कोरोना परीक्षणमा नागरिकले चासो नदेखाउँदा मध्यपुरथिमीका मेयर हैरान


७ असार २०७८, सोमबार
thimi

भक्तपुर, ७ असार । आफ्नो नगरपालिका क्षेत्रमा कोरोना संक्रमणको अवस्था पहिल्याउन भक्तपुरको मध्यपुरथिमी नगरपालिकाले समुदायस्तरमा सञ्चालन गरेको निःशुल्क एन्टीजेन एवं पिसिआर परीक्षणमा करीब दश प्रतिशत नागरिक मात्रै सहभागी भएका छन्

नगरपालिका क्षेत्रका १० हजार व्यक्तिको एन्टीजेन तथा पिसिआर परीक्षण गर्ने, परीक्षणमा सङ्क्रमण देखिएकालाई बोडेस्थित नगरपालिकाको आइसोलेशन कक्षमा निःशुल्क राख्ने र उपचारको आवश्यकता परेकालाई नगरपालिकाको आफ्नै अस्पताल नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरे पनि परीक्षणमा भने नागरिकले चासो देखाएका छैनन् ।
अस्पतालको व्यवस्थापन तथा नगरपालिकाको खर्चमा गरिएको परीक्षणमा १० हजारको परीक्षण गर्ने लक्ष्य राखे पनि एक हजार ३०८ जना मात्रै सहभागी भएका मेयर मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

नगरवासीलाई परीक्षणका लागि सार्वजनिक रूपमा आह्वान गरिएको थियो। सञ्चारमाध्यम र माइकिङ गरेर जानकारी गराइएको भए पनि परीक्षणमा जनसहभागिता निकै कम भएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बताए । परीक्षण गरिएकामध्ये ४८ जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिँदै श्रेष्ठले कूल परीक्षणको ३.६६ प्रतिशत पोजेटिभ रिपोर्ट आएको जानकारी दिए ।

‘हामीले नगरपालिकामा कोभिडको अवस्थाबारे एउटा रिसर्च पनि होस् र नगरपालिकाको अवस्था कस्तो छ, कति जोखिम छ भनेर जानकारी लिन सकियोस् भनेर नेपालमै पहिलो पटक समुदायस्तरमा यति ठूलो परीक्षणको कार्यक्रम राख्यौँ’, नगर प्रमुख श्रेष्ठले भने, ‘तर जनसहभागिता निकै कम भयो, त्यसैले फेरि एक पटक यस्तो परीक्षण गर्नेबारेमा जनप्रतिनिधिबीच छलफल भएको छ । अहिले भने परीक्षणमा पोजेटिभ आएका सबैको उपचार नेपाल कोरिया अस्पतालमा निःशुल्क गर्नेछौं ।’

नगरपालिकाले वडागत रूपमा नौ थरी रङको कार्ड वितरण गरिएको जानकारी दिँदै यो कार्ड लिएर आउनेलाई अस्पतालमा अन्य सेवामा पनि १० प्रतिशत थप छुट दिने व्यवस्था गरिएको उनले बताए । नगरपालिकाले आफ्ना नागरिकका लागि कोरोना सङ्क्रमितको निःशुल्क उपचारदेखि परीक्षणमा सहभागी हुने सबैलाई कुनै पनि उपचार वा स्वास्थ्य सेवामा नगर अस्पतालले १० प्रतिशत छुट दिने व्यवस्था गर्दा पनि किन जनसहभागिता कम भयो यसबारे जानकारी लिएर अर्को परीक्षणको कार्यक्रम सार्वजनिक गरिने नगरपालिकाका प्रवक्ता केशव सिलवालले बताए ।

नगरपालिकामा कतिपय नागरिकले परीक्षणको आवश्यकता नभएको, कतिपयले अझै पनि सङ्क्रमण देखिएला भन्ने डरका कारण, कतिपयले परीक्षणकै क्रममा कोरोना सर्छ भन्ने गलत हल्ला र कतिपयले कुन प्रयोजनका लागि परीक्षण भइरहेको छ भन्ने पूर्ण जानकारी नपाउँदा जनसहभागिता कम भएको पाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झा, स्वास्थ्य मन्त्रालयका सिसिएमसीका प्रमुख विशेषज्ञ डा.महेन्द्र श्रेष्ठ, विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा.राजेश सम्भाजीराव, प्राडा अरूण, डा दिबेश कर्माचार्यसहितको टोलीले भक्तपुरका विभिन्न केन्द्रमा गएर अनुगमन तथा निरीक्षण गरेको छ । टोलीलाई नगरप्रमुख श्रेष्ठले एन्टीजिन र पिसिआर परीक्षणबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७