कोरोनाकै बीच रोजगारीका लागि भारत जाने बढे

‘कोरोनाबाट त बाँच्यौ तर भोकले मर्ने स्थिति बनेपछि मुग्लान जानुको विकल्प रहेन’


५ असार २०७८, शनिबार
naka 1

महेन्द्रनगर, ५ असार । कोरोना सङ्क्रमणको दर घटिरहेको भए पनि अझै पूर्ण रुपमा अवस्था सामान्य बनिसकेको छैन । तर, कोरोना त्रासदीका बीच जिविका चलाउन मजदूरी गर्न भारत जाने क्रम भने यहाँ बढ्दै गएको छ ।

सुदूरपश्चिम प्रदेशमा जारी निषेधाज्ञामा सार्वजनिक सवारी सञ्चालनमा नआए पनि यहाँको गौरीफन्टा नाकामा भने भारत जाने नेपालीहरुको लाम लाग्न थालेको छ । ‘डोटीबाट मोटसाइकलदेखि पैदल यात्रासम्म गरेर धनगढी पुगेर अब मजदूरी गर्न जाँदैछु’, कञ्चनपुरको पूर्वी गौरीफन्टाबाट भारतको मुम्बै जान हिडेका दिपेन्द्र खड्काले भने, ‘यहाँ बसेर कोरोनाबाट त बाँच्यौ तर भोकले मर्ने स्थिति बनेपछि मुग्लान जानुको विकल्प रहेन ।’

कोरोना कहरका बेला गत चैत्रमा स्वदेश फर्किएका खड्काले स्थानीय स्तरमा रोजगारीका कुनै सम्भावना नहुनु दुखःद कुरो भएको बताए । ‘कृषि र पशुपालनमा लागेर गाउँमै बसेर जीविका चलाउने मन थियो’, उनले भने, ‘पारिवारिक अवस्था कमजोर त्यो सम्भव भएन् ।’
गत चैत महिनामा यहाँको गड्डाचौकी नाका र गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेको भीडभाड रहे पनि अहिले कोरोना कम हुँदा कामका लागि भारतको विभिन्न शहर जाने क्रम चलिरहेको छ । सुदूरपश्चिम प्रदेशको प्रमुख रोजगारीको गन्तव्य नै दशकौदेखि भारत नै हो ।

डोकेबजारस्थित प्रहरी चौकीका प्रहरी नायव निरीक्षक खड्कजंग शाहीले गत जेठ महिनामा मात्रै गौरीफन्टा नाकाबाट १२ हजार सात सय भन्दा बढी नेपाली भारत रोजगारीका लागि गएको जानकारी दिए । ‘भारतबाट स्वदेश फर्किनेहरुलाई गन्तव्यमा पुर्‍याउन नाकामै बसको व्यवस्था गरिएको छ’, उनले भने, ‘बसहरु गन्तव्यमा यात्रु पुर्‍याएर फर्किदा त्यसैमा भारत जाने आउँछन ।’

उनले गौरीफन्टा नाकाबाट सुदूरपश्चिमका पहाडी जिल्लासँगै सुर्खेत, कालिकोट, प्युठान, बर्दिया र पाल्पाबाट समेत भारत जान यहाँ आइरहेको बताए । प्रहरी नायव निरीक्षक शाहीका अनुसार गत जेठमा यहाँको नाकाबाट २४ हजार नेपाली स्वदेश फर्किएका थिए । ‘अहिले त महिला, बालबालिका गरी सिङ्गो परिवारसहित भारत गइरहेका छन्’, उनले भने, ‘ यो नाकाबाट दिल्ली, मुम्बै, पुना, गुजरात लगायतका शहरमा बढी जादा रहेछन् ।’

त्यसैगरी शुक्रबार श्रीमानसहित कामका लागि भारतको पञ्जाव जान लागेकी डडेल्धुराकी धनादेवी जोशीले आफूहरु लामो समयदेखि भारतमा रोजगारीमा रहेर परिवारको जिविका चलाउँदै आएको बताइन् । ‘यहाँ त कोरोनाको बेलामा काम समेत पाउने स्थिति छैन’, उनले भनिन्, ‘कोरोनाको समयमै रोगले भन्दा भोकले मर्ने चिन्ताले परिवारसहित भारत जाँदैछौं ।’

केही दिनयता भारतले पनि नेपाली नागरिकलाई भारत जान सहज गरेका कारण नेपालीहरु दैनिक रुपमा भारत जाने क्रम बढ्दै गएको हो । शुक्रबारको तथ्याङ्क हेर्दा गौरीफन्टा नाकाबाट ७ सय जना भन्दा र गड्डाचौकी नाकाबाट ३४६ जना भारत गएका छन् । त्यसैगरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भारत जाने क्रम यहाँका नाकाबाट बढेको बताए । ‘कोरोना कहर कम हुँदै जादा आउनेहरु घटेका छन्’, प्रवक्ता थापाले भने, ‘नाका खुलिनसकेकाले भारतीयलाई भने यहाँ आउन दिइएको छैन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७