क्षणभरमै उजाड बन्योे चनौटे बजार


६ असार २०७८, आईतवार
helambu pSsQkp74ZP

काठमाडौं, ६ असार । हेलम्बु गाउँपालिका–७ अन्तर्गत पर्ने चनौटे बजारवासीलाई साँझ पर्ने बित्तिकै डर लाग्न थाल्छ । असार २ गतेअघि साँझ पर्ने बित्तिकै झिलिमिली देखिने सो बजार मेलम्ची खोलाको बाढीको ताण्डवले अहिले उजाड र बगरमा परिणत भएसँगै बजारवासी चिन्तित छन् ।

बजारवासीलाई तीन दिनदेखि निद्रा लागेको छैन । कुन बेला बाढी बजारमा पस्छ भन्ने चिन्ता उनीहरूलाई छ । मेलम्ची चनौटे बजार भएर बग्ने गर्दछ । चनौटे बजारमा व्यापार व्यवसाय गर्दै आएका ताराबहादुर पण्डित बजारमा बाढी आएदेखि आफूलाई निद्रा नलागेको बताउँछन् ।

उनी भन्छन्, ‘साँझ परेपछि खोला उर्लिन थाल्छ । पानीको बहाव बढेसँगै ढुङ्गा ठोकिएको ठल्ठूला आवाज आउने गर्दछ । मन थाम्न गाह्रो हुन्छ ।’ बजारमा उनका २० वटा सटर छन् । सबै बालुवा र ढुङ्गाले पुरिएका छन् । सटरमा भएका सामानहरू अब काम नलाग्ने भएको उनको भनाइ छ ।

बाजे–बराजुको पालादेखि नै मेलम्चीमा यस्तो बाढी नआएको उहाँले बताउनुभयो । बाढीले बजार क्षेत्रका ५५ घरमध्ये २० घर बगाएको र करिब १० अर्ब रुपियाँभन्दा बढीको क्षति भएको उनको भनाइ छ । सोही बजारमा हेलम्बु मोटरसाइकल वर्कसप सञ्चालन गर्दै आएका सन्देश तामाङले ग्राहकको चारवटा मोटरसाइकलसहित पसलका सबै सामान बगाएको बताए ।

उनी भन्छन्, ‘असार २ गते साँझ ७ बजेतिर खोलामा ठूलो आवाजसँगै करिब १० मिटरजति उचाइको बाढी आयो । एकछिनमा नै पूरा बजार पानीले भर्‍यो । मानिसमा रुवाबासी र भागाभाग भयो ।’ गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७