य भए या बनाइए । बिस्तारै सोभियत रुस र अमेरिकी गुटबिचको वैचारिक मतभेद यति तीव्र भयो कि यी गुटहरू एक अर्कालाई तनाव, विवाद र दबाब सिर्जना गर्न थाले । विश्वयुद्ध जस्तो गोली–बारुदको युद्ध फेरि लड्न तयार नभए पनि यी देशहरूको बिचको तनाव कुनै युद्धभन्दा कम थिएन । यसको असर राजनैतिक आयाममा मात्र सीमित नभई सैनिक, आर्थिक, सामाजिक तथा वातावरणीय आयामहरूमा पनि परेको थियो । यही नै शीतयुद्ध थियो । 

शीतयुद्धताका बर्लिन् सङ्कट, कोरिया युद्ध, सोभियत रुसद्वारा आणविक हतियारको परीक्षण, क्युबा मिसाइल सङ्कटका साथै भारत–चीन समस्या भए । सन् १९९१ मा सोभियत रुसको विघटन भएपछि अमेरिका एक्लो शक्तिशाली राष्ट्र बन्यो र रुस या उसको गुट अमेरिकासँग टक्कर गर्न नसक्ने भयो । अनि शीतयुद्ध स्वतः समाप्त भयो ।

नयाँ शीतयुद्ध
सन् १९७८ पछि चीनले आर्थिक क्षेत्रमा ठुलो फड्को मार्न थाल्यो । यो तत्कालीन चिनियाँ कम्युनिस्ट पार्टीका नेता दङ्ग सिआयोपिङ्गको आर्थिक सुधार नीतिको कारण थियो । नयाँ बिचार, प्रविधि र तरिकाबाट खुला विश्व अर्थतन्त्रमा सहभागी भएर झन्डै ४३ वर्षपछि अहिले चीन एक शक्तिशाली राष्ट्र बनेको छ । उसको बढ्दो आर्थिक र सैनिक आधुनिकीकरण अमेरिकाका लागि ठुलो चुनौती भएको छ । खुला विश्व अर्थतन्त्रमा सहभागी भएता पनि चीनको साम्यवादी कम्युनिस्ट शासन प्रणालीप्रति अमेरिका तथा उसको युरोपेली पार्टनरहरूले शङ्का कायम राखेका छन्, जुन अस्वाभाविक होइन । सन् १९१७ मा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति चुनिएपछि चीन–अमेरिका सम्बन्धमा थप तिक्तता आयो । अमेरिकी ‘दबाबपूर्ण रणनीति’ चीनलाई मन परेन ।

इन्ड़ो–प्यासिफिक क्षेत्रको सैनिक टकराब र चीनको ताइवान नीतिप्रतिको अमेरिकी असन्तुष्टि त छँदै थियो ट्रम्पकलामा आएर चीन–अमेरिकीबिच व्यापार युद्ध नै भयो । एकले अर्को देशको व्यापारिक कम्पनीहरूलाई हतोत्साहित गर्दै प्रतिस्पर्धामा कडाइ गर्दै लगे । यहाँसम्म कि सन् २०१७ डिसेम्बरमा अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षा रणनीतिमा चीन र रुसलाई ‘दुष्मन’ को लिस्टमा राख्यो । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणपछि त चीन र अमेरिकाले एक अर्कालाई कोरोना भाइरस जानीजानी फैलाएको र रोग उन्मुलनका लागि असहयोग गरेको जस्तो आरोप लगाउँदै आएका छन् ।

सन् २०२० सम्म आई पुग्दा राष्ट्रपति ट्रम्पले चीनको व्यवहार ‘स्थापित उद्धार अन्तर्राष्ट्रिय पद्धतिलाई विस्थापित गरेर चिनियाँ प्रभुत्व कायम गर्ने’ खालको छ भनेर टिप्पणी समेत गरे । के यो सबै चीनले आरोप लगाए जस्तो ‘नयाँ शीतयुद्ध’ को रूप हो त ?  अहिले पहिलो शीतयुद्ध जस्तो चीन र अमेरिकाले आ–आफ्नो समूह (ब्लक) बनाएर प्रत्यक्ष रूपमा राजनैतिक तथा वैचारिक लडाईं लडेको अवस्था छैन । त्यसबेला कोरिया युद्ध, भियतनाम युद्ध तथा आणविक हतियारको होडबाजी भएको थियो जुन अमेरिका या रुसको प्रत्यक्ष सहभागितामा भएको थियो । त्यस्तो अवस्था अहिले छैन । चीनको सैनिक आधुनिकीकरण अमेरिकाका लागि चुनौती अवश्य छ तर वास्तवमा यो चीनको सयौँ वर्ष पुरानो सैनिक संरचना र हातहतियार फेर्नका लागि आवश्यक थियो भनेर बुझ्नु जरुरी छ । त्यसो त अमेरिकालगायत युरोपेली देशहरूले पनि आफ्नो सैनिक क्षमतामा सुधार नगरेका होइनन् । 

अर्को, देशलाई युद्धमा होम्नका लागि सामर्थ्य र इच्छाशक्ति दुवै जरुरी हुन्छ । चीनसँग सामर्थ्य भए पनि इच्छाशक्ति छैन भन्ने बुझ्न गाह्रो छैन । आफ्नो देशको आर्थिक अवस्था लगातार सुधार्दै एक महाशक्तिको ताज लगाउने दृढ इच्छा बोकेको चीनलाई अहिले युद्धमा गएर आफ्नो सपना भत्काउनु छैन ।

प्रतिक्रिया दिनुहोस्