प्रकाशमान, शशांक र विमलेन्द्रबीच भेटवार्ता, सात विषयमा समझदारी


७ असार २०७८, सोमबार
Prakash man shrestha bimalendra nidhi and shashanka koirala

काठमाडौं, ७ असार । सभापतिका आकांक्षी कांग्रेस नेताहरु विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. शशांक कोइरालाबीचको लञ्च मिटिङ भएको छ । सर्वसम्मत नेतृत्व चयनका पक्षमा लबिङ गर्दै आएका उपसभापति निधिले आफ्नो वैवाहिक वर्षगाँठको अवसर पारेर नेताहरुलाई निवासमै बोलाएका थिए ।

कांग्रेसका संस्थापक वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्र तीनै जना सभापतिका आकांक्षी हुन् । नेतात्रयबीच सात वटा विषयमा पार्टीका शीर्ष नेताको ध्यानाकर्षण गर्ने, जिल्ला सभापतिहरुलाई जानकारी गराउनेसहित, अनौपचारिक छलफल जारी राख्ने विषयमा समझदारी भएको छ ।

‘कोरोना संक्रमण व्यवस्थापन, सिन्धुपाल्चोकलगायतका बाढीले पुर्‍याएको क्षति र त्यसबाट जनजीवन समान्यीकरण गर्ने, पार्टीको १४ औं महाधिवेशन, आगामी निर्वाचनमा कांग्रेसको जित सुनिश्चित गर्न गर्नुपर्ने काम र विपक्षी गठबन्धनका तर्फबाट प्रस्ताव गरिएका शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने विषयमा उहाँहरुबीच छलफल भएको छ’, निधिका प्रेस सल्लाहकार रामजी दाहालले भने, ‘कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल भयो । यस विषयमा साझा धारणा बनाएर शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्ण सिटौसहितलाई जानकारी गराउने । तीनै विषयमा जिल्ला सभापतिलाई पनि जानकारी गराउने र तीन नेताबीच निरन्तर छलफल अघि बढाउने समझदारी भएको छ ।’

१३ औं महाधिवेशनमा नै देउवाले अर्को पटक उठ्नुस् मैले नेतृत्व हस्तान्तरण गर्ने तपाईंलाई नै हो भन्ने आश्वासनपछि पछि हटेको बताउने निधि अहिले कुनै पनि हालतमा व्याक नहुने पक्षमा देखिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि निम्तो दिइएको थियो । तर देउवा आफूनिकट केन्द्रीय सदस्यहरुसँग छलफलमा रहेकाले आउन ढिलो भएको बताइएको निधि निकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७