१३ लाख ज्येष्ठ नागरिकले पाएनन् कोरोनाको दोस्रो डोज खोप, सर्वोच्चमा पर्‍यो रिट


७ असार २०७८, सोमबार
sarbochha 1

काठमाडौं, ७ असार । ज्येष्ठ नागरिकलाई कोरोनाको दोस्रो मात्र खोपको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
कोभिशिल्ड खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो मात्रा खोप लगाउन आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट परेको हो ।

ज्येष्ठ नागरिक चिरञ्जीवि बास गिरी सोमबार रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । उनको रिट दर्ता प्रक्रियामा रहेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिएका छन् । फागुन २३ गतेदेखि चैत ३ गतेसम्म सञ्चालित अभियानमा देशभरका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले विकास गरेको कोभिशिल्ड नामको कोरोना खोप दिइएको थियो । तर १२ हप्ताभित्र दोस्रो डोज खोप दिनुपर्ने भए पनि पहिलो डोज खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकले दोस्रो डोज खोप पाएका छैनन् ।

ज्येष्ठ नागरिकलाई जेठ १५ गतेसम्म दोस्रो डोज खोप दिनुपर्नेमा अहिलेसम्म नदिएकाले ज्येष्ठ नागरिकको हकलगायतका मौलिक हक उल्लंघनको विषय लिएर सर्वोच्चमा रिट दिएको रिट निवेदनका लागि सहयोग गरेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले बताएका छन् ।
भारतीय कम्पनीले खोप नदिएपछि सरकारले बेलायतबाट अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको खोप ल्याएर ज्येष्ठ नागरिकलाई दिने बताउँदै आएको छ । तर कहिले आउने टुंगो छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७