जसपा लुम्बिनीका चार सांसदको मुद्दा अब पूर्ण इजलासमा, असार २१ गते सुनुवाइ


७ असार २०७८, सोमबार
lumbini mantri 1621232479

सप्तरी, ७ असार । जनता समाजवादी पार्टी नेपाल (जसपा) लुम्बिनी प्रदेशका चार सांसदको पद रहने कि नरहने भन्ने मुद्दाको पूर्ण सुनुवाइ असार २१ गते हुने भएको छ ।

उपेन्द्र यादव पक्षको कारवाहीपछि प्रदेशसभा सदस्यबाट पदमुक्त भएका सन्तोषकुमार पाण्डेयसहित चार जना सांसद सर्वोच्चको अन्तरिम आदेशपछि पुनर्वहाली भएका थिए ।

अदालतले प्रदेश निर्वाचन आयोग लुम्बिनीको लिखित जवाफ म्यादभित्र पेस नभएको र अन्यको लिखित जवाफ पेस भइसकेको भन्दै रिट निवेदनको संवेदनशीलतालाई विचार गरी असार २१ गते पूर्ण सुनुवाइको आदेश दिएको छ ।

न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुँयालको संयुक्त इजलासले सोमवार यस्तो आदेश दिएको हो । जसपाका ६ जनामध्ये ४ जना सांसदलाई यादव पक्षले कारवाही गरेको थियो । उनीहरू चारै जना अहिले मन्त्री छन् ।

सर्वोच्च अदालतले यसअघि निलम्बित सांसदहरुको पक्षमा अन्तरिम आदेश जारी गरेको थियो । जनता समाजवादी पार्टी कार्यकारिणी समितिको निर्णयअनुसार संसदीय दलको पत्रका आधारमा लुम्बिनी प्रदेश सभाले प्रदेश सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेश सभा सदस्यबाट निष्कासन गरेको थियो । त्यसैका विरुद्ध उनीहरु सर्वोच्च अदालत पुगेका थिए ।

माओवादी केन्द्र, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल सरकार ढाल्ने भन्दै वैशाख ६ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तर त्यसको ३ घण्टा नबित्दै मुख्यमन्त्री पोखरेलले जसपा महन्थ ठाकुर पक्षका ३ सांसदलाई मन्त्री र एकजनालाई राज्यमन्त्री नियुक्त गरेका थिए । उनीहरुमध्ये ३ जनाले अविश्वासको प्रस्तावमा समेत हस्ताक्षर गरेका थिए ।

sarbocha aadesh 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७