संक्रमणदर २२ प्रतिशतभन्दा माथि, जोखिम मोल्दै निषेधाज्ञा खुकुलो


७ असार २०७८, सोमबार
kathamandu 1 scaled

काठमाडौं, ७ असार । विश्व स्वास्थ्य संगठनले पाँच प्रतिशतभन्दा माथिको कोरोना संक्रमणदरलाई उच्च जोखिम भनेको छ । तर, नेपालमा संक्रमणदर २२ प्रतिशतभन्दा माथि रहेकै वेला निषेधाज्ञा खुकुलो बनाउने ‘जोखिमपूर्ण’ निर्णय सरकारले गरेको छ । मंगलबारदेखि उपत्यकामा निजी सवारीसाधन तथा थप व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको छ ।

स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणदर २२.३५ प्रतिशत छ । पछिल्लो २४ घन्टामा १० हजार नौ सय २६ जनाको परीक्षण गर्दा दुई हजार चार सय ४२ जनामा संक्रमण पुष्टि भएको छ ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को बैठकले निषेधाज्ञालाई १४ असारसम्म थप्दै खुकुलो बनाउने निर्णय गरेको हो । जसअनुसार मंगलबारदेखि उपत्यकामा जोर–बिजोरका आधारमा निजी सवारीसाधन र ट्याक्सी तथा बारका आधारमा लगभग सबै प्रकारका पसलहरू सञ्चालन हुनेछन् ।

चारपांग्रे निजी सवारीमा बढीमा चारजना चढ्न सक्ने छन् । सार्वजनिक यातायातमध्ये ट्याक्सी बढीमा तीन यात्रु बोक्ने गरी जोर–बिजोर प्रणालीमा चल्नेछन् । पसलहरू सञ्चालन गर्न दिने निर्णयसँगै निजी सवारी पनि सञ्चालन गर्न दिइएको प्रशासन कार्यालयले जनाएको छ ।

खाद्य, तरकारी तथा स्टेसनरी पसलको हकमा पहिलाजस्तै बिहान ११ जबेसम्म सञ्चालन हुने नियम कायम राखिएको छ । होटेल तथा रेस्टुरेन्टले साँझ सात बजेसम्म ‘टेकअवे’ सेवा दिन पाउने छन् । वर्कसपहरू पनि साँझ सात बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको छ । यसअघि उनीहरूलाई बेलुका नौ बजेसम्मको समय तोकिएको थियो । पसलहरू सञ्चालन गर्न दिँदा पनि फुटपाथ व्यापार निषेध गर्ने निर्णय प्रशासन कार्यालयको छ ।

सरकारी कार्यालयहरू पनि खुल्ने
मंगलबारदेखि उपत्यकामा सरकारी कार्यालयहरू पनि खुल्ने भएका छन् । ‘विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालयहरूले स्वास्थ्य मापदण्डको पालना हुने व्यवस्था मिलाई आलोपालो प्रणाली कायम गरी न्यूनतम जनशक्ति मात्र प्रयोग गरी सेवा सुचारु गर्ने’ प्रशासनको निर्णय छ ।

जसअनुसार जिल्ला प्रशासन, मालपोत, नापी, यातायात, वैदेशिक रोजगार, महानगरपालिकालगायत कार्यालय खुल्ने छन् । अदालतको हकमा छुट्टै निर्णय हुनुपर्छ । सर्वाेच्च अदालतले सेवा विस्तार गरे पनि जिल्ला, उच्च र विशेष अदालतले सेवा संकुचित नै गरेका छन् ।

हतार त भएन ?
गत वर्ष पनि सरकारले असारदेखि नै निषेधाज्ञा खुकुलो बनाएको थियो । जसकारण संक्रमण ह्वात्तै बढेपछि साउनदेखि लकडाउन कडा पारिएको थियो । यसपटक पनि कतै त्यस्तै हुने त होइन ? धेरै चिकित्सकले चिन्ता व्यक्त गरेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल उपत्यकाका संक्रमणदर तुलनात्मक रूपमा घटेकाले निषेधाज्ञा खुकुलो बनाइएको हुन सक्ने, तर जोखिम भने कायमै रहेको बताए ।

‘काठमाडौं उपत्यकामा संक्रमणदर तुलनात्मक रूपमा कम छ, अहिलेको मोडालिटी भनेको स्थान विशेष हेरेर निर्णय गर्ने हो,’ उनले भने, ‘धेरै खुला गर्ने अवस्था आइसकेको छैन, सधैँ थुनेर राख्ने कुरा पनि भएन, अब सबै सचेत हुनु जरुरी छ, सर्वसाधारणले स्वास्थ्य मापदण्ड पालना नगरे फेरि जोखिम हुन सक्छ । गत वर्षको जस्तै अवस्था आउन सक्छ ।’

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले स्वास्थ्य मन्त्रालयसँगको सल्लाहमै निषेधाज्ञा खुकुलो बनाइएको बताए । शनिबार काठमाडौंको संक्रमदर नौ प्रतिशत छ,’ उनले भने, ‘संक्रमणदर घटेको अवस्थामा पनि कडाइ गर्न अलि मिलेन, जीवनयापनका कुराहरू पनि छन्, भौतिक दूरी कायम गरेर व्यवसाय खोलौँ भनेर यो निर्णय गरेका हौँ ।’ संक्रमण बढेमा फेरि कडाइ गरिने उनको भनाइ छ ।

आइतबारको तथ्यांकअनुसार देशभरि दुई हजार चार सय ४२ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा चार सय ५०, ललितपुरमा ७३ र भक्तपुरमा २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७